आइतबार, साउन १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • शान्ति समाजले भन्‍यो- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कानूनसम्मत कारबाही होस्

शान्ति समाजले भन्‍यो- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कानूनसम्मत कारबाही होस्

 |  मंगलबार, असार ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

vianetvianet

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले २०८० असार ४ गतेदेखि प्रारम्भ गर्नुभएको अनशनप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

'तीन वर्षअघि उपप्राध्यापक चलाउनेमाथि साङ्घातिक आक्रमण भएपश्चात् सोही सम्बन्धमा काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको र सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा फिर्ताको निवेदन दर्ता गरेपछि उपप्राध्यापक चलाउनेले न्यायका लागि अनशन थाल्नुभएको जानकारी प्राप्त भएको छ,' समाजद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। 
    
अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सरकारी निर्णयको शान्ति समाजले निन्दा गर्दै कानूनी शासनको उपहास गर्दै सरकारले गरेको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ। विगत केही समयदेखि प्राज्ञिक निकाय-व्यक्तिमाथि आक्रमण गर्ने, कालोमोसो दल्नेजस्ता घटना घटिरहेकोप्रति शान्ति समाजले गम्भीर चिन्ता व्यक्त गरेको छ।

२०७७ मा समाजशास्त्र विभागमा प्रमुखको नियुक्तिलाई लिएर ५२ दिनसम्म तालाबन्दी भयो। विश्वविद्यालयमा तालाबन्दी नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले उक्त आदेश कार्यान्वयन गर्दै ताला फुटायो। सत्ता साझेदार नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले फेरि ताला लगायो। पटक-पटक विश्वविद्यालयमा ताला लगाउने काम राम्रो नभएको भन्दै उपप्राध्यापक चलाउनेलगायत यसको विपक्षमा थिए। यसैलाई कारण बनाउँदै नेविसंघका तत्कालीन त्रिवि इकाई अध्यक्षसमेत रहेका हरि आचार्य र सचिव योगेन्द्र रावललगायतले उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरे। 

उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण भयो। नेविसंघ कार्यकर्ताको आक्रमणबाट चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा चोट लागेको थियो। एक महिना अस्पतालमा भर्ना भएर उपचार गराएका चलाउने पूर्ण रूपमा निको भइसकेका छैनन्। उक्त आक्रमणविरुद्ध आचार्य र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भयो। आरोपितलाई जिल्ला अदालतले सामान्य धरौटीमा छाड्‌न आदेश दियो। उक्त आदेशविरुद्ध चलाउनेले उच्च अदालत पाटनमा पुनरावेदन दिए। उक्त मुद्दाको अन्तिम सुनुवाइको मिति नजिकिँदै गर्दा सरकारले भने मुद्दा फिर्ता लिने निर्णय गरी प्रक्रिया अघि बढाइसकेको छ। 

उपप्राध्यापक चलाउने त्रिवि परिसरमा आमरण अनसन पनि सुरु गरेका छन्। उनले आफू गुहार माग्‍न सडकमा आएको बताएका छन्। भनेका छन्, 'म मरे पनि केहि छैन। मात्र मैले भोगेको अन्यायको महाभारतको बारेमा छलफल होस्। यो देशको मत्स्य न्यायको बारेमा चियोचर्चो होस्। शक्ति सन्तुलनको महत्वपूर्ण निकायलाई कस्तो बनाइँदैछ भन्ने बारेमा छलफल होस्। मेरो लडाइँ हजारौं प्रेम बहादुर चलाउनेको लडाइँ हो। आज म जहाँ छु, यो देशमा शिक्षकको ठाउँ यही रहेछ। विश्वविद्यालयमा अपराध बढेको छ। अपराधी गिरोहले शिक्षक, कर्मचारीको निरिहताको फाइदा उठाएका छन्। शिक्षकहरु बोल्न सकेका छैनन्। म किन पनि यो लडाइँ लडिरहेको छु भने मलाई भन्नु छ तिमीले ठानेजस्तो शिक्षकहरु कायर हुँदैनन्। पर्‍यो भने आफूले वा देशको कुनै नागरिकले भोगेको अन्यायका विरुद्धमा ज्यानको बाजी थापेर पनि लड्छन्।'  

प्रकाशित: Jun 20, 2023| 20:45 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्