जुम्ला- जुम्लाका किसानलाई मार्सी धान रोपाइँको चटारो छ। किसानहरू बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन्।
जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिइन्।
पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका हुन। जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेति बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताए।
जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी धाने रोपाइँ धमाधम भइरहेको छ।
जिल्लामा दुई हजार आठ सय ५० हेक्टरमा धानखेती हुन्छ। सोमध्ये एक हजार दुई सय हेक्टरमा मार्सी धानको खेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ। गतवर्षको असोजमा आएको बाढीपहिरोका कारण सिञ्जा गाउँपालिकाका ४२ वटा धान रोपाइँ गर्ने कुलोमा क्षति पुगेको थियो।
गाउँपालिकाको लगानी र स्थानीयको श्रमदानमा २८ वटा कुलो पुनःनिर्माण भई सञ्चालनमा आएपछि सिञ्जाका अधिकांश क्षेत्रमा धान रोपाइँ सुरु भएको सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए।