सिमकोट- हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–१ जैरस्थित भिटागाउँको गणतन्त्र प्राथमिक विद्यालयको भवन नहुँदा बालबालिका खुला आकाशमुनि भुइँमा बसेर पठनपाठन गर्न बाध्य छन्। उनीहरु स्थानीयको बाँझो खेतमै बसेर पढ्न थालेको वर्ष दिन पुग्न लाग्दा पनि विद्यालय भवन निर्माणमा कसैको ध्यान गएको छैन।
विद्यालयको भवन गत वर्ष असोज १९ देखि २७ गतेसम्म अविरल वर्षासँगै आएको बाढीपहिरामा परी भत्किँदा विद्यार्थी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएका हुन्। जैर गाउँ सदरमुकाम सिमकोटबाट ३८ कोष टाढा पर्छ। ६ कोठे माटोले छाएको विद्यालय भवन भए पनि बाढीपहिराले तीन कोठा भत्काएको र बाँकी तीन कोठा जीर्ण भएर बस्नै नमिल्ने अवस्थामा रहेका कारण गत असोजदेखि नै सबै विद्यार्थीलाई अर्काको बाँझो खेतमा बसालेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानध्यापक मीनबहादुर रावतले बताए।
बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा घाम लागेको समयमा विद्यार्थी खेतमा राखेर पठनपाठन गरिए पनि पानी परेको दिन विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक रावतले गुनासो गरे। विद्यालय पुनर्निर्माणका लागि गाउँपालिका, सामाजिक विकास कार्यालय, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश योजना आयोगमा पटक–पटक अनुरोध गर्दा पनि कसैले सुनुवाइ नगरेको सर्केगाड–१ का वडाध्यक्ष बलबहादुर कार्कीले बताए।
बाँझो खेतमा बसेर अध्ययन गर्नुपर्ने भएपछि विद्यार्थीको कपडासमेत चाँडै फोहर हुने हुँदा विद्यार्थी घरबाट काठको टुक्रा बोकेर ल्याई भुइँमा राखेर बस्ने गरेका छन्।
विद्यालय भवन बाढीपहिराले भत्काएपछि राम्रोसँग पठनपाठन नहुँदा विद्यार्थी संख्या १०२ बाट घटेर ७८ मा झरेको छ। रावतले भने, 'ती विद्यार्थीलाई पनि घामपानी छेक्ने कक्षाकोठा व्यवस्था कहीँकतैबाट पहल नभएपछि केही सीप नलागेर घाम लागेको दिनमात्र खेतमै बसालेर पठनपाठन गर्नु हाम्रो बाध्यता हो।' विद्यालयमा दुई जनाको दरबन्दी, बालविकास शिक्षक एक, पालिकाबाट अनुदान शिक्षक एक र विद्यालय कर्मचारी एक गरी जम्मा पाँच जना कार्यरत छन्।
विद्यालय भवन अभावमा अहिले अर्काको बाँझो खेतमा विद्यार्थीलाई तीन ठाउँमा भेला गरी पठनपाठन गरिँदै आएको छ। हिउँदको मौसममा जसोतसो गुजारा चलाए पनि वर्षाको मौसममा भने कठिन हुने गरेको उनले बताए। बाँझो खेतमा बसेर अध्ययन गर्नुपर्ने भएपछि विद्यार्थीको कपडासमेत चाँडै फोहर हुने हुँदा विद्यार्थी घरबाट काठको टुक्रा बोकेर ल्याई भुइँमा राखेर बस्ने गरेका छन्। रावतका अनुसार वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग विद्यालय भवन निर्माणमा सहयोगका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन सकेको छैन।
देवल आधारभूत विद्यालयका विद्यार्थीको पीडा पनि उस्तै
सर्केगाड –१ को तुम्च गाउँको देवल आधारभूत विद्यालयका विद्यार्थीको पीडा पनि कम छैन। उनीहरु पनि यसरी भुइँमा बसेर अध्ययन गर्दै आएका छन्। सहज रूपमा शिक्षा प्राप्त गर्नु संवैधानिक अधिकार भए पनि यस विद्यालयका विद्यार्थी कक्षा कोठाभित्रको धुलाम्मे भुइँमा बसेर अध्ययन गर्न बाध्य हुँदै आएका छन्। विद्यालयले कक्षा कोठामा डेस्क बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीले भुइँमा बसेर अध्ययन गर्नुपरेको हो।
कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा कक्षा ७ र ८ का विद्यार्थी जीर्ण बेन्चमा बसेर अध्ययन गर्दै आए पनि बाँकी बालविकासदेखि कक्षा ६ सम्मका सबै विद्यार्थी भुइँमा बसेर अध्ययन गरिरहेको प्रधानाध्यापक रावतले बताए। बेन्च–डेस्क भएका कक्षाका लागि अभिभावक मिलेर २० हजार रुपैयाँ उठाइएको थियो। भवन निर्माण गरे पनि कोठामा डेस्क–बेन्चको व्यवस्था नहुँदा चार वर्षदेखि विद्यार्थी धुलाम्मे भुइँमा बस्दै आएका छन्।
भुइँमा बसेर अध्ययन गर्नुपर्ने भएपछि विद्यार्थीको कपडासमेत चाँडै फोहर हुने गरेका छन्। उक्त विद्यालयको कक्षा कोठामा विद्यार्थीले घरबाट काठको टुुक्रा वा ढुंगा बोकेर ल्याई भुइँमा राखेर बस्ने गर्दै आएका छन्। विद्यालयमा २२० विद्यार्थी अध्ययन गर्छन्। वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग डेस्क–बेन्चका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन नसकेको प्रधानाध्यापक रावतले गुनासो गरे।
यसअघि कक्षा ५ सम्ममात्र पढाइ हुने विद्यालयमा कक्षा पाँच उत्तीर्णपछि सरस्वती मावि जैर, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगर वा मुगु जिल्ला गएर अध्ययन गर्नुपर्ने भएपछि विद्यालयले कक्षा ८ सम्म पठनपाठनका लागि अनुमति लिएको हो। कक्षा बढाए पनि विद्यालयलाई आवश्यक भौतिक पूर्वाधारको समस्याले पठनपाठनमा समेत असर पारेको विद्यालयले जनाएको छ।
- दाने बोहरा/रासस