शनिबार, जेठ २, २०८३

असिनाले दुई करोडको काँक्रा बिउ सखाप

फल लाग्ने बेलामा आएको असिनापानीले काँक्राको बिउ पूरै नष्ट गरेको हो।
 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

पर्वत– पर्वतको फलेबास नगरपालिका–११ सानोगाउँ पाङराङको कर्नासमा हरेक वर्ष दुई करोड बराबरको काँक्राको बिउ उत्पादन हुँदै आएको थियो। यस वर्ष भने फल लाग्ने बेलामा आएको असिनापानीले पूरै नष्ट गरिदिएको हो।

National life

असिना पानीले फल लागेका काँक्रा पूर्ण रुपमा नष्ट भएको स्थानीय नारायणस्थान बीउ उत्पादन समूहका अध्यक्ष माया पाठकले जानकारी दिइन्। उक्त गाउँमा गत वर्ष पनि असिनाकै कारण बिउ उत्पादन घटेको थियो। बिउ उत्पादनबाट बर्सेनि २ देखि २ करोड १० लाखसम्म भित्र्याउँदै आएको सो गाउँमा यस वर्ष भने कत्ति पनि उत्पादन नभएको पाठकले जानकारी दिइन्।

यहाँका कृषकले दुई वर्षअघि सात टन बिउ उत्पादन गरेका थिए। त्यसबाट २ करोड १० लाख आम्दानी गरेका थिए भने अघिल्लो वर्ष १ करोड २३ लाख भित्र्याएका थिए। सो गाउँका ७२ घरधुरीको मुख्य पेसा नै काँक्राको बिउ उत्पादन हो। ‘हिउँदभरि गरेको दुःख क्षणभरमै सखाप बनाइदियो’, नारायणस्थान बिउ उत्पादन समूहका उपाध्यक्ष जमुना कुँवरले भनिन्, ‘मुख्य पेसा नै असिनाले खाइदिएपछि निकै समस्यामा परेका छौं।’

उनले काँक्राको बिउमा परेको क्षतिबारे स्थानीय सरकार र कृषि ज्ञान केन्द्रलाई जानकारी गराए पनि राहतका लागि कुनै पहल नभएको गुनासो गरिन्। ठूलो आम्दानी हुने भए पनि स्थानीयले काँक्रा खेतीको बिमा भने गरेका छैनन्।  समूहका अध्यक्ष पाठकले दुई वर्षअघि १६८ किलोग्राम काँक्राको बिउ उत्पादन गरेकामा यस वर्ष असिनाका कारण सबै सखाप पारिदिएको गुनासो गरिन्।

त्यसबेला प्रतिकिलो बिउको मूल्य ३ हजार रहँदा उनलाई काँक्राको बिउबाट  ५ लाख बढी कमाइ भएको थियो। गत वर्ष थोरै क्षेत्रफलमा काँक्रा खेती गरेकाले ४० किलोभन्दा बिउ बनेन। बिउ र हरियो काँक्रा गरेर वार्षिक झन्डै ४ लाख आम्दानी गरेकी पाठकले यस वर्ष क्राँक्राबाट १ रुपैयाँको पनि आम्दानी गर्न नसकेको बताइन्।

पाङराङमा व्यावसायिक रूपमा काँक्राको बिउ उत्पादन गर्ने सानाठूला समूह निर्माण गरिएका छन्। स्थानीय नारायणस्थान बिउ उत्पादक सहकारी संस्थाले विगतका वर्षमा वार्षिक ७० क्विन्टलसम्म बीउ उत्पादन गर्दै आएको थियो। समूहमा आबद्ध ७२ कृषकलाई असिनाको क्षतिले चिन्तित बनाएको छ।

कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार गत वर्ष पर्वतमा १ करोड २३ लाखको काँक्राको बीउ तयार भएकामा यस वर्ष पूरै असिनाले नष्ट गरेको छ। 

क्षतिपूर्तिका लागि पहल भइरहेको उनको भनाइ छ। यहाँका कृषकले काँक्राको बिउ उत्पादनबाट घटीमा १ देखि बढीमा २० लाखसम्म एउटा घरमा भित्र्याउने गरेका छन्।
माघमा काँक्रो रोपेदेखि जेठमा बिउ निकाल्ने पाँच महिनामा एउटै परिवारको मुख्य आम्दानी हुँदै आएको छ। कृषकले काठमाडौंको कालीमाटीमा रहेका निमाकोल र हार्कजस्ता सहकारी संस्थामा बिउ बिक्री गर्दै आएका छन्। १ किलो बिउको ३ हजारका दरमा कृषकले सहकारीलाई बिक्री गर्छन्।

काँक्राको बीउ उत्पादनमा मुलुककै अग्रणी गाउँ मानिने कर्नासमा उत्पादित बिउको गुणस्तर कायम राख्न सकेका कारण बजार अभाव नरहेको स्थानीय कृषक मानबहादुर भुसालको दाबी छ। नेपालमा सात टन भक्तपुर लोकल जातको काँक्राको बिउको माग छ। मुलुकभरको मागमध्ये एउटै गाउँले पाँच टन उत्पादन गर्छ।

प्रकाशित: May 27, 2023| 16:29 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्