बुधबार, भदौ ३, २०८३

हात्ती प्रजनन केन्द्र खोरसोरमा ४१ छावा जन्मिए 

खोरसोरमा रहेका ५५ मध्ये पाँच वटा हात्ती विदेशबाट ल्याइएका हुन् भने अन्य नेपालमै जन्मिएका हुन्।
 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

चितवन–चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन केन्द्र खोरसोरमा ४१ हात्ती (छावा) जन्मिएका छन्। २०४४ मा प्रजनन् केन्द्र स्थापना भएयता उक्त संख्याका हात्ती जन्मिएका हुन्। २००६ देखिका हात्तीलाई अहिले खोरसोरमा राखिएको छ।

खोरसोरमा रहेका ५५ मध्ये पाँच वटा हात्ती विदेशबाट ल्याइएका हुन् भने अन्य नेपालमै जन्मिएका हुन्। राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भारतबाट ल्याइएका चार र थाइल्यान्डबाट ल्याइएको एउटा हात्ती अहिले खोरसोरमा छन्।

नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई, सर्लाहीबाट चार र कोसीटपुबाट तीन हात्ती ल्याइएको उनले बताए। निकुञ्जमा २०४४ मा हात्ती प्रजनन केन्द्र खोरसोर स्थापना भएको हो। त्यसअघिदेखिका हात्ती अहिले खोरसोरमा रहेको उनको भनाइ छ।

निकुञ्जको खोरसोरमा रहेका हात्तीमध्ये अहिले चार वटा वृद्धावस्थाका छन् भने अन्य एक वर्षदेखि माथिका छन्। तत्कालीन समयमा राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिएका हात्ती निकुञ्जमा रहेको उनले बताए।

उनले भने, ‘खोरसोर स्थापना हुनुअघि राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिने हात्ती छन्।’ यहाँ रहेका हात्तीमध्ये ३२ भाले र २३ पोथी हुन्। निकुञ्ज सुरक्षार्थ हात्ती प्रयोग गरिँदै आएको छ। जीप जान नसक्ने ठाउँमा हात्तीमा चढेर गस्ती हुने गरेको छ।

प्रकाशित: May 22, 2023| 11:38 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्