काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिको जलहरी प्रकरणमा आफूलाई ट्रोल बनाइएको भन्दै आक्रोश पोखेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, 'बोक्न नसक्ने गरी सुन लगाएको फोटो बनाएर भ्रम सिर्जना गरिएको छ। औंठीसमेत लगाउने रुचि नभएको मान्छेलाई जिउभरि सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेका छन्।'
अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औंठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औंठी नलगाएको बताए। त्यो सत्यलाई बंग्याएर सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको उनले बताए। आफूसँग भएको ज्ञान, कला र क्षमताको दुरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु मुलुकका लागि दुःखको कुरा भएको पनि अध्यक्ष ओलीले बताए ।
ओलीले पशुपतिको जलहरी प्रकरणमा सत्य कुरालाई छोप्न असत्यको भ्रम छर्न खोजिएको बताए।
प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदा करिब ११ किलो सुन हराएको भन्दै ओलीको सामाजिक सञ्जालमा ट्रोल भएको थियो। ओलीको तस्बिरमा सुनैसुन ढाकिएको फोटो बनाएर भाइरल गरिएको छ।