धनगढी- दार्चुलाको व्यास गाउँपालिकाका–१ भोलेनको हिउँ पहिरोमा परेर ज्यान गुमाएका तीन जनाको शव शुक्रबार साँझ ६ बजे सदरमुकाम ल्याइएको छ। पहिरोमा परेका दुई जना अझै बेपत्ता छन्।
हिम पहिरोमा परेर ज्यान गुमाएका दार्चुलाकै दुहँ गाउँपालिका–४, का १८ वर्षीय प्रवीण कुँवर, उहाँकी आमा ३६ वर्षीय कमला कुँवर र डोटीको जोरायल गाउँपालिका–२, बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव सडक मार्गबाट ल्याइएको हो।
ती शव बुधवार नै फेला परेको भए पनि सडक मार्गबाट ल्याउँदा ढिलाइ भएको हो। त्यसैमा भारततर्फको गर्भाधार भन्ने सडकमा ठुलो पहिरो जाँदा पाँच घण्टा ढिलो भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले बताए।
मृतकको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइने र उनीहरूका आफन्त सदरमुकाममा आइसकेको प्रहरीले जनाएको छ।
पहिरोमा हराएको भनिएकामध्ये दुहुँ गाउँपालिका वडा नम्बर ४ पोक्से बस्ने ३६ वर्षीया कलावती कार्की, १८ वर्षीय अर्जुन कार्की, डोटी जोरायल गाउँपालिका–२, बुडरका ३६ वर्षीय फुर्पा थापा, डोटीकै २६ वर्षीय छप्तेन थापा , २६ वर्षीय पासाङ छुम्तेल विष्ट, ३१ वर्षीय थुतेङ थापा, हुम्ला जिल्ला लाखा गाउँपालिका– ५,का २० वर्षीय लाक्या ग्याल्बु तामाङ र दार्चुला नौगाड गाउँपालिका–२, दल्लेखका ५० वर्षीय ललितसिंह विष्ट भने मंलबार साँझ नै सम्पर्कमा आएका थिए।