स्याङ्जा- स्याङ्जाको पुतलीबजार नगरपालिका-११ मायाटारस्थित सिद्धार्थ राजमार्गको छेउमा चिटिक्क परेको काठको छाप्रो छ। छाप्रो अगाडि माटोको चुलोमा धुँवा उडिरहेको छ।
३९ वर्षीया जमुना रुचाल चर्को घाममा पनि पसिना चुहाउँदै मकै पोल्न व्यस्त छिन्। उनी बिहानै भालेको डाँकोसँगै उठेर घरको सबै काम सकेर खाना बोकेर मकै पोल्ने ठाँउ आउने गरेकी छन्।
‘मकै पोलेर बिक्री गर्न थालेको पाँच वर्ष भयो, यसकै आम्दानीले गुजारा चलाएकी छु’, जमुनाले भनिन्, ‘सुन्तलाको याममा सुन्तला बेच्छु, हरिया मकै बेमौसमी पनि पाइने भएकाले अहिले मकै पोलेर बेचिरहेकी छु।’
यही काम पनि सजिलोसँग गर्न नपाइएको उनको गुनासो छ। औँलाले देखाउँदै उनले भनिन्, ‘काठको खामो गाडेर छाप्रो बनाएकी थिएँ, काठकै टेबुल र बेन्च पनि थियो, छाप्रो भत्काइदिन थाले। टेबुल पनि चोरी हुन थाल्यो। अहिले भने बेन्च फलामको बनाउन लगाएर राखेकी छु।’
दैनिक ४०-५० वटासम्म पोलेको मकै बिक्री हुन थालेको जमुनाले बताइन्। ‘दैनिक दुई हजारदेखि दुई हजार पाँच सयसम्म कमाइ हुन्छ’, उनले भनिन्। रुचालले मोहीसमेत बिक्री गर्छिन्। सबै गरेर महिनामा एक लाख ५० हजारसम्म कारोबार हुने गरेको जमुनाको भनाइ छ।
गल्याङ नगरपालिका-६, पिँडिखोलाका शेरबहादुर थापा प्रायःजसो पोलेको मकै, मोही र चटनी खान यहाँ आउने गर्छन्। स्वदेशमा रोजगार भएन भन्नेहरूलाई जमुनाको कामले केही गर्न प्रेरणा मिलेको उनको भनाइ छ।
जमुनाको छाप्रोभन्दा केही पर अर्को छाप्रोमा सविता गैरे पनि मकै पोल्न व्यस्त छिन्। ‘दैनिक २५-३० जती मकै बिक्री हुन्छ’, सविताले भनिन्, ‘मकै पोलेर खुवाउँदा फुर्सदै हुन्न, यही पेसाले हाम्रो घरखर्च धान्न सहज भएको छ।’
सविताकी सासू केशरी पनि मकै पाल्नमै व्यस्त छिन्। उनले भनिन्, ‘सासू–बुहारीले मकै बेचेर कमाएको पैसोले घरखर्च धानिएको छ।’ यहाँ सुन्तलाको याममा पनि यस्तै चटारो हुन्छ।
मकै खरिद गर्न पोखरा, चितवनलगायत ठाउँबाट व्यापारी मायाटारी आउने गरेका छन। यहाँ पोलेको मकै प्रति घोगा ५० र मोही प्रति गिलास २० मा बिक्री हुने गरेको छ।