काठमाडौं– कैलालीको टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी दिइनु कानुनविपरीत रहेको दाबीसहित रिहाइ निर्णय खारेज गर्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहराले रेशम रिहाइविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले बताए। घटनाका पीडितलाई अन्याय हुने गरी मन्त्रिपरिषद्बाट निर्णय भएको दाबीसहित उक्त निर्णय र सिफारिस कार्यान्वयन रोक्न रिटमा माग गरिएको छ।
गत आइतबारको मन्त्रिपरिषद् बैठकले चौधरीसहितका १९ जनालाई आममाफी दिन सिफारिस गरेको थियो। राष्ट्रपति पौडेलले सरकारले पठाएको सिफारिस सदर गरेपछि सोमबार गणतन्त्रकै दिन रेशम डिल्लीबजारस्थित कारागारबाट रिहा भएका थिए।
७ भदौ २०७२ मा टीकापुरमा भएको थारु आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।
उक्त घटनामा रेशम सहभागी भएको प्रमाण भेटिएपछि जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतले उनलाई जेल सजाय तोकेको थियो। सरकारले राजनीतिक आवरण दिएर रेशमलाई रिहाइ गरेको हो।