चितवनको ईच्छाकामना गाउँपालिका-४ चुमखोलास्थित सडकमा मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ग.१०प ८१११ नम्बरको मोटरसाइकल मंगलबार बिहान आफै अनियन्त्रित भई त्रिशुली नदीमा खस्दा मोटरसाइकलमा सवार धादिङ शिद्धलेक गाउँपालिका-२ बस्ने ४१ वर्षीया शान्ती न्यौपानेको मृत्यु भएको छ।
त्रिशुली नदीमा मोटरसाइकल खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुरिनटार र ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शान्तीको शव फेला पारेको हो। साथै बेपत्ता भएका मोटरसाइकल चालक मृतककै श्रीमान् ४७ वर्षीय मेघ बहादुर न्यौपानेको प्रहरीले खोजी गरिरहेको छ।
मृत फेला
चितवन, रत्ननगर नगरपालिका-४ भोकाहा बस्ने ४५ वर्षीय राजु चौधरी सोही ठाउँस्थित कयर खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
खोटाङ, जन्तेढुङगा गाउँपालिका-५ बस्ने ४८ वर्षीया मनमाया राई सोही ठाउँस्थित घोर्ले भिरको झाडीमा मगंलबार बिहान मृत अवस्थामा फेला परेकी छिन्।
डुबेर मृत्यु
मोरङ, कानेपोखरी गाउँपालिका-६ शान्ति टोल बस्ने ६५ वर्षीय राम कुमार राईको आफ्नै घर नजिक रहेको भलुवा नहरमा डुबेर मगंलबार बिहान मुत्यु भएको छ।
धनुषा, मिथिला नगरपालिका-७ नगरपालिकास्थित ईनारमा डुबेर सोही ठाउँ बस्ने ३२ वर्षीय धुरन यादवको मंगलबार बिहान मृत्यु भएको छ । ईनारमा खसेको पानी तान्ने मोटर झिक्ने क्रममा डुबेर अशक्त भएका उनको लालगढ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।