काठमाडौं- कोरोना महामारीका कारण गरिएको दुई वर्ष लामो बन्दाबन्दीको असर यतिबेला पनि नेपाली बजार र व्यापारमा परिरहेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय र सरकारका गलत आर्थिक नीतिका कारण अर्थतन्त्रले लय समाउन सकेको छैन।
आर्थिक अवयवका सम्पूर्ण चक्र यतिबेला चिन्ताजनक अवस्थामा पुगेका छन्। लकडाउन खुलेसँगै आ–आफ्नो व्यापार, व्यवसायमा लागेकाहरू पहिलेजस्तो चलायमान आर्थिक अवस्थामा पुग्न सकेका छैनन्। अझ बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध हुँदै ऋणको ब्याजसमेत महँगो भएपछि उद्योग, व्यवसायमा लागेकाहरू झनै मारमा परेका छन्।
विगत केही समयदेखि देशमा बजार, व्यापारको अवस्था चिन्ताजनक छ। संघीय राजधानी रहेको उपत्यकामा समेत पहिलेजस्तो व्यापारिक चहलपहल र खरिद–बिक्री छैन। खाद्यान्न र स्वास्थ्य क्षेत्रबाहेकको व्यापार कोभिडपछिकै सबैभन्दा कमजोर देखिएको छ।
बिक्रीमा पसल
आर्थिक मन्दीकै कारण व्यापार, व्यवसाय गरिरहेकाहरू लगानी उठाउन नसक्दा आफ्नो पुँजीलाई दाउमा राखेर पसल सटर बिक्रीमा रहेको सूचना सटरमा टाँसिरहेको देख्न सकिन्छ। बजार आर्थिक मन्दीको मारमा परेपछि व्यवसाय सञ्चालन हुन नसक्दा भाडा तिर्न गाह्रो भएपछि पसल बिक्रीको सूचना टाँस्नुपर्ने अवस्था आएको बहुसंख्यक पीडित व्यापारीको गुनासो सुनिन्छ। हुन पनि यतिबेला किराना पसल, कपडा पसल, कस्मेटिक पसलदेखि औषधी पसलसम्म बिक्रीमा रहेको सेतो कागजमा लेखेरै सटरमा टाँगिएका छन्। आर्थिक अवस्था चलायमान नहुँदा ठूला तारे होटलदेखि साना होटल, क्याफेलगायत पनि गुल्जार छैनन्।
कोटेश्वरको जडीबुटीमा पुरुष पहिरन पसल बिक्रीमा छ भने नक्सालस्थित भाटभटेनीमा बच्चाको फेन्सी पलस बिक्रीमा रहेको सूचना टाँसिएको छ। नयाँ बानेश्वरको शान्तिनगरमा औषधी पसल बिक्रीमा रहेको छ। माथि उल्लिखित स्थानमा मात्र नभई उपत्यकाका अति व्यस्त चोकमा समेत सटर खाली रहेका सूचना टाँसिएको देखिन्छ।
आर्थिक मन्दीकै कारण पहिले निकै चलेका पसल अहिले बेच्नुपर्ने अवस्था छ। पूर्वी नाकाबाट काठमाडौं छिर्ने स्थान कोटेश्वर चोकमै फेन्सी पसल बिक्रीमा छ भने कलंकीजस्तो सधैं व्यस्त भइरहने ठाउँमा समेत खाजा पसलहरू बिक्रीमा रहेको देखिन्छ।
उपत्यकाको प्रमुख बजार मानिने न्यूरोडमा पनि चहलपहल कम हुँदा र नागरिकको खरिद क्षमता खस्किएपछि व्यापार, व्यवसायमा मन्दी आएको व्यापारीहरू नै बताउँछन्। न्यूरोडका शुभलक्ष्मी फेन्सी पसल सञ्चालक शंकर भारती भन्छन्, यतिबेला व्यापार, व्यवसाय नराम्रो अवस्थामा छ। बजारमा मान्छेको चहलपहल देखिए पनि व्यापार छैन। व्यापार नभएपछि भाडा तिर्न सकिँदैन। यस्तै अवस्था रहे व्यापार, व्यवसाय छाड्नुपर्ने हुन सक्छ।’
विराटनगरमा कपडा पसल चलाएर बसेका भारती लकडाउनपछि व्यापार, व्यवसायलाई बढाउने मनसायका साथ काठमाडौं हानिएका थिए। ६ महिनाअघि मात्रै न्युरोडमा महिनाको ६० हजारमा सटर भाडामा लिएर उनले फेन्सी कपडाको पसल सञ्चालन गर्दै आएका छन्। सुरुमा केही समय राम्रै व्यापार भए पनि आर्थिक मन्दीका कारण व्यवसाय शून्यावस्थामा पुगेको उनको गुनासो छ। उनले भने, ‘गत साउनदेखि व्यापारमा चरम मन्दीको अवस्था छ। दसैं–तिहारपछि व्यापार खासै चलेको छैन। व्यवसायबाट आम्दानी लिन खरिदकर्तासँग आर्थिक अवस्था बलियो हुनुपर्छ। तर अहिले सबैतिर आर्थिक मन्दी देखिएकाले व्यवसायमा गिरावट आएको छ।’
पहिले दैनिक ७० हजारसम्म कमाइ हुने पसलबाट यतिबेला २० हजार उठाउन पनि गाह्रो परिरहेको उनको अनुभव छ। उनले यतिबेला पसलको भाडा तिरेर स्टाफलाई तलब बाँड्दैमा ठिक्क हुने गरेको बताए।
आर्थिक मन्दीले वसन्तपुर दरबार स्क्वायर क्षेत्रको सिंगो व्यापारलाई समेत गाँजेको छ। लामो समयदेखि वसन्तपुर दरबार क्षेत्रमा हेरिटेज पस्मिना पसल सञ्चालन गर्दै आएकी सुष्मा पोखरेल अहिलेजस्तो अवस्था व्यापारमा यसअघि कहिल्यै नभोगेको बताउँछिन्। दैनिक दसौं हजारको पस्मिना बिक्री हुने गरे पनि पछिल्लो समय कुनै दिन १ रुपैयाँसम्म कारोबार नहुने गरेको उनको गुनासो छ।
कोरोना महामारी, अन्तर्राष्ट्रिय द्वन्द्वका कारण आपूर्ति शृंखलामा आएको अवरोध र सरकारका गलत नीतिका कारण आर्थिक मन्दीले पिल्सिएको व्यापार, व्यवसाय चलायमान हुन नसक्दा अर्थतन्त्र मन्दीमा जान सक्ने अवस्था आउन नदिन सरकारी प्रयत्न कमजोर देखिएको अर्थविद्हरूको बुझाइ छ।
‘लकडाउनअघि दैनिक १० हजारको व्यापार सजिलै हुन्थ्यो। यतिखेर २ देखि ३ हजारमा सीमित भएको छ। मन्दीका कारण कुनै दिन त १ रुपैयाँको पनि व्यापार हुँदैन।’ सटरको भाडा ३० हजार रहेको उनी बताउँछिन्। दरबार क्षेत्रको व्यापार यसअघि स्वदेशीकै भरमा चले पनि अहिले आर्थिक मन्दीका कारण सन्नाटा छाएको उनको अनुभव छ। ‘विदेशीले खासै सामान खरिदमा रुचि राख्दैनन्। अहिले नेपालीसँग पैसा नभएरै होला चरम मन्दी लागेको छ। यस्तै अवस्था रहे पसल बेचेर हिँड्नुपर्ने दिन आउँछ।’
ललितपुरको एकान्तकुनामा हार्डवेयरको पसल लामो सयम बिक्रीमा राखेका व्यापारी लोकेन्द्रले अहिले सामान सानो गोदाममा सारेका छन्। पसलको भाडा तिर्न पनि पैसा नउठिरहेको उनले बताए। कोरोनाका कारण २०७७ चैतमा सुरु भएको पहिलो र त्यसपछिको दोस्रो लकडाउनपछि व्यापार ठीकै रहे पनि पछिल्लो तीन–चार महिनादेखि चरम संकट आइलागेको उनको दाबी छ। उनले भने, ‘सानो व्यापारमा बैंकले पनि लगानी गर्न चाहेका छैनन्। बैंकले ब्याज नदिने र दिइहाले पनि महँगो ब्याजदरका कारण थलिनुपर्ने अवस्था छ। व्यापारमा चहलपहल नभएपछि निरुत्साहित हुनुपर्ने अवस्था छ।’
व्यापारी शंकर भारती यतिबेला बजारमा सामान महँगो भएकाले पनि व्यापार घटेको सुनाउँछन्। खाद्यान्नका साथै लत्ताकपडाको भाउ पनि अचाक्ली बढ्दा र नागरिकको खरिद क्षमता कमजोर हुँदा व्यापार सुस्ताएको हुन सक्ने उनको अनुमान छ। उनी भन्छन्, ‘हामी आउँदो दसैं पर्खेर बसेका छौं। दसैं–तिहारले व्यापारलाई चलायमान बनाउन केही हदसम्म मद्दत गर्न सक्छ। यतिबेला हामीले ‘सेल’मा सामान राखेर सटर भाडा तिर्नुपर्ने अवस्था छ। बिक्री नहुँदा व्यवसाय उँभो लाग्ने कुरो पनि भएन।’
आर्थिक स्थिति लकडाउनपछिकै सबैभन्दा कमजोर
राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको आर्थिक वर्ष २०७९–०८० को तथ्यांकअनुसार देशको आर्थिक स्थिति लकडाउनपछि अहिलेसम्मको सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। चालू आर्थिक वर्षको ६ देखि ९ महिने आर्थिक क्षेत्रसँगको यथार्थ आँकडाका आधारमा कुल गार्हस्थ उत्पादन २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान कार्यालयको छ। यो लकडाउनपछिको सबैभन्दा कमजोर हो।
कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ मा ४.४ प्रतिशत रहेको कुल गार्हस्थ उत्पादनको वृद्धिदर आव २०७८-७९ मा वृद्धिदर ५.२६ प्रतिशत रहेको छ। तथ्यांकअनुसार यस वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशतले मात्रै वृद्धि हुने देखिन्छ।
कार्यालयले जारी गरेको तथ्यांकमा यतिबेलाको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव नरहेको उल्लेख छ। युक्रेन युद्धलगायत कारण विश्वव्यापी रुपमा आपूर्ति शृंखला खलबलिएको र पेट्रोलियम पदार्थलगायत वस्तुमा भएको मूल्यवृद्धिको असर नेपालको अर्थतन्त्रमा परेको भनिएको छ।
गलत सरकारी नीतिकै कारण सबै क्षेत्र मारमा
सानादेखि ठूला व्यापार तरलता अभावकै कारण बन्द हुँदै गएको र यसले झनै बेरोजगारी बढाउने अर्थविद्हरू औंल्याउँछन्। अर्थविद् डा. डिल्लीराज खनाल भन्छन्, ‘बजार व्यापारमा यस्तो अवस्था आउनुका पछाडि थुप्रै कारण छन्। लकडाउनपछि मान्छेसँग रकम अभाव छ भने अर्कोतर्फ मालसामानको मूल्य अत्यधिक बढेको छ। विदेशी मुद्राको तरलता अवस्था छ। बैंकले कडा नीति लिएको छ। कडा ब्याजदर दिनुपर्ने डरका कारण व्यापारीहरू ऋण लिन हच्किएका छन्।’
सरकारका गलत नीतिकै कारण सबै वर्ग मारमा परिरहेको अर्थविद् डा. खनालको बुझाइ छ। उनले भने, ‘युवाहरू ठूलो संख्यामा विदेशिन थाले र उत्पादनमा सुस्तता आयो, त्यसमाथि हरेक सामानको मूल्य उच्च राख्दा अर्थतन्त्र खस्कँदै जानेजस्तो विरोधाभाषपूर्ण अवस्था छ। सरकारले पुँजी बढाउने वित्त नीति नलिएकाले संकट बढेको हो। सरकारले आर्थिक मन्दीको अवस्थालाई सम्बोधन गर्नुपर्छ।’
सरकारले मूल्य नियन्त्रण गरेर नागरिकले पाउँदै आएको सास्ती हटाउन सक्नुपर्ने उनको सुझाव छ। ‘रोजागार नीति, उद्यमशीलता, र क्षमता विकास कसरी गर्नेतिर भन्नेमा सरकारको ध्यान गएको देखिँदैन। सरकारसँग पँुजीगत खर्च बढाउने, सहज कर्जा प्रवाह कसरी गर्ने भन्ने विषयमा नीति बनाएर अगाडि बढ्नुको विकल्प छैन। त्यसो नगरिए देशमा आर्थिक रुपमा संकटपूर्ण अवस्था आउन सक्छ’, अर्थविद् खनालले भने।
तथ्यांक कार्यालयले आर्थिक वृद्धिदरबारे गरेको अनुमान हेर्दा मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा नरहेकै बुझ्न सकिन्छ। यसको अर्थ आगामी वर्षको बजेट निर्माण गर्दा विशेष ध्यान दिन आवश्यक छ। त्यो भनेको लोकप्रिय बजेट ल्याउने नाममा वितरणमुखी र अनुत्पादक कार्यक्रम घोषणा गरिनु हुँदैन। उद्योग, व्यवसाय क्षेत्र र नागरिकका अपेक्षाविपरीत आगामी बजेट ल्याइए अर्थतन्त्र उल्टो बाटोमा हिँडेर आर्थिक मन्दीलाई झनै नजिक ल्याउन सक्ने अर्थविद् डा. खनालको चेतावनी छ।