कूटनीतिका विभिन्न स्वरुपहरु हुन्छन्, तर विभिन्न मुलुकका प्रमुख तथा अधिकारीहरुको द्विपक्षीय राजकीय र औपचारिक भ्रमणमा उपहार आदानप्रदान गर्ने परम्परा भने लामो समयदेखि चलिरहेको कूटनीति हो। यस्ता उपहारहरु 'स्वागत, सम्मान र कूटनीतिक लाभ प्राप्तिका' का लागि विभिन्न आकार र प्रकारहरुमा आदानप्रदान हुने गर्छन्। यस्ता उपहारहरु प्रायः स्थानीय व्यवसायीबाट उत्पादित वस्तु, ऐतिहासिक शिल्प कौशलबाट निर्मित वा स्थानीय कालीगढले तयार पारेको विलासिताका सामग्रीहरु हुने गर्छन्।
कहिलेकाहीँ यस्ता उपहारहरुलाई सामान्य रुपमा लिइए पनि प्रायजसो भने यस्ता उपहार ग्रहण गर्दा गम्भीर जवाफदेहिताका प्रश्नहरु उठ्ने गरेका छन्। ती उपहारहरुलाई कूटनीतिक कार्यसम्पादनको भूमिका, सरकारी निरीक्षणको प्रभावकारिता र उपहार प्राप्तिपछिको गतिविधिहरुलाई पनि आशंकाको दृष्टिबाट हेर्ने गरिन्छ।
उपहार संस्कृति
मानव सभ्यताको उत्पत्तिसँगै उपहार संस्कृतिको विकास भएको पाइन्छ। राष्ट्र प्रमुखहरूबीच उपहार दिने यो परम्परा लामो समयदेखि चल्दै आएको प्रचलन हो, जसलाई शान्तिपूर्ण कूटनीतिक सम्बन्धको प्रतीकको रुपमा लिने गरिएको छ। यस प्रकारको कूटनीतिक आदानप्रदानको प्रारम्भिक इतिहास हेर्दा इजिप्टले आफ्नो छिमेकी हिटाइटलाई ढुंगामा कुँदिएका कलाकृतिहरु प्रदान गरेको थियो।
पछि युरोपेली राजदूतहरू र ओटोम्यान साम्राज्यबीच उपहार आदानप्रदान भएको पाइन्छ, जसमा प्रायजसो स्थानीय रुपमा बुनिएका कपडाहरू तथा घडी दिने प्रचलन रहेको थियो। युरोपेली राजतन्त्रहरूबीच उपहार दिने अद्वितीय प्रचलन रहेको थियो, जुन 'रियलपोलिटिक' थियो। त्यो समयमा उपहार कूटनीति समकक्षी वा विरोधीसँग अनुकूल स्थिति सुरक्षित गर्ने वा बलियो सम्बन्ध कायम राख्ने तरिका बन्यो।
सन् १९५० को दशकमा चिनियाँ सरकारले सुरुमा आफ्ना कम्युनिस्ट सहयोगीहरुलाई र पछि गैरकम्युनिस्ट अन्य विदेशी सरकारहरूलाई पाण्डा उपहार दिन सुरु गरेको पाइन्छ, जसलाई 'पाण्डा कूटनीति' को रुपमा ब्याख्या गरिएको पाइन्छ। यस अभ्यासका क्रममा चीनले संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, मलेसिया र ताइवानलाई पाण्डा उपहार दिएको थियो।
यद्यपि, यी राम्रो नियतले प्रदान गरिएका जीवित उपहारहरूले सधैं सुधारिएको सम्बन्धको परिणाम दिन्छन् भन्ने हुँदैन। सन् २०१३ मा माली सरकारले फ्रान्सेली राष्ट्रपति फ्रान्कोइस ओलान्डलाई एउटा ऊँट उपहार दिएको थियो, जुन स्थानीय परिवारको हेरचाहमा छोडियो र एक भोजको लागि मारिएको थियो। यसले उपहार दिने माली सरकारलाई लज्जित बनाउँदै अपमानित गरेको महसुस गरी दुई मुलुकबीचको कूटनीतिक सम्बन्धलाई नै जटिल बनाएको थियो।
संयुक्त राज्य अमेरिकाजस्ता देशहरु, जसको कूटनीतिको लक्ष्य 'सुरक्षा, समृद्धि, लोकतन्त्र र आर्थिक विकास' लाई बढावा दिने हुन्छ, यस्ता मुलुकमा उपहार आदानप्रदान एक असामान्य रणनीति मानिने गरिएको छ। यद्यपि उपहार कूटनीतिको परम्पराको स्थान आज पनि अन्तर्राष्ट्रिय सम्बन्धमा कायम छ।
उपहार आदानप्रदानबाट समस्या उत्पन्न हुन सक्ने भए पनि अन्तर्राष्ट्रिय सम्बन्धमा उपहार दिने स्थायित्वका कारणहरू प्रायः उपहारको प्रतीकात्मक मूल्य रहने गरेको छ। वास्तवमा सरकार र सार्वजनिक सम्बन्धको उच्च स्तरमा घरेलु ब्रान्डहरू र सांस्कृतिक शिल्पकलाको प्रवर्द्धन गर्न पनि उपहारहरु प्रदान गर्ने गरिन्छ।
सन् २०२१ को कोरोना महामारीको समयमा न्युजिल्याण्डले आयोजना गरेको एशिया-प्यासिफिक इकोनोमिक को-अपरेसन (एपेक) मा सहभागीहरूलाई आयोजकले हस्तशिल्प 'वुलन ल्यापटप स्लिभ्स', स्थानीय काठबाट बनाइएको काठको बाकस, पाउआको खोललगायत उपहार दिइएको थियो। स्थानीय व्यवसायीहरूद्वारा बनाइएका यी उपहारहरूले विश्वका कूटनीतिज्ञहरूबीचमा न्यूजिल्याण्डको संस्कृतिलाई विश्वव्यापी एक्सपोजर र अन्तरदृष्टि प्रदान गरियो, जुन अवसर दुर्लभ सावित हुन्छ।
यस्ता उपहारहरुले सांस्कृतिक पक्षलाई मात्र झल्काउने नभई मुलुकका कालीगढहरुको कलाकृतिको प्रस्तुति र कलाकारहरुको प्रशंसा व्यक्त गर्ने माध्यमको काम गर्थे। अमेरिकाकी विदेशमन्त्री कोन्डोलिजा राइसले अमेरिकी दासत्व उन्मूलनवादी र महिला अधिकारकर्मी सोजोर्नर ट्रुथको पोट्रेटले सजाइएको पोर्सिलेन बक्सहरू उपहार दिएकी थिइन्।
उपहारहरूले दीर्घकालीन एकताको प्रतीक विकास गर्न सक्छन्। सन् १८८६ मा फ्रान्सबाट संयुक्त राज्य अमेरिकालाई प्रदान गरिएको अमेरिकी राष्ट्रियताको एक प्रतिष्ठित आइकन 'द स्ट्याचु अफ लिबर्टी' उपहार दिएर यस्तै एकताको सन्देश दिन खोजिएको थियो। हाल यो दुई देशबीचको मित्रताको प्रतीक मात्र नभई 'स्वतन्त्रता र लोकतन्त्रको विश्वव्यापी प्रतीक' को रूपमा पनि रहेको छ। यस्ता उपहारहरूको ठूलो प्रतीकात्मक मूल्य रहेको हुन्छ।
कूटनीतिक उपहारहरूले साँच्चै सहयोगी तथा साझेदारीको स्थायी, सकारात्मक सन्देश प्रवाह गर्न सक्छन्। यद्यपि, तिनीहरूले जटिलासमेत सिर्जना गर्छन्। यी समस्याहहरुले कहिलेकाहीँ कानुनी दायित्वसमेत उत्पन्न गर्छन्। यस्ता कानुनी दायित्व र मुलुकको छविलाई असरबाट जोगिनका लागि संयुक्त राज्य अमेरिकाले उपहार दिने प्रक्रियालाई कडा रुपमा नियमन गरेको छ।
यो नियमन प्रक्रिया प्रणालीगत जटिलताहरुसँग आउँछ। उपहार प्रदान गर्ने कुरालाई नियमन गर्ने मुलुकको इतिहास हेर्दा सन् १६५१ मा डच गणतन्त्रबाट सुरु भएको पाइन्छ। जसले यी उपहारहरू घूसखोरी र प्रभावको सम्भाव्यताबारे सचेत भएर विदेशी सरकारहरूबाट कुनै पनि प्रकारको वस्तु वा क्षतिपूर्ति प्राप्त गर्ने विषयमा कडा नीतिहरू अपनाएको थियो।
उपहार ग्रहण गर्ने विषयमा बनाइएको नीतिहरुबाट प्रेरित भएर युरोपियन राष्ट्रहरुले संयुक्त राज्य अमेरिकाले शक्तिलाई कमजोर पार्न थालेकोमा चिन्ता व्यक्त गर्दै यसविरुद्ध संयुक्त राज्य अमेरिकाको संविधानमा नै व्यवस्था गरेको छ।
डच ऐनको मोडलबाट यस प्रावधानले घूसखोरी र कुलीनतन्त्रका अभ्यासहरू सीमित गर्ने अपेक्षा गरिएको थियो। त्यसपछि सन् १९९६ मा अमेरिकाले विदेशी उपहार र सजावट ऐन जारी गर्यो, जसले अधिकारीहरूलाई विदेशी सरकारहरूबाट उपहारहरू र सजावटहरू माग्न वा स्वीकार गर्नबाट रोक लगाएको थियो। यद्यपि उक्त उपहार अस्वीकारले सम्बन्धलाई असर पार्ने वा दातालाई अपमानित गर्ने काम गरिएमा त्यस्तो उपहार स्वीकार गर्नुपर्ने पनि उल्लेख छ। उक्त ऐनले सकेसम्म ४१५ अमेरिकी डलरभन्दा कम मूल्यको उपहारमात्र स्वीकार गर्नुपर्ने पनि उल्लेख गरिएको छ। पहिलो सशर्त प्रावधानमा सरकारी अधिकारीले देशको तर्फबाट उपहार स्वीकार गर्ने र पछि कुनै एजेन्सीलाई हस्तान्तरण गर्न सक्ने उल्लेख छ।
यद्यपि यी नियमहरूले कडा जवाफदेहिता सिर्जना गर्ने गर्छन्। भर्खरै अमेरिकी सरकारले कूटनीतिक उपहारहरू राखेको भल्टबाट हराइरहेका ५ हजार ८०० अमेरिकी डलर बराबरको जापानी व्हिस्कीको बोतल र अन्य महँगो वस्तुहरू फेला पार्न राज्य विभागको अनुसन्धान असफल भयो। उक्त व्हिस्कीको बोतल सन् २०१९ मा माइक पोम्पेओलाई जापान सरकारले उपहार दिएको थियो।
कूटनीतिक उपहारहरूले अन्तर्राष्ट्रिय र आन्तरिक नियमनमा पनि रोचक बहस सिर्जना गर्छन्। डोनाल्ड ट्रम्पको पहिलो राष्ट्रपतिको रुपमा विदेश यात्राका क्रममा राष्ट्रपतिले आन्तरिक संघीय कानून र नियमहरूसँग बाझिएका धेरै उपहार प्राप्त गरेका थिए। साउदी अरेबियाको शाही परिवारले तत्कालीन राष्ट्रपति ट्रम्पलाई बाघ र चितुवाको उनबाट बनेको लुगाहरूका साथमा हात्तीको दाँतबाट बनेको छुरा राख्ने ह्यान्डल उपहार प्रदान गरेको थियो। यी सबै उपहारहरुले 'लोपोन्मुख प्रजाति ऐन' उल्लंघन गरेका थिए। जसका कारण उक्त उपहार ट्रम्प प्रशासनले सामान्य सेवा प्रशासनलाई हस्तान्तरण गर्नुअघि वस्तुहरूको बारे पूर्ण रूपमा खुलासा गर्न अस्वीकार गरेको थियो।
यी उपहारहरूमा सम्भावित लोपोन्मुख पशुबाट बनेको र प्रतिबन्धित सामग्रीहरुको रुपमा समावेश भएकोले उक्त उपहारहरु अमेरिकी माछा र वन्यजन्तु सेवा विभागलाई हस्तान्तरण गर्नुपर्ने थियो। तर, ट्रम्प प्रशासनको निर्देशनका कारण उक्त उपहारहरुबारे पूर्ण रुपमा खुलासा गरिएको थिएन। जसका कारण अमेरिकाको संघीय कानुनी मापदण्ड उल्लंघन गरेको भन्दै विवाद सिर्जना भएको थियो। यसका अतिरिक्त, उपहारहरूको गैरकानुनी प्रकृतिले नैतिक प्रश्न पनि सिर्जना गरेको थियो।
समग्रमा कूटनीतिक उपहार दिने अभ्यासमा सन्तुलन कायम गर्न आवश्यक छ। यो परम्पराले देशको सांस्कृतिक र भौतिक सम्पदाको प्रदर्शन, प्रचार र प्रवर्द्धन गर्ने र कूटनीतिक सम्बन्धको संवेदनशीलतालाई पनि प्रदर्शन गर्ने गर्छ। पूर्व राष्ट्रपति ट्रम्पलाई दिइएको साउदी फरको मामिलामा 'दुर्लभ र विवादास्पद वस्तुहरु' नक्कली भएको पाइएको थियो। वास्तवमा यसले एक मिश्रित सन्देश दिएको भन्दै ब्याख्या गरिएको थियो। जसमा पहिलो साउदी परिवारले पशु संरक्षणमा अमेरिकी कानुनको सम्मान गरेको र अर्को उनीहरूको अन्य सम्पत्तिलाई कमजोर बनाएको रुपमा ब्याख्या गरिएको थियो। जे भए पनि साउदीले दिएको उपहारको सम्बन्धमा गरिएको अनुसन्धान प्रक्रियाले सरकारी समय र स्रोतहरू खर्च भयो, जुन अन्य कामहरुमा लगानी गर्न सकिन्थ्यो।
जे भए पनि उपहार दिने परम्पराले आदर्श र दुई मुलुकबीचको आत्मीयतालाई पनि कायम गरेको देखिन्छ। कूटनीतिक उपहारहरूको; जन्मदिनको उपहार दिने वा अन्य कुनै पनि विशेष अवसरका उपहारभन्दा अभिप्राय वा अपेक्षामा धेरै फरक हुन सक्छन्।
यद्यपि, उनीहरूलाई आवश्यक पर्ने जटिल प्रक्रियाहरू र प्रदान गरिने उपहारलाई ध्यानमा राख्दै लोकतान्त्रिक र योग्यतावादी मूल्यहरू प्रवर्द्धन गर्ने प्रयास गर्ने देशबीच उनीहरूको स्थान खोज्ने परम्पराका साथै उत्कृष्ट अभ्यासहरूको पुन: मूल्यांकन आवश्यक छ।
- हार्वर्ड इन्टरनेशनल रिभ्यूमा प्रकाशित आलेख दिलीप प्रकाश कार्कीले भावानुवाद गरेका हुन्।