काठमाडौं- जलवायु परिवर्तनको प्रभावबारे जनचेतना अभिवृद्धि गर्न बृहत् मानव साङ्लो प्रदर्शन गरिएको छ। काठमाडौंको रानीपोखरी, जमल, त्रिचन्द्र क्याम्पस बाहिर जम्मा भएका सयौं मानिसले जलवायु परिवर्तनले पारेको प्रभाव कम गर्ने प्रतिबद्धतासहित मानव साङ्लोमा जोडिए।
बढ्दै गएको जनलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्नका निम्ति एक्सनएड, युथ एड्भोकेसी नेपाल लगायतका विभिन्न संस्थाको आयोजनामा मानव साङ्लो प्रदर्शन गरिएको युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले जानकारी दिए।
कार्यक्रममा बालबालिका, युवा, विद्यार्थीका साथै स्वदेशी तथा विदेशीहरुको सहभागिता रहेको थियो। ‘सबैका लागि नवीकरणीय उर्जा’, ‘मेरो आवाज जलवायु न्यायको पक्षमा’, ‘तिमी मलाई बचाउ, म तिमीलाई बचाउँछु’ लगायतका जलवायु न्यायका पक्षमा लेखिएका ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरिएको थियो।