बिहीबार, भदौ ४, २०८३

मोटर चढ्ने गुर्जालीको धोको

भारी वर्षा हुने बर्खा र हिमपात हुने हिउँदका केही महिना खच्चडलाई सामान बोकाउन नमिल्ने भएकाले उक्त समयमा गाउँमा खाद्यान्न लगायतका सामान ढुवानी ठप्प हुने गर्छ। 
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

बेनी- धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ। जीवनका आरोह अवरोध संघर्षपूर्ण तवरले बिताएका उनी युवावस्थामा देश तथा विदेशमा समेत पुगे। 

विदेशको विकासको समेत अनुभूति संगालेका उनले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोटर चढेर सहर पुग्ने रहर जागेको बताए। 

जिल्लाको सबैभन्दा दुर्गम बस्तीका रुपमा परिचित गुर्जा जिल्लाको एकमात्रै सडक सञ्जालको पहुँच नपुगेको वडा हो। विकासमा ओझेलमा परेको सो स्थानका स्थानीयवासीमा पछिल्लो समय विकासको प्रमुख आधार मानिएको सडक सञ्जालको पहुँच निर्माण गर्ने योजना गढेको छ। यहाँबाट गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ। प्रौढ र युवायुवती गुर्जादेखि पैदलयात्रा गरी सहजै गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम बेनी आवत–जावत गर्न सक्ने भए पनि बालबालिका र वृद्धवृद्धाहरुलाई भने यात्रा गर्न सहज छैन।

‘उमेरमा त सयौं पटक ओहोर–दोहोर गर्यौं। पहिले कतै पनि सडक थिएन, हामीले पनि आशा गर्ने कुरा भएन, अहिले गाउँपालिकाको केन्द्रबाट छिमेकी गाउँ लुलाङसम्म सडक आयो भन्ने सुनेका छौं। हाम्रै पालामा गाउँमा मोटर आउँछ कि भन्ने भरोसा थपिएको छ’, गुर्जाका वृद्ध दलबहादुर छन्त्यालले भने। यातायातको पहुँच नपुगेका कारण यहाँ खच्चड र मानिसले नै सामान बोक्दै आएका छन्। लुलाङदेखि गुर्जासम्म खच्चडमा प्रतिकिलो सामान ढुवानीको २० रुपैयाँ लागत पर्छ। ढुवानी बढी लाग्ने भएकाले यहाँका स्थानीय महँगीको मारमा समेत छन्।

खाद्यान्नलगायत सामग्री खच्चडमा नै ढुवानी हुने र खच्चडले बोक्न नमिल्ने रड, जस्तापाता, पाइप लगायतका सामान मानिसले बोकेर लैजाने गरेको विगत एक दशकदेखि खच्चडमा सामान ढुवानी गराउँदै आएका युवा लोकबहादुर रसाइलीले जानकारी दिए। भारी वर्षा हुने बर्खा र हिमपात हुने हिउँदका केही महिना खच्चडलाई सामान बोकाउन नमिल्ने भएकाले उक्त समयमा गाउँमा खाद्यान्न लगायतका सामान ढुवानी ठप्प हुने गर्छ। 

सडक नपुगेका कारण स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउन सम्भव नहुने बिरामीहरुलाई डोको र पिठ्यूँमै बोकेर सदरमुकामको अस्पतालतर्फ लैजानुपर्ने बाध्यता रहेको स्थानीयवासी धनबहादुर छन्त्यालले बताए। ‘सडक नहुँदा ठूलो समस्या छ, बिरामी हुँदा पैसा जोहो गर्न सक्नेले हेलिकप्टरमार्फत अस्पताल लैजाने गर्छन्। पैसा जुटाउन नसक्नेहरु कि घरमै थला परेर बस्नुपर्छ, कि त भने बोकेरै लैजानुपर्छ’, उनले भने। एक गाउँ एक वडाका रुपमा रहेको गुर्जामा दुई सय ७० घरधुरी रहेका छन्। दलित र छन्त्याल दुई समुदायको मात्रै बसोबास रहेको गुर्जामा तत्कालीन समयमा खानी खन्ने क्रममा बसोबास रहन गएको पाइन्छ। 

विगतमा गाउँपालिकाको केन्द्र मुनासम्म नै पैदलयात्रा गर्दै आएका गुर्जालीलाई यो वर्ष करिब साढे एक घन्टाको पैदलयात्रा छोटिएको छ। मुनादेखि खोरिया हुँदै वडा नं २ को लमसुङ पुगेको सडक लुलाङ गाउँसम्म पुगेको छ। लुलाङदेखि गुर्जा ६ देखि ८ घन्टाको पैदलयात्रा हो। सडक सञ्जाललाई गाउँसम्म नै पुर्याउने हरेक गुर्जालीको सपना बनेको छ। 

यसवर्ष गाउँपालिकाले विनियोजन गरेको ४५ लाख बजेटबाट लुलाङसम्म सडकको ट्र्याक निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले जानकारी दिए। उनका अनुसार उक्त बजेटमध्ये २० लाख बजेटबाट ट्र्याक निर्माण गरिएको हो भने अरू बजेट सडकको संरक्षणका लागि ग्याबिनजाली लगाउने, मेसिनरी पर्खाल बनाउने लगायतको क्षेत्रमा उपयोग गरिएको छ। लमसुङ गाउँको शीरमा भने पहिराको जोखिम कम गर्न एक सय २० मिटर सडक मानिसहरुले नै मेसिन नलगाईकन खनेका हुन्। लमसुङदेखि लुलाङसम्म करिब दुई किलोमिटर दुई सय मिटर सडकको ट्र्याक निर्माण भएको छ। 

गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको ८० लाख बजेटबाट लुलाङदेखि गुर्जातर्फ सडकको ट्र्याक निर्माण गर्न परिचालन गरिने भएको छ। नयाँ ट्र्याकलाई स्तरीय बनाउने र गुर्जालाई सडक सञ्जालले जोड्ने योजनालाई गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताए। ‘प्रदेशबाट आएको बजेटलाई पनि तत्काल कार्यान्वयनमा लैजान्छौं, आगामी वर्ष गाउँपालिका, प्रदेश र संघीय सरकारमार्फत समेत पर्याप्त बजेटको व्यवस्थापन गर्नतर्फ अहिलेदेखि नै प्रयास थालेका छौं। गुर्जामा सडकको पहुँच पुर्‍याउने पालिकाको पूर्वाधार योजनाको मुख्य प्राथमिकतामा छ’, उनले भने। 

लुलाङदेखि गुर्जासम्म सडक सञ्जालको ट्र्याक निर्माण गर्न करिब सात करोडको बजेट अनुमान गरिएको छ। सडकको दूरी छोट्याउन सुरुङमार्गको समेत सम्भाव्यता अध्ययन गरिएको भए पनि लागत बढी लाग्ने भएपछि सडकको ट्र्याक निर्माणलाई नै जोड दिएर योजना सञ्चालन गरिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। योजनाको डिपिआर तयार गर्दा लुलाङदेखि गुर्जासम्मको सडकको दूरी १६ किलोमिटर कायम हुने अनुमान छ। पहाडी भिर हुँदै करिब तीन हजार तीन सय मिटर उचाइको देउराली डाँडा भएर सडक निर्माण गर्नुपर्ने भएकाले सडक निर्माणमा लागत बढी र काम चुनौती पूर्ण मानिएको छ। 

लुलाङ–गुर्जा सडकलाई डोल्पाको दुनैसम्म जोड्ने गरी अघि सारिएको वडाध्यक्ष छन्त्यालले बताए। गुर्जाबाट रुकुमको पुथाउत्तरगंगा गाउँपालिका हुँदै डोल्पाको दुनैसम्म सडक विस्तार गर्न सकेमा कर्णाली–लुम्बिनी–गण्डकी–बागमती प्रदेश जोड्ने छोटो दूरीको राजमार्गकै रुपमा यसलाई विकास गर्न सकिने वडाध्यक्ष छन्त्यालले बताए। ‘गुर्जादेखि डोल्पासम्मको दूरी जम्मा ९० किलोमिटरको रहेको छ, समग्र काठमाडौंदेखि डोल्पासम्म पाँच सय किलोमिटरभन्दा छोटो पर्छ। यो सडक निर्माण गर्दा वातावरणीय रुपमा कम क्षति र पर्यटकीय दृष्टिकोणमा समेत उच्च लाभदायी बन्न सक्छ’, उनले भने। यो योजनालाई धवलागिरि गाउँपालिकाको गाउँसभाले समेत अपनत्व लिएर संघीय र प्रदेश सरकारमा आवश्यक बजेटका लागि योजना माग गरिसकेको छ।    
-कमल खत्री/रासस

प्रकाशित: May 05, 2023| 15:21 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्