काठमाडौं महानगरपालिका-७ चाबहिल लामपोखरीस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।
बाँके, डुडुवा गाउँपालिका-१ टेपरीस्थित भारत बहराइच हुलिया ग्राम पंचायत बस्ने ३५ वर्षीय कोइली मुराउ आइतबार मृत अवस्थामा फेला परेका छन्।
कपिलवस्तु, शिवराज नगरपालिका-९ रमुवादह बस्ने ४२ वर्षीया सिता कुमारी बुढा मगर आफ्नै घरको आगनमा आइतबार मृत अवस्थामा फेला परेकी छिन्।
झापा, अर्जुनधारा नगरपालिका-४ निलडाँडास्थित पोखरीमा सोही ठाउँ बस्ने ५४ वर्षीया सरस्वती मगर आइतबार मृत अवस्थामा फेला परेकी छिन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सवारी दुर्घटनामा एकको मृत्यु
काठमाडौं महानगरपालिका-१४ कलंकी चोकमा सु.प.प्रदेश ०१-००१ ख २९४१ नम्बरको ट्रक र बा.प्र.०२-००४ प ४७०३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार तनहुँ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
करेन्ट लागेर मृत्यु
इलाम, सूर्योदय नगरपालिका-१४ कटुसे बस्ने ५१ वर्षीय मोहन राईको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ। घर नजिकै रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको फिक्कल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।