सोमबार, वैशाख २१, २०८३

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

 |  सोमबार, वैशाख २१, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २१, २०८३

गण्डकी- गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपाङ्गता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। जसमा अपाङ्गता भएकाका परिवार पाँच हजार ९ सय ४६, मिर्गौलापीडित बिरामीका परिवार ४ सय ३१ र द्वन्द्वपीडित ३ सय ८२ छन्।

National life

त्यसैगरी जनआन्दोलनका घाइते २८, सहिद तथा बेपत्ता परिवारका ६३ र कास्कीमा क्रियाशील २ सय ११ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयका संयोजक जीवलाल खरेलले जानकारी दिए। ‘प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आर्थिक वर्ष २०८१–८२ मा सात हजार ६१ जनाको स्वास्थ्य बीमा भएको हो,’ उनले भने, ‘अपाङ्गता भएका नागरिकलगायतले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाइरहनुभएको छ।’

गण्डकी प्रदेशका एक लाख ६१ हजार ९ सय ३५ ज्येष्ठ नागरिक, दुई हजार ३ सय ११ एचआइभी सङ्क्रमितको परिवार, अतिअशक्त अपाङ्गता भएका पाँच हजार ६ सय ३० परिवार, कुष्ठरोग सङ्क्रमितका ९० परिवार, क्षयरोग सङ्क्रमितका ५७ परिवार र चार हजार ६ सय ४२ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बीमामा आबद्ध छन्।

प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७ सय ७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको संयोजक खरेलले बताए। जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७.०१ प्रतिशत हो। गण्डकीमा १३ लाख ५६ हजार ६ सय ९८ जनाको स्वास्थ्य बीमा गरिएको हो। जनसङ्ख्याका आधारमा कुल बीमित ५५ प्रतिशत पुगेको जनाइएको छ।

कुल बीमितमध्ये सेवा लिनेको सङ्ख्या सात लाख ३८ हजार २ सय ३२ अर्थात् ५४.०४ प्रतिशत रहेको छ। बीमा नवीकरण गर्ने परिवारको सङ्ख्या तीन लाख ३५ हजार ५ सय ५ रहेको छ। ७५ प्रतिशत परिवारले बीमा नवीकरण गरेको पाइएको छ। स्वास्थ्य बीमाका लागि प्रदेशभर ७ सय २५ जना दर्ता सहयोगी सक्रिय रहेको संयोजक खरेलले बताए।

प्रदेशका ४७ स्थानीय तहमा स्वास्थ्य बीमासँग सूचीकृत भएका सेवा प्रदायक–अस्पतालहरू रहेका छन्। सरकारी ५६, निजी चार र सामुदायिक एक गरी ६१ वटा सेवा प्रदायक संस्थाहरू सूचीकृत छन्। सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिक, गम्भीर प्रकृतिका दीर्घरोगी, अतिअशक्त र गरिब परिचयपत्र पाएका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको छ।

पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५ सय रुपैयाँको बीमा गरेबापत एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउँछन्। पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिसदस्य ७ सय रुपैयाँ थप्नुपर्ने प्रावधान छ। ठूलो परिवारले दुई लाख रुपैयाँसम्मको उपचार सेवा पाउने जनाइएको छ। बोर्डले तोकेका एक हजार २ सय ८८ प्रकारका औषधि, शल्यक्रियासहित जटिल रोगको उपचार पनि बीमाबाट हुने गरेको संयोजक खरेलले बताए।

प्रकाशित: May 04, 2026| 07:45 सोमबार, वैशाख २१, २०८३
प्रतिक्रिया दिनुहोस्