बुधबार, फागुन २७, २०८२

यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने?

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो।

National life

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले मङ्कीपक्स भाइरस ज्वरो आएको बेला बढी सङ्क्रमण हुने जानकारी दिए। उनले सङ्क्रमितको सम्पर्कमा आएका सबै आइसोलेसनमा बस्नुपर्ने बताए।
“मङ्कीपक्स रोग मानिसबाट मानिसमा वा जनावारवाट मानिसमा सर्ने गर्दछ। नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन”, उनले भने।

लक्षणहरु 
एमपक्स रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ–खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्‍यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष), सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावरबाट, भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने महाशाखाका निर्देशक डा मरासनीले जानकारी दिए।

उनका अनुसार भाइरसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको एकदेखि तीन दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने तथा आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ।

रोकथाम
मङ्कीपक्स भाइरसको रोकथामका लागि एमपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने महाशाखाका निर्देशक डा मरासनीले जोड दिए।

Laxmi sunrise bank
kumari

“घाउँसँग प्रत्यक्ष सम्पर्क हुनसक्ने जोखिम छ भए पञ्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डिटर्जेन्टले धुने, मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा जानु हुदैन”, उनले भने।

सङ्क्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, सङ्क्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निःसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएरमात्र खाने, फोहरलाई उचित स्थानमा व्यवस्थापन गर्ने लगायतकार्य गर्नुपर्ने डा मरासनीको भनाइ थियो।

सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मङ्कीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ। 

चौध अस्पतालामा फोकल पर्सन 
मन्त्रालयले मङ्कीपक्स रोगको उपचारका लागि १४ अस्पतालामा फोकल पर्सन तोकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार मेची अस्पतालमा डा केशव दाहाल, कोशी अस्पतालमा डा सिवी झा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा सूचना मरहठ्ठा, जनकपुर अस्पतालमा डा रामज्ञान यादव, वीरगञ्ज अस्पतालमा डा अतुलेशकुमार चौरसिया, गण्डकी अस्पतालमा डा आनन्द नेपाल, भरतपुर अस्पतालमा डा शशी हिराचन, वीर अस्पतालमा डा निरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा सर्वेन्द्र झालाई फोकल पर्सन तोकिएको छ। 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा मोनिका काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा मणिलाल श्रेष्ठ, भेरी अस्पताल बद्री चापागाईं, सुर्खेत अस्पताल डा सुस्मिता प्रधान र सेती अस्पतालमा डा दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको डा अधिकारीले जानकारी दिए।

प्रकाशित: Jun 17, 2023| 19:22 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्