मंगलबार, भदौ २, २०८३

पशु बिरामी भएमा तत्काल खबर गर्न आग्रह

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

बागलुङ- पछिल्लो समय पशुमा देखिएको संक्रामक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिकले सक्रियता देखाएका छन्। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो।

आफ्नो पालिकाभित्रका पशुमा रोग देखिएमा तत्काल उपचार गराउने, किसानलाई क्षति हुनबाट बचाउने काममा लाग्न उनले निर्देशन समेत दिएको बताए।

संक्रामक रोगको रुपमा लम्पी स्किन देखिएको छ। यो रोगबाट बागलुङमा धेरै पशुको मृत्यु समेत भइसकेको बताइएको छ। सापकोटाका अनुसार झण्डै ४ सय पशु संक्रमित छन् भने १४ पशुको मृत्यु भइसकेको छ। शरीरमा गिर्खा आउने र सोही गिर्खा पाकेर रगत र पिप बग्ने कारणले पशुको मृत्यु भएको हो। मृत्यु हुने अधिकांश पशुमा उच्च ज्वरो देखिएको केन्द्र प्रमुख डा. सापकोटाले जानकारी दिए।

१०४ डिग्रीभन्दा बढी ज्वरो आएमा तत्काल उपचार सेवा बढाउन उनले प्राविधिकलाई आग्रह गरेका हुन्। होलिस्टाइन र अन्य विकासे गाई पालिएको फर्ममा यो संक्रमण बढी देखिएको हो। तराईका जिल्लामा देखिएको संक्रमण क्रमशः बागलुङमा पनि आएको हो।

पहिलोपटक अफ्रिकाको जाम्बियामा देखिएको रोग २ वर्षअघि भारत र नेपालमा देखिएको थियो। अहिले भने यो रोग संक्रामक भएर फैलिएको सापकोटाले जानकारी गराए।

जिल्लाका सबै पालिकास्थित पशु सेवा शाखाका प्राविधिकलाई उपचारमा सक्रिय बन्न र प्राविधिक समस्या भए भेटेनरी अस्पतालमा सम्पर्क गर्न भनिएको हो। यो रोग संक्रमण भएको गाईभैंसीमा ५ दिनसम्म लक्षण नदेखिने, देखिएका पशुलाई टोकेका किर्ना, लामखुट्टे र भुसुनाबाट अर्को पशुमा सर्ने गरेको भेटिएको हो। त्यसका लागि गोठ सफाइ गर्ने, संक्रमण भएको पशुलाई अरुभन्दा पर राख्ने र उपचार सेवा दिने गर्नुपर्ने उनले बताए।

प्रकाशित: May 22, 2023| 20:32 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्