काठमाडौं- सरकारले रेशम चौधरीको जन्म कैद सजाय मिनाहाका लागि सिफारिस गर्नेलगायत ६ निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यी निर्णय गरेको हो।
बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै क्यानडामा ०८० भदौ ५ गते देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरण सुविधाको ७ औं सभा तथा सम्बन्धित बैठकहरूमा अर्थमन्त्री प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने बैठकले निर्णय गरेको छ।
यसैगरी सिन्धुलीमाडी-भूमेस्थान-चकमके-उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने बैठकले निर्णय गरेको छ। यस्तै मध्य तमोर जलविद्युत आयोजना प्रसारणलाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरू हटाउन स्वीकृति दिने बैठकले निर्णय गरेको छ।
लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।