काठमाडौं– बाघद्वारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्ने बागमती नदीले काठमाडौं र ललितपुरको सीमा छुट्याएको छ। धार्मिक विशेषताको बागमती नदीलाई हिन्दु तथा बौद्धधर्ममा पवित्र मानिन्छ। नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन बढाएको छ।
गर्मी सुरु भएसँगै बागमतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीयको गुनासो छ। दुर्गन्धका कारण बागमती किनारमा बस्न समस्या हुने गरेको छ। टेकु र कुलेश्वरको बीचमा विष्णुमती नदी र बागमती नदीको दोभान छ। दुवै नदी मिसिएर बग्दा सानेपा र बल्खु आसपासका बस्ती बढी प्रभावित छन्।
बागमती नदीअन्तर्गतका अन्य पुल तथा बागमती करिडोरमा पैदल यात्रा गर्ने नाकमुख थुनेर हिँड्छन्। कुलेश्वरमा रहेको फलफूल बजार र बल्खु पुलको छेउमा रहेको तरकारी बजारमा दुर्गन्ध अत्यधिक बढे्को यहाँका स्थानीय बताउँछन्।
थापाथली र कुलेश्वरको सुकुम्बासी बस्तीमा वर्षाको समय बागमती नदी बस्तीभित्रै पस्ने उनीहरुको भनाइ छ। ललितपुर महानगरपालिका–२ सानेपामा बस्ने सानेपा स्वास्थ्य संस्थाका सचिव सजीव केसीले भने, ‘हावा चल्यो भने बागमती नदीको गन्ध करिब एक किलोमिटर परसम्मको बस्तीमा पुग्छ। नदीबाट आएको गन्धका कारण राती निद्रा पर्दैन, खाना मन लाग्दैन।’
गर्मी बढेसँगै बागमती नदी वरपर थातबास भएकाहरू र बागमती करिडोरमा पैदल यात्रा गर्नेहरूलाई नाकमुख थुनेर हिँड्नुपर्ने बाध्यता।
स्वास्थ्य शिविरको कामका लागि जाँदा बागमती गाउँपालिकाको प्युटारसम्म दुर्गन्ध पुग्ने उनले अनुभव सुनाए। उनले भने, ‘सानेपामा बागमती नदीको छेउमै छ, कांग्रेस केन्द्रीय पार्टी कार्यालय। यहाँ मन्त्रीदेखि प्रधानमन्त्रीसम्म आउनुहुन्छ तर उहाँहरुलाई बागमती नदीको गन्ध कसरी कम गर्न सकिन्छ भन्नेतर्फ चिन्तै छैन।’
ललितपुर उपमहानगर–२ सानेपाका ४५ वर्षीय विशाल शाहीले बागमती करिडोर छेउमा पसल व्यवसाय गर्न लागेको वर्षौं बितेको र नदीको दुर्गन्ध पनि वर्षौंदेखि उस्तै रहेको सुनाए। उनले भने, ‘गत वर्ष डेंगु बढेका बेला हाम्रो पूरै परिवार संक्रमित भयो। अहिले पनि बेलाबेला हैजालगायत संक्रमित रोग देखा पर्छन् । नदीको दुर्गन्धसँग जोडिएको वर्षौं बितेकाले बानी परिसकेको छ।’
‘बागमती नदी किनारमा धेरै पार्क छन् । पार्कभित्र मानिस पस्छन् तर दुर्गन्धका कारण धेरै समय नटिक्ने गरेको बीपी पार्कका इन्चार्ज सञ्जु श्रेष्ठ बताउँछिन्। उनले भनिन्, ‘ललितपुरमा बीपी पार्क, मनमोहन पार्क र सहिद पार्क बागमती किनारमा छन्। धेरै लगानी गरेर पार्क स्थापना गरेका छौं। पार्कमा मानिस आउँछन् तर दुर्गन्धका कारण धेरै समय बस्न सक्दैनन्।’
बागमती नदीको दुर्गन्धका कारण पार्कमा चहलपहल घटेको उनको भनाइ छ। बागमती नदी किनारमा बस्ने सुनकुमारी गुरुङले फागुन सुरु हुनेबित्तिकै दुर्गन्ध सुरु हुने बताइन्। ‘फागुन लागेपछि हावा चल्न थाल्छ। हावा चल्यो भने दुर्गन्ध फैलिन्छ र बस्नै गाह्रो हुन्छ। राती निद्रा पर्दैन। यहाँ बसेको वर्र्षौं भयो तर समस्या सधैँ उस्तै छ,’ उनले भने।
नदीबाट निस्कने दुर्गन्धका कारण नदी आसपासका वासिन्दालाई सास्ती भइरहेको छ। बागमतीबाट निस्कने दुर्गन्धको असर कति छ भन्ने कुरा हामीलाई मात्र थाहा छ। बागमतीमा ढल मिसाउनेलाई थाहा छैन’, स्थानीयले गुनासो गरे।