काठमाडौंको कपनमा किराना पसल गरी बस्ने निरू पाण्डे आचार्यको हत्या भएको १० दिनपछि प्रहरीले एकजना अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ। बागलुङ घर भएकी निरुको हत्यामा संलग्न विनोद विश्वकर्मा झापाबाट पक्राउ परेका हुन्।
यही वैशाख ७ गते कपन सरस्वतीनगरमा दिउँसो पौने ४ बजेतिर पसलभित्रै छिरेर अज्ञात व्यक्तिले निरु पाण्डे आचार्यको हत्या गरेको थियो। धारिलो हतियारबाट घाइते भएकी निरुलाई शिक्षण अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको थियो।
प्रहरीले हत्यारालाई समात्न नसकेको भन्दै आफन्तले दैनिकजसो आन्दोलन गर्दै आएका थिए। आइतबार प्रहरीले झापामा पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरेको छ। पक्राउ परेका विक भक्तपुरको लोकन्थलीमा बस्ने बाउन्सर हुन्। निरुले घाँटीमा लगाएको सुनको सिक्री लुट्नका लागि विकले उनीमाथि आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले घटनाको प्रमाणका रुपमा सीसीटीभी फुटेजका केही दृश्यसमेत सार्वजनिक गरेको छ, जसमा अपराधीले प्रयोग गरेको झोला, जुत्ता र रगत लागेको पोसाकसमेत छन्।
कसरी भयो घटना?
प्रहरीका अनुसार वैशाख ७ गते दिउँसो दुई बजे निरुको पसल ‘निरु किचेन’ मा विनोद विक सामान किन्ने निहुँमा प्रवेश गरे। तर, पसलमा अन्य मानिसहरु आएकाले एटीएमबाट पैसा निकालेर आउँछु भन्दै बाहिरिए। विकको उद्देश्य निरुको घाँटीमा लगाएको सुनको सिक्री लुट्ने थियो। २ बजेर ४४ मिनेटमा उनी फेरि पसलमा आए। सामान किन्ने निहुँमा पसलभित्र छिरे र निरुलाई आक्रमण गरी सुनको सिक्री र काउन्टरमा रहेको १२-१३ सय रुपैयाँसमेत लिएर पसलबाट निस्किए।
विक तीन बजे भित्री बाटोबाट रफ्तार फुटसल हुँदै गोपीकृष्ण हल नजिकै पुगेर टेम्पु चढेर बाटो लागे। ३ बजेर १५ मिनेटमा चाबहिल चोकस्थित एसी कम्प्लेक्सअगाडि ट्याम्पुबाट झरेर मोटरसाइकल चढे। १० मिनेटपछि जडीबुटी चोकमा पुगेर अर्को मोटरसाइकल चढेर लोकन्थली आँखा अस्पताल नजिक पुगे। त्यहाँ उनले फ्रुटी किनेर खाए। साँझ ६ बजे सोही एरियामा गाउँको भाइको डेरामा पुगेर बास बसे।
वैशाख ७ देखि ११ गतेसम्मको उनको गतिविधि प्रहरीको रेकर्डमा छैन। तर, वैशाख १२ गते उनी काठमाडौंको तारकेश्वरस्थित हिलेटोलको पाथीभरा सुनचाँदी पसलमा निरुबाट लुटेको सिक्री लिएर पुगेको तथ्य प्रहरीले फेला पारेको छ। विनोदले त्यहाँ ९८ लालको सिक्री ५५ हजारमा धरौटी राखे। बिल विनोद रसाइलीका नाममा बनाउन लगाए। पैसा लिएर उनी वैशाख १३ गते बनेपा-बर्दिबासको बाटो हुँदै झापातिर लागे।
प्रहरीका अनुसार ३५ वर्षीय विनोद झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ निवासी हुन्। हाल उनको घर वडा नम्बर १० मा छ भने अस्थायी बसोबास भक्तपुर नगरपालिका-१ लोकन्थलीमा। भाइब्रेन्ट नामक क्लबमा बाउन्सरको काम गर्ने उनी शनिबार राति १० बजे झापाको बिर्तामोडबाट इलामतर्फ जाने बसपार्कमा समातिएका हुन्। पक्राउ परेलगत्तै प्रहरीले उनलाई काठमाडौं ल्याएर सार्वजनिक गरेको छ।