काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश डाइलगलाई लिएर आपत्ति जनाएका छन्। फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नेपालमा मात्र नभई भारतमा पनि यो सच्चिनुपर्ने उनले बताएका छन्।
‘दक्षिण भारतीय फिल्म आदिपुरूषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, उनले भनेका छन्।
उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएका छन्।
आजमात्रै सेन्सर बोर्डले उक्त फिल्मबाट जानकी भारतीय छोरी हुन् भन्ने डाइलग नहटाएसम्म फिल्म नेपालमा प्रदर्शन गर्न नदिने निर्णय गरेको छ। फिल्म भोलि शुक्रबारबाट प्रदर्शनमा आउने तय थियो।