बिहीबार, भदौ ४, २०८३

मिटरब्याज समर्थकलाई पनि कारबाही : गृहमन्त्री नारायणकाजी

मिटरब्याजी साहूलाई कुनै पार्टी विशेषको चिनारी दिएर नेता, पहुँचवाला व्यक्ति वा कसैले पीडकको पक्षमा भूमिका खेल्न खोजे कारबाही गरिने गृहमन्त्रीको चेतावनी।
 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजबाट सर्वसाधारणको उठिबास बनाउनेको समर्थन गर्ने जोसुकैमाथि पनि कारबाही गरिने बताएका छन्।

आइतबार जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय र पीडकलाई सजाय दिएरै छाडिने प्रद्धिबद्धता व्यक्त गरेका हुन्।

उनले भने, ‘पीडित पीडितै हो। मिटरब्याजी साहू कुनै पार्टीको हो भनेर पनि सरकारले चिन्दैन। कुनै पार्टीका नेता, पहुँचवाला व्यक्ति वा कसैले मिटरब्याजी पीडकको पक्षमा भूमिका खेल्न खोजे तिनलाई पनि कारबाहीको दायरामा ल्याइनेछ।’

मिटरब्याज पीडितलाई न्याय दिन सरकारले चालेका कदमलाई नागरिक स्तरबाट समर्थन रहेकाले सर्वसाधारणलाई घरबारविहीन बनाउनेमाथि कडा कारबाही गरिने चेतावनी उनले दिए।

तराई/मधेसमा गरिब विपन्न तथा सर्वसाधारण मिटरब्जायी साहूको आतंकमा परेपछि पैदल यात्रामार्फत काठमाडौं आएका पीडितसँग सरकारले सम्झौता गरेपछि तीन सदस्यीय आयोग गठन भएको थियो। 

आयोग अध्यक्षमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की, सदस्यमा पूर्वएआईजी उत्तमराज सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबहादुर अर्याल छन्।

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पीडितसँग उजुरी आह्वान आह्वान गरिसकेको छ। पीडितले ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सक्ने सुविधा छ।

उजुरीलाई व्यवस्थित गर्न सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ।आयोगको कार्यालय धनुषा जिल्ला हुलाक कार्यालयको नवनिर्मित भवनमा स्थापना गरिएको छ।

प्रकाशित: Apr 30, 2023| 13:39 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्