धनगढी- कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ।
दोधारा चाँदनी नगरपालिका-७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति स्थानीय युवाको समूहले खुकुरी प्रहार गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले राति करिब साढे १० बजेको समयमा चैसिरमाथि १०/१५ जनाको समूहले खुकुरी प्रहार भएको बताए।
स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको थियो। उनको बायाँ पाखुरामा चोट लागेको छ।
खुकुरी प्रहार गर्ने युवा फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।