बिहीबार, भदौ ४, २०८३

ताँजकोटका १२ सय घरधुरी विद्युत‍्को पहुँचमा

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

हुम्ला- ताँजकोट गाउँपालिकाका एक हजार दुई सय घरधुरी विद्युत्को पहुँचमा पुगेका छन्। टुकी बाल्दै आएका स्थानीयका लागि विद्युत् आयोजना र सोलार मिनिग्रिट निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युुतीकरणको पहुँचमा जोडिएका हुन्। 

ताँजकोटमा भएका कूल एक हजार दुई सय घरधुरी पूर्णरूपमा विद्युतिकरणको पहुँचमा जोडिएका हुन्। जिल्लाका सात स्थानीय तहमध्ये सिङ्गो गाउँपालिकामा विद्युतीकरण भएको ताँजाकोट पहिलो भएको छ। गाउँपालिकामा एउटा विद्युत् आयोजना र चार स्थानमा सोलार मिनिग्रिट निर्माण भएर विद्युत उत्पादन भई आपूर्ति भएपछि सिङ्गो गाउँपालिकामा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए।

 त्यसमा आठ सय ५० घुरधुरी जलविद्युुत्को पहुँचमा जोडिएको र तीन सय ५० घरधुरी सोलारको विद्युुत्मा जोडिएका हुन्। रु आठ करोड लागतमा कर्पुखोला जलविद्युत् आयोजनाको एक सय १० किलोवाट विद्युत् उत्पादन भएको छ भने रु आठ करोड १६ लाख लागतमा चार स्थान गोठेलवाडा, ची, मदाना र सिरुपाटामा स्थापना भएका सोलार मिनिग्रिडबाट एक सय २५ किलोवाट विद्युत् उत्पादन हुँदै आएको छ।
  
त्यसैगरी वडा नम्बर १ र ३ मा सोलार वितरण गरिएको छ। उत्पादित विद्युत्ले गाउँपालिकाका सबै घरधुरीमा चौबिसै घण्टा विद्युत् प्रयोग गर्न सेवाग्राहीलाई सहज भएको छ। पहिले सल्लाको दियालो बाल्दै आएका स्थानीयलाई विद्युत् आयोजना निर्माण भएर सञ्चालनमा आएपछि सहज भएको छ। विद्युत् आपूर्ति भएपछि फर्निचरलगायत उद्योगसमेत स्थापना भएर सञ्चालनमा आएका छन्।

प्रकाशित: Apr 30, 2023| 22:32 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्