काठमाडौं- बिनु यादव माइतीघरको सडकमा बस्न थालेको धेरै भयो। कतिबेला मिडियाको भीडले घेर्छ भने प्रायः समय त्यही सडकको रमिता हेरेर टोलाउँछिन्। उनको छेउमा एउटा चन्दा बाकस छ। यत्तिले चलेको छ अहिले जिविका।
०७७ असोज ७ गते बिनुका श्रीमान् प्रदीप कठायतले रामेछाप जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। जसलाई न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले सम्बन्ध विच्छेद हुने फैसला गरेको थियो। फैसलाकै दिन बिनुले अदालतमै विष पिएकी थिइन्। उनी भन्छिन्- सबैतिरबाट न्याय हारेपछि असहय भएर विष खाएकी थिएँ। न्यायको लागि चेलीहरु माइतीघरको सडकमा बसेपछि मात्रै किन सुरु हुन्छ अनुसन्धान? सम्बन्ध विच्छेदको मुद्दालाई लिएर ०७९ असाढ १३ गते दर्ता भएको पुनरावेदन, उच्च अदालतले पेसी नतोकिदिएको भन्दै अनशनमा उत्रेकी थिइन् बिनु।
उनका कानुन व्यवसायी इन्द्र अर्यालका अनुसार रामेछाप जिल्ला अदालतले गराएको बिनु यादव र प्रदीप कठायतबीचको सम्बन्ध विच्छेदको मुद्दा उच्च अदालत पाटनले उल्टाइदिएको छ। न्यायाधीश सुभाष पौडेल र सुदर्शन पाण्डेको संयुक्त इजलासले सो फैसला उल्टाएको हो। अधिवक्ता अर्यालले जिल्ला अदालतले भराउन लगाएको मानाचामललाई उच्च अदालत पाटनले भने सदर गरेको बताए।
बिनु अझै सडकमै छिन्। उनी भन्छिन्, मैले न्याय पाउन बाँकी नै छ। न्याय खोज्दै प्रहरी र अदालत धाउँदै चार वर्ष बितेर गए तर न्याय पाउने आश नभएपछि यसरी सडकमा आउनुपर्यो।'
आफ्नै प्रेमीबाट बलात्कृत भएको उजुरीसहित बिनु २९ वैशाख ०७५ मा कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन्। तर महानगरीय प्रहरी परिसर काठमाडौंको महिला तथा बालबालिका सेवा केन्द्रले मेलामिलाप गराउँदै बिनुलाई उजुरी फिर्ता गर्न लगायो। उनी भन्छिन्- 'प्रहरीले मुद्दामाथि अनुसन्धान नै नगरी मेलमिलाप गर्न लगायो।' बलात्कारपछि विवाह गर्न मन नहुँदा–नहुँदै पनि उनले विवाह गरिन्। यसरी प्रहरी प्रशासनले नै मेलमिलापको नाममा महिलाहरुलाई जोखिमपूर्ण जीवन जिउन बाध्य बनाउँछन्।
प्रेमी प्रदीप कठायतका मामा नाता पर्ने डीएसपी सुरज कार्कीले त्यतिबेला उजुरी फिर्ता लिन दबाब दिएको आरोप लगाउँदै बिनुले कार्कीले आफ्नो कोठामा आएर मुद्दा फिर्ता दिन धम्क्याउने गरेको बताइन्। उनी भन्छिन्, 'डीएसपी कार्कीले उजुरी फिर्ता नलिए नराम्रो हुनेसम्मको धम्की दिने गरेका थिए।'
बिनुका अनुसार प्रदीपको परिवारको दबाब बढेपछि त्यतिबेला विवाह गर्नुपरेको थियो। २०७६ मंसिरमा प्रदीप र बिनुको विवाह भयो। त्यसपछि उनी रामेछापस्थित श्रीमान् कठायतको घर गइन्। तर त्यसपछि घरेलु हिंसा निरन्तर भइरहेको बताउँदै उनी सुनाउँछिन्, म गर्भवती भएको बेला हातखुटा बाँधेर जबर्जस्ती गर्भपतनको औषधी समेत खुवाएका थिए।' असुरक्षित गर्भपातले आफू शारीरिक रुपले कमजोर भइसकेको बेला काका ससुरा नाता पर्ने पवन कठायतले आफूमाथि बलात्कारको प्रयास गरेको बिनुको आरोप छ।
पवनले आफूमाथि जर्बजस्ती करणीको प्रयास गरेको भन्दै उनी जिल्ला आदालत रामेछाप पुगेकी थिइन्। तर अदालतले २९ फागुन ०७९ मा कठायतलाई सफाइ दियो। जिल्ला अदालतको सो फैसलाविरुद्ध अहिले उच्च अदालत पाटन पुगेकी छन् उनी।
भन्छिन्, मलाई न्याय नदिएसम्म म यही सडकमा बस्छु। सम्बन्ध विच्छेदको फैसला उल्टाएर मात्रै न्याय हुँदैन, मेरै घरमा म सुरक्षित हुन सक्ने वातावरण पनि बन्नुपर्यो। मलाई ज्यानको माया छैन तर उनीहरुले सबक सिक्नुपर्छ। उसले ठूला अधिवक्ता र पहुँचको आधारमा ममाथि अब अन्याय गर्न पाउँदैन। बुबा भनेर सम्मान गरेको व्यक्तिले पटक–पटक बलात्कारको प्रयास गरेको छ। मेरो भ्रुण हत्या गरेको छ। मेरो श्रीमानको बच्चा जन्मिँदा सम्पत्ति दिनुपर्छ भनेर पवन कठायत र हजुरबुबा जयबहादुर कठायतले मेरो हात बाँधेर भ्रुण हत्या गराएका थिए। मेरो शरीर कमजोर भएको छ। अपराधीलाई सजाय नभएसम्म म यहीँ सडकमा बस्छु।'
माइतीघरको तातो सडकमा बसेकी बिनुलाई बलात्कारको उजुरी फिर्ता गर्न लगाएको विषयमा मानव अधिकार आयोगले अध्ययन गरिरहेको छ। आयोगले मेलमिलाप गराएको कागजात र उनको स्वास्थ्य परीक्षणलगायतको कागजातहरु अध्ययन गरिरहेको आयोगले जनाएको छ। अनशनमा बसेकी बिनुसँग गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत भेट्न पुगेका थिए।
बिनु भन्छिन्, 'दिनहुँ कोही न कोही भेट्न आउने र अनुसन्धानको लागि कमिटी बनाउने भन्छन् तर विश्वास गर्न सकिँदैन। यही आश्वासन उनीहरुले आन्दोलनरत उखु किसानलाई पनि दिएका छन्। पहिले पनि उखु किसान आश्वासनमा फर्केका थिए। मेरो पनि त्यहि हविगत होला त्यही भएर म यहाँबाट हट्दिनँ।' सम्बन्ध विच्छेदको मुद्दा उच्च अदालत पाटनले उल्टाइ दिएपछि बिनु श्रीमानसँगको सम्बन्धलाई मौका दिन चाहेको बताइन्। उनले भनिन, म उसलाई सुधार्न चाहन्छु। उनी ठूला व्यापारी हुन्, गाडी चढेर हिँड्छन् तर मलाई मानाचामल ९ हजार छुट्याइदिएको छ।'