नयाँ दिल्ली- 'चीनले दशकौं पहिले भारतको जमिनमा कब्जा गरेको थियो। हाल चीन र भारतबीचको तनाव भनेको भारतको जमिनमा कब्जा गरेका कारण होइन, दुई मुलुकको 'फर्वाड डेप्लोयमेन्ट' का कारण हो।' भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको ९ वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनका पत्रकारले सोधेको प्रश्नको जवाफमा यो कुरा बताएका हुन्।
पत्रकार सम्मेलनका क्रममा विदेशमन्त्री जयशंकरलाई एक पत्रकारले 'गलवान घाँटीमा भएको घटनापछि भारतीयले भारतको जमिनमा चिनियाँ कब्जा छ? भन्ने प्रश्नहरु गरिरहेका छन्, के साँच्चै चिनियाँ कब्जा छ?
यसको जवाफको सुरुवातमा उनले भने, 'यो एक जटिल मामिला हो। भारतीय फौजले एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल) मा बसेर तैनाथी गरिरहँदैन। यद्यपि सैनिकहरु आफ्नो क्याम्पमा तैनाथी अवस्थामा हुन्छन् र आवश्यकता अनुसार खटिन्छन्। सन् २०२० को गलवान घटनापछि जुन बदलाव आएको छ, त्यही तनावका कारण दुबै पक्षबाट 'फर्वाड डेप्लोयमेन्ट' गरिएको छ। सैनिकलाई सीमाको नजिकै तैनाथ गरिएका छन्।'
उनले मुद्दा दुवै मुलुकले समाधान गर्नुपर्ने पनि बताए। भने, 'यो मुद्दा दुवै मुलुकले समाधान गर्नुपर्छ। यो मुद्दा जमिनको होइन, यो फर्वाड डेप्लोयमेन्टको मुद्दा हो। दुवै मुलुकका सैनिकहरु अहिले आमने-सामने छन्। यस्तो अवस्थामा तनावले हिंसात्मक रुप लिन सक्छ, जसको उदाहरण गलवान घटना हो।'
सन् २०२० मा चीनले दुवै मुलुकबीचको सम्झौता उल्लंघन गरेका कारण घटना भएको पनि विदेशमन्त्री जयशंकरले बताएका छन्। उनले थपे, 'सन् २०२० मा चीनले के कारण हो, दुई मुलुकबीचको सम्झौता उल्लंघन गर्दै सीमा नजिकै तैनाथी बढाउँदै हामीलाई भड्काउने प्रयास गरेको थियो। हामीले चिनियाँ पक्षलाई स्पष्ट रुपमा भनेका छौं, सीमामा जबसम्म शान्ति र स्थिरताको माहोल हुन सक्दैन, तबसम्म दुई मुलुकबीचको सम्बन्ध सुदृढ हुन सक्दैन।'
केही मानिसहरुले अरुणाचल प्रदेशमा 'मोडल भिलेज' बनेको कुरा पनि उठाउने गरेको पनि उनले सुनाए। भने, 'केही मानिसहरुले अरुणाचल प्रदेशमा मोडल भिलेज बनेको बताइरहेका छन्। यद्यपि संसद्को रेकर्डले उक्त क्षेत्रमा चीनले सन् १९५९ मा नियन्त्रणमा लिएको र चीनले सन् १९५० को दशकमा नै भारतीय भूमिमा कब्जा गरिसकेको थियो।'
सन् २०२० पछि भारतले सीमामा फर्वाड डेप्लोयमेन्ट गर्नुपरेको पनि विदेशमन्त्री जयशंकरले बताएका छन्। उनले भने, 'मूल मुद्दा के हो भने यसअघि हाम्रो सेनाले आफ्नो सैनिक बेस क्याम्पबाट गएर सीमामा गस्ती गर्ने गरेको थियो। तर, २०२० पछि यस्तो हुन छोड्यो। चीनले सम्झौता उल्लंघन गर्दै सीमामा तैनाथी बढाएपछि हामीले पनि फर्वाड डेप्लोयमेन्ट गर्नुपर्यो, जसका कारण तनाव सिर्जना भयो।'
चीनको प्रश्न, भारत भन्छ- राम्रो सम्बन्ध चाहन्छौं
यसअघि चीनले भारतीय सेनाको क्षमतामाथि नै प्रश्न गरेको थियो। एसियाली देशहरुको एक साझा सुरक्षा मञ्च सांग्रि-ला-डायलगमा सहभागी चीनले भारतको सैन्य क्षमतामाथि प्रश्न उठाउँदै चीनका लागि कुनै चुनौती नभएको बताएको थियो। चीनको पिपुल्स लिब्रेसन आर्मीका एक प्रतिनिधिले भनेका थिए, 'आधुनिकीकरण र डिफेन्स म्यानुफ्याक्चरिङ क्षमतामा भारत चीनका लागि चुनौती दिने स्थितिमा छैन।'
पीएलए एकेडेमिक अफ मिलिट्री साइन्सेजका सिनियर कर्णेल झाओ जियाझाउले भनेका थिए, 'आगामी केही दशकहरुमा भारत सैन्य क्षमतामा चीनको मुकाबिला गर्न सक्ने स्थितिमा हुने छैन। किनभने यसको औद्योगिक पूर्वाधार कमजोर छ। जबकि चिनियाँ सेनाका लागि भने म्यानुफ्याक्चरिङका लागि ठूला र आधुनिक प्लेटफर्महरु बनिसकेका छन्।'
स्टकहोम इन्टरनेशनल पिस रिसर्जेच इन्स्टिच्युटको तथ्यांकअनुसार सन् २०१८ देखि २०२२ सम्म भारतले विश्वमै सबैभन्दा बढी हतियार आयात गरेको छ। यसमा ३१ प्रतिशत हतियार रुसबाट आयात गरेको तथ्यांक छ। भारतले आफू पनि सुपर पावर बन्नका लागि सेनाको क्षमता अभिवृद्धि र हतियार प्राप्तिका लागि कुनै कसर बाँकी नराखेको चिनियाँ राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका प्रोफेसर झाङ लिले नै स्वीकार गरेका छन्।
यसरी चीनले भारतलाई सार्वजनिक मञ्चहरुबाट नै चुनौती दिइरहेको समयमा भारतले भने चीनसँग 'राम्रो सम्बन्ध' चाहेको बताइरहेको छ। विदेशमन्त्री जयशंकरले पछिल्लो नौ वर्षमा चीनबाहेक अधिकांश शक्ति राष्ट्रसँग भारतले निकै सुमधुर सम्बन्ध बनाएको बताएका छन्।
अमेरिका, रुस, बेलायत, फ्रान्स, युरोपियन युनियन, जर्मनी, जापान, खाडी मुलुक, आसियानलगायत देशसँग भारतले कूटनीतिक सम्बन्ध सुधार्न कैयौं कोशिस गरेको छ। स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाइमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्ध सुधारमा लागि विभिन्न कामहरु गरिएको छ।
विदेशमन्त्री जयशंकरले भने, 'सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएसँगै सरकारले 'छिमेक प्राथमिकता' नीति लिएको हो। जसमा छिमेकी मुलुकसँग सम्बन्ध सुधार्ने प्रयासहरु गरिएका छन्। तर, चीनका सम्बन्धमा भने यस्तो हुन सकेन।'
उनले छिमेकीसँगै भारतको पनि विकास भएको र छिमेकीबाट नै अधिक चुनौती पनि मिलेको मिश्रित अनुभव भारतसँग रहेको बताए। विदेशमन्त्री जयशंकरले भने, 'हामीले नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, म्यानमारसँग सुमधुर सम्बन्ध बनायौं। भारत पहिलो पटक क्षेत्रीय आर्थिक समृद्धिको केन्द्र बनेको छ।'
उनले पाकिस्तान र चीनसँग भने चुनौतीहरु रहेको बताएका छन्। उनले भने, 'नेवरहुड पोलिसी भन्दैमा आतंकवादलाई समर्थन गर्न सकिँदैन। चीनको विषयमा हामीले सम्बन्ध राम्रो होस् भन्ने चाहेका छौं। चीनसँग राम्रो सम्बन्ध तब हुनसक्छ, जब सीमावर्ती क्षेत्रमा शान्ति कायम हुनसक्छ।'
चीनले सम्झौता उल्लंघन गरेका कारण हामीले सम्बन्ध राम्रोसँग अघि बढाउन नसकेको पनि विदेशमन्त्री जयशंकरले बताएका छन्। उनले भने, 'गलवान घटनाअघि हामी संवादमा थियौं। चीनले हामीलाई सीमामा सैन्य उपस्थिति बढाएको विषयमा धोका दिएको छ।'
सीमामा जारी तनाव चीनको हितमा नभएको पनि उनले बताएका छन्। उनले भने, 'मलाई लाग्दैन कि सीमामा बढिरहेको तनावले चीनलाई हित गर्छ। हामीले सेना फिर्ता गर्न कुनै उपाय खोजी गर्नुपर्छ। किनभने यसको असर आपसी सम्बन्धमा परिरहेको छ। सीमामा तनाव जारी रहँदै सम्बन्ध सामान्य हुन्छ भन्ने कुरा सही हुन सक्दैन।'