काठमाडौं- पछिल्लो समय अर्थतन्त्र मक्किँदा आर्थिक गतिविधि सुस्ताएपछि व्यापार, व्यवसायमा गिरावट आएको छ। कतिपयले व्यवसायमा संकट आएसँगै सटर भाडा तिर्न नसक्ने अवस्थापछि वर्षौंदेखि गर्दै आएको व्यापार बन्द गरेका छन्। काठमाडौंभित्र र बाहिरका मुख्य–मुख्य सहरबजारका सटरमा ‘टु लेट’ लेखिएका सूचना अझै पनि देख्न सकिन्छ। तर, पछिल्लो पुस्ताका युवा उद्यमी भने व्यापारमा मन्दी आए पनि स्थायी प्रकृतिको नभएकाले व्यवसायलाई निरन्तरता दिने सोचमा रहेका छन्।
युवा उद्यमी सरिता यादव सुनाउँछिन्, ‘बजारमा अहिले मन्दी छाएको छ। साना–ठूला सबैलाई यसले गाह्रो बनाएको छ तर मन्दी सधैंका लागि रहँदैन। व्यवसायलाई निरन्तरता दिने हो। यसमा नाफा–घाटा नै किन नहोस्।’
उनी औषधी पसल सञ्चालिका हुन्। बानेश्वर शान्तिनगरमा श्याम फर्मा नामक औषधी पसल सञ्चालन गर्दै आएकी २६ वर्षीया सरिताका अनुसार कोभिड अथवा कुनै पनि आपद्–विपद्मा औषधी पसल बन्द हुँदैन। सर्वकालिक व्यापार भए पनि यतिबेला औषधीलाई समेत मन्दीले गाँजेको छ । ‘दैनिक २५ हजारको व्यापार ५–७ हजारमा झर्दा जो पनि निरुत्साहित हुन्छ। म पनि बेलोबला निराश हुन्छु। तर मन्दी सधैँ रहँदैन भनेर व्यापार छाडिहाल्ने मनस्थितिमा छैन। हिम्मत र आँट लिनुपर्छ। सफलता नजिक हुन्छ’, उनी हौसला थप्छिन्।
आत्मविश्वासले बनाएको उद्यम
काठमाडौंको भत्केपुलमा भर्खर नयाँ बेकरीको शाखा खोलेकी छन्, रुविना महर्जनले। मन्दीले व्यापारी पलायन हुन लागेको यस्तो अवस्थामा ३१ वर्षीया रुविनाले बेकरीको शाखा खोलेर व्यवसायमा निराशलाई आशा जगाइदिएकी छन्। उनी सुनाउँछिन्, ‘बेकरी चलाउन थालेको ८ वर्षभन्दा धेरै भयो। यसमा मेरो दख्खल छ। लकडाउनअघिसम्म कफी, चिया र बेकरी आइटम मात्रै बेचेर दैनिक ३५–४० हजारसम्म कमाएको अनुभव छ। तर अहिले भने दैनिक ८ हजार पु¥याउन हम्मे परेको छ। अर्थतन्त्रको संकट सधैँ नरहने आशमा व्यवसायीलाई अगाडि बढाउने सोचमा छु।’
रुविना यति भनिरहँदा निकै आत्मविश्वासी देखिइन्। उनका अनुसार व्यापारमा ‘ब्याकअप’का लागि केही पुँजी आवश्यक हुन्छ। यति बन्दोबस्त गरेर व्यापारको आकार घटाउन सकियो भने मन्दीको अवस्थामा थेग्न सकिने उनलाई लाग्छ। ‘सामान, स्टाफ खर्च र सटर भाडाका कारण व्यापारबाट हात झिकौंजस्तो लाग्छ। तर यो अवस्था सधैँ रहँदैन बरु केही पैसा जोडेर नयाँ ब्रान्च स्थापना गरी पूरै परिवार बिहान ६ देखि राती ९ बजेसम्म कस्सिएर लागेका छौं । दुईटा बेकरीबाट अहिले दैनिक जति कमाइ हुन्छ, त्यसै हिसाबले व्यवस्थापन गरौंला भन्ने सोचाइ छ। लकडाउनमा समेत नउठाएको व्यापार यतिबेला उठाउने कुरै छैन।’
शाहनवाज पान पसलका साना व्यापारी हुन्, ३७ वर्षीय नियाज अहमद। उनको पान पसलमा पानबाहेकका थुप्रै सामान छन्। पहिले खाना खानसमेत फुर्सद नपाउने उनी यतिबेला दिउँसो मजाले सुस्ताउँछन् तर व्यापारबाट भागिहाल्ने सोचमा छैनन्।
व्यापारमा पैसा लगाउन नसकेको बताउँदै उनी भन्छन्, ‘सामान बेचेर आउने पैसा र केही उधारोमा समान मगाएर पसल चलाएको छु। घरायसी खर्चमा थोरै कटौती गरेको छु। मन्दीको अवस्था छ। गाउँ जाऊँ भने खेतीपाति त्यति छैन। वर्षभरि खान पुग्दैन। अरब–कतार जान पैसा छैन। आफूले यत्रो वर्ष गरेको व्यापरमै केही समायोजन गरेर चलाउनुपर्ने सोच बनाएँ।’
मन्दीको अवस्था विस्तारै घट्दै जाने विश्वासमा छन्, उनी। नियाज भन्छन्, ‘केही समय यो अवस्था सुध्रिन्छ कि जस्तो लागेको छ। यो परीक्षाको समय पनि हो। लकडाउनका बेला त व्यापार छाडिएन भने अहिले फाट्टफुट्ट चलेकै छ। थोरै सामान र सानो व्यापारको अवधारणामा व्यवसाय चलाइरहेको छु।’
मन्दीलाई चुनौती र परीक्षाको संज्ञा
मन्दीका बेला व्यापार, व्यवसायलाई निरन्तरता दिँदै आएका युवा उद्यमी बरु यस्तो बेला केही समयका लागि घरमालिकले सटर भाडा घटाइदिनुपर्ने बताउँछन्। श्याम फर्माकी सञ्चालिका यादव भन्छिन्, यतिबेला एक त बैंक ऋणको ब्याज महँगो छ। सोही कराण पनि व्यापारीले बैंकबाट ऋण लिन सकिरहेका छैनन् । त्यसमाथि मानिसमा केही किनिहालौं भन्ने हिम्मत छैन। मान्छेसँग पैसा छैन। यस्तो बेला घरबेटीले सटर वा पसल भाडा केही घटाइदिए व्यापारीको उठिबास हुँदैनथ्यो। महिनापिच्छे तिर्नुपर्ने महँगो सटर भडाले पनि व्यापारी पलायन हुन सघाएको उनको अनुभव छ।
हुन पनि उपत्यकाका प्रायः व्यापारिक केन्द्र र प्रमुख चोकमा समेत सटर खाली, व्यापारिक भवन खाली भनेर सूचना टाँस गरिएको सहजै देख्न सकिन्छ। भाडा तिर्न नसकेरै कतिपय व्यापारी सामान उठाएरै सटर खाली गरिरहेका छन्।
कोभिडकाा कारण भएको दुई वर्षे लामो लकडाउनको असर यतिबेला बजार र व्यापारमा परेको छ। विगत केही समयदेखि देशमा बजार, व्यापारको अवस्था चिन्ताजनक छ। उपत्यकामै समेत पहिलेजस्तो व्यापार छैन। खाद्यान्न र स्वास्थ्य क्षेत्रबाहेकको व्यापार कोभिड १९ पछिकै सबभन्दा कमजोर देखिएको छ भने अन्य साना व्यापारी पलायन हुने क्रम बढेको छ। तर केही युवा उद्यमीमा भने व्यापार छाडिहाल्ने हतारो देखिएको छैन। मन्दीको असर भए पनि व्यापारमा लागेका युवा उद्यमी यसलाई चुनौती ठानेर अगाडि बढिरहेको देख्न सकिन्छ।
सरकारको भूमिका सुस्त
अर्थविद् डा. डिल्लीराज खनाल बजार, व्यापारमा मन्दी आउनुको कारण थुप्रै रहेको बताउँछन्। उनले भने, ‘लकडाउनपछि मान्छेसँग पैसा अभाव छ भने अर्कातर्फ मालसामानको मूल्य अत्यधिक बढेको छ। विदेशी मुद्रा तरलता अवस्था छ। बैंकले कडा नीति लिएका छन्। महँगो ब्याज दिनुपर्ने अवस्थाका कारण व्यापारी ऋण लिन हच्किएका छन्।’
उनका अनुसार सरकारको नीतिकै कारण देखिएको मन्दीले सबै वर्ग मारमा परिरहेको अवस्था छ। ठूलो संख्याको युवा बिदेसिन थालेको र कृषि उत्पादनमा गिरावट आएको छ। त्यसमाथि हरेक सामानको मूल्य उच्च राख्दा अर्थतन्त्र थप खस्कँदै जाने अवस्था रहेको उनी बताउँछन्। सरकारले मूल्य नियन्त्रण गर्नुपर्ने बताउँदै उनले भने, ‘श्रम, रोजगार नीति, उद्यमशीलता, क्षमता विकास कसरी गर्नेतिर सरकारको ध्यान गएको देखिँदैन। सरकारले पुँजीगत खर्च कसरी बढाउने, सहज कर्जा कसरी प्रवाह गर्ने भन्ने विषयमा नीति बनाएर अगाडि नबढे देशमा संकटपूर्ण अवस्था आउन सक्छ।’
राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको आर्थिक वर्ष २०७९÷८० को अनुमानित तथ्यांकअनुसार देशको आर्थिक स्थिति लकडाउनपछिको अहिलेसम्मको सबैभन्दा कमजोर अवस्थामा छ। चालू अर्थिक वर्षको ६ देखि ९ महिने आर्थिक क्षेत्रसँगको यथार्थ आँकडाका आधारमा कुल गार्हस्थ उत्पादन २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान कार्यालयको छ। यो लकडाउनपछिको सबैभन्दा कमजोर हो।
तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ५.२६ प्रतिशत रहेकामा आव २०७७/७८ मा ४.४ प्रतिशत मात्रै छ। यस वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशतले मात्रै वृद्धि हुने उल्लेख छ। यद्यपि कार्यालयले जारी गरेको तथ्यांकमा यतिबेला कोभिड प्रभाव नरहेको उल्लेख छ। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ। गत १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।
बजेटमा आव २०८०/८१ का लागि सरकारले एक दर्जन बढी व्यवसायलाई कर छुट व्यवस्था गरेको छ। यसले व्यापारीलाई केही राहत हुने देखिन्छ। आर्थिक बजेट भाषणका क्रममा अर्थमन्त्री महतले अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित निजी क्षेत्रको आत्मविश्वास फर्काउने र आर्थिक वृद्धिसहितको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेर बजेट ल्याएको बताएका थिए।