सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसद्‍मा अमर्यादित हर्कत: कपडा च्यात्नेदेखि मन्त्रीलाई थप्पडसम्म

संसद्‍मा अमर्यादित हर्कत: कपडा च्यात्नेदेखि मन्त्रीलाई थप्पडसम्म

२०६४ सालमा संविधानसभाको पहिलो बैठकमा सभासद कमला शर्माले नेपाली कांग्रेसका सभासद पूर्णबहादुर खड्कालाई चप्पलले आक्रमण गरेकी थिइन्।
 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं- जनताले चुनेर पठाएका प्रतिनिधिले जनताकै विषय उठाउने थलो हो संसद्। संसदीय व्यवस्थामा संसद्को निकै ठूलो महत्व र गरिमा छ। तर, एकाध सांसदका हर्कतले संसद्को गरिमालाई नै धुलिसात् पारेका उदाहरण पनि छन्।

National life

सोमबार पनि यस्तै भयो। बजेट अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको दोस्रो बैठक बोलाइएको थियो बिहान ११ बजेका लागि। करिब २५ मिनेट ढिलो सुरु भएको बैठक सभामुखले अघि बढाउन सकेनन्। कारण- दुईजना सांसद प्रेम सुवाल र अमरेशकुमार सिंह बोल्ने समय माग गर्दै उठिहाले। कुनै पनि सांसद उठेको अवस्थामा संसद् बैठक अघि बढाउन मिल्दैन। 

त्यसो त आकस्मिक समयमा बोल्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पनि समय माग गरेका थिए तर बजेटका सिद्धान्त र प्राथमिकतामा छलफलका कारण शून्य समयबाहेक आकस्मिक समय नदिने बैठकअघि नै तय भएको थियो। 

बैठकको सुरुवातमै उठेका सांसद सिंहलाई सभामुखले बस्न आग्रह गरे। तर सिंहले धमाधम कपडा खोल्न सुरु गरे। बोल्न पाउनुपर्ने मागसहित सिंहले सुरुमा सर्ट र त्यसपछि गन्जीसमेत खोले। सभामुख घिमिरेले सुव्यवस्था कायम गर्नका लागि सदस्यले पालना गर्नुपर्ने नियमप्रति ध्यानाकर्षण गराए तर पनि सिंह रोकिएनन्। उनले आफ्नै स्थानबाट समय माग गरिरहे। सभामुखले बैठकको सुव्यवस्थाका लागि नियमावलीको नियम ३० अनुसार चेतावनी दिए। चेतावनी नमाने कारबाहीका लागि बाध्य हुने बताएपछि बल्ल सिंहले कपडा लगाए।

amaresh singh1683526133.jpegनेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले सदनमा प्राथमिकता पाउँदा प्रतिनिधिसभाको सुव्यवस्थामा नै प्रश्न उठ्न थालेको छ। यस प्रकरणमा बोल्न चाहने सांसद र आकस्मिक समय सकेसम्म कम गर्ने सभामुख देवराज घिमिरेको प्रयत्नले बैठक सञ्चालनमा अवरोध देखिएको छ। आइतबार बजेट अधिवेशनको पहिलो बैठक पनि यही प्रकरणले तातिन पुगेको थियो। 

संसद्‍मा अमर्यादित हर्कत भएको यो पहिलो घटना होइन। २०६४ सालमा संविधानसभाको पहिलो बैठकमा सभासद कमला शर्माले नेपाली कांग्रेसका सभासद पूर्णबहादुर खड्कालाई चप्पलले आक्रमण गरेकी थिइन्।

संविधानको विषयलाई लिएर २०७१ माघ ५ मा नेकपा (माओवादी केन्द्र)का सभासदले संविधानसभामा तोडफोड नै गरेका थिए। यसैगरी २०६८ मा वार्षिक बजेट पेस गर्ने क्रममा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको ब्रिफकेस माओवादीकै सांसदले तोडफोड गरेका थिए।

अर्थमन्त्रीको हातबाट ब्रिफकेस खोसेर सांसदहरुले बजेट वक्तव्य च्यातिदिएका थिए। दुईपक्षीय घम्साघम्सीमा केही सांसदहरुको लुगासमेत च्यातिएको थियो। भिडन्तको अवस्था आउने भएपछि तत्कालीन सभामुख सुवास नेम्वाङले संसद् बैठक स्थगित गरिदिएका थिए। त्यसको भोलिपल्ट अध्यादेशमार्फत बजेट ल्याइएको थियो।

surendra-pandy_dmkoYGvWSE1683594012.jpgसंविधानसभाको समितिमा दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवानले आफ्नो कपडा आफैँ च्यातेका थिए भने बैठक कक्षका कुर्सी उचालेर फालेका थिए। संविधानसभामा सभासद सञ्जय साहले सभा कक्षको माइक तोडेका थिए।

यस्तै, २०५० साउन ६ गते राष्ट्रियसभामा तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेलमाथि सांसद गोल्छे सार्कीले हातपात गरेका थिए। विशेष समयमा मन्तव्य दिएर फर्कने क्रममा सार्कीले आफ्नै स्थानमा बसिरहेका पौडेललाई थप्पड हानेका थिए। त्यसबापत सार्कीलाई सात दिन निलम्बन गरिएको थियो।

२०५० भदौ २१ गते सदनमा नारा नलगाउन गरेको आग्रहविपरीत रोस्ट्रम नै कब्जा गरेपछि रामेश्वर राय यादवलाई राष्ट्रियसभाको बैठक कक्षबाट निष्कासन गरिएको थियो।

२०५३ साल भदौ २ मा प्रतिनिधिसभामा बोल्ने स्थानबारे विवाद हुँदा सभामुख रामचन्द्र पौडेलले सांसद हृयदेश त्रिपाठीलाई बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए। रोस्ट्रम प्रयोगको अनुमति नपाएपछि रोस्ट्रमअघि गएर उभिएका त्रिपाठीलाई अभद्र व्यवहारको कारबाही गरिएको थियो।

२०६८ साल असार ५ गते संविधानसभा सदस्यहरु विश्वेन्द्र पासवान, रुक्मिणी चौधरी, बुद्धरत्न मानन्धर र सदरुल मियाँ हकले रोस्ट्रममा जान लागेका स्थानीय विकासमन्त्रीलाई रोकेका थिए। त्यसबापत सभामुख सुवास नेम्वाङले उनीहरुलाई बैठक कक्षबाट निकाल्न निर्देशन दिनुका साथै सात दिनका लागि निलम्बन गरेका थिए।

२०६८ भदौ ८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू कुन्तीकुमारी शाही, चन्द्रबहादुर गुरुङ, बबिना मोक्तान लावती र रामनारायण सिंह एक दिनका लागि निलम्बनमा परेका थिए। बैठक कक्षमा नारा लगाइरहेका उनीहरूलाई बाहिर जान आदेश भएको थियो तर नगएपछि मर्यादापालकको सहयोगमा निष्कासन गरिएको थियो। त्यही समयमा सदनका माइक तोडफोड गर्ने सांसद सञ्जयकुमार साह पनि कारबाहीमा परेका थिए।

प्रकाशित: May 09, 2023| 06:42 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्