बिहीबार, साउन २८, २०८३

लुम्बिनीको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो।
 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

तुलसीपुर- लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ। लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो।

सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ। लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर पाँच दशमलव तीन प्रतिशत थियो।

आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार हुन नसक्दा आर्थिक वृद्धिदर घट्ने अनुमान गरिएको प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले बताए। उनका अनुसार कूल गार्हस्थ्य उत्पादन चालु वर्षमा सात खर्ब ६३ अर्ब पुग्ने अनुमान छ। अघिल्लो वर्ष छ खर्ब ९८ अर्ब थियो।

चालु वर्षमा प्रदेशको कूल गार्हस्थ्य उत्पादनको अंश १४ दशमलव दुई प्रतिशत रहने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा अंश १४ दशमलव ४२ प्रतिशत थियो।

चालु वर्षमा कृषि क्षेत्रको तीन दशमलव छ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर एक दशमलव ५० प्रतिशत रहने प्रक्षेपण गरिएको छ। अघिल्लो वर्ष यो वृद्धिदर क्रमशः दुई दशमलव चार र पाँच दशमलव नौ प्रतिशत थियो।

चालु आर्थिक वर्षमा लुम्बिनीमा प्रतिव्यक्ति आय एक हजार एक सय २६ अमेरिकी डलर रहेको प्रक्षेपण गरिएको छ। लुम्बिनीको गरिबीको औसत दर १८ दशमलव चार प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको चैतसम्ममा लुम्बिनीमा तीन अर्ब ६४ करोड २५ लाख राजस्व प्राप्त भएको छ। यो लक्ष्यको ७४ प्रतिशत हो।

प्रकाशित: Jun 16, 2023| 21:32 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्