बिहीबार, भदौ ४, २०८३

यसपटक किन बैंस आएन गुराँसलाई ?

धेरैको मनमा एउटै जिज्ञासा पाइन्छ, चैत-वैशाखमा ढकमक्क फुल्ने गुराँसलाई यस वर्ष किन बैंस नआएको होला ?
 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

फुङ्लिङ- चैत–वैशाख महिना वनपाखामा ढकमक फूलेर राताम्य हुनु गुराँसको विशेषता नै हो। त्यसैले त अरु फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन सकेको छ। अस्तित्व राख्न सफल भएको हुनसक्छ। तर अहिले ठिङ्रिङ उभिएको देख्दा कति लाज लागेको होला ? धेरैको मनमा एउटै जिज्ञासा पाइन्छ, चैत–वैशाख ढकमक फुल्ने गुराँसलाई यस वर्ष किन बैंस नआएको होला ? 

पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ। तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल छ। किन कि अरु रुखभन्दा त्यति भिन्नता देखिँदैन। पाथीभरा मन्दिरमा प्रत्येक दिन पूजापाठ गर्न जाने आउने तीर्थयात्री एकैछिन उभिएर यसो हेर्ने गर्दछन्। अनि भन्ने गर्दछन्– यसपटक गुराँस किन फुलेन ?' 

विगतको समयमा पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगुराँसका फूलले सजिएको हुन्थ्यो। पाथीभरा क्षेत्रका वनपाखा रङ्गिन बन्थ्यो। लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दथ्र्यो। गुराँसका रुख छन् तर तिनमा फूल लागेको छैन। 

विगतका वर्षमा पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यको अवलोकन गर्न ठूलो सङ्ख्यामा तीर्थयात्री आउने गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउँछन्।नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने समितिले जनाएको छ। 

पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ। तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल छ। किन कि अरु रुखभन्दा त्यति भिन्नता देखिँदैन।

सिदिङवा गाउँपालिका–४ साब्लाखुकी फूलमाया लिम्बूलाई पाथीभरा दर्शनसँगै पदमार्गको दायाँबायाँ फुलेको गुराँसको आनन्द लिने पनि धोको थियो। उनका ती रङ्गीन सोच लामो समय टिक्न सकेन। उनले बाटोमा कतै गुराँस फुलेको देख्न पाइनन्। किन गुराँस फुलेन ?' लिम्बूको प्रश्न छ। 'गुराँस फूलेको हेर्न पाइन्छ भने आइयो तर गुराँस फुलेको रहेनछ।' त्यस्तै गुराँस हेर्नका लागि पाथीभरा आएका सप्तरीका शिव यादवको मन पनि खिन्न भयो। गुराँस तस्बिरमा मात्रै देखेका उनले भने, 'ढकमक्क गुराँस फूलेको हेर्ने इच्छा पूरा भएन।'

जलवायु परिवर्तन कारणले गुराँस फुल्न नसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका वन संरक्षक दिपेन्द्र पोखरेल बताउँछन्। यस वर्ष विगतको जस्तो असोजदेखि खासै वर्षा हुन सकेन। हिमाली भेगहरुमा हिमपात नभई हिउँ पर्ने समय गएको छ। विगतमा चाँदी जस्तै सेताम्य हुने हिमालहरु कोलो चट्टान जस्तै देखिन थालेका छन्। हिउँ पग्लेर हिमरेखाभन्दा माथि जान थालेको पोखरेलले बताए।

वनस्पतिविद् विजया पन्त जमिनमा पानीको मात्रा कम भएकाले यसपालि गुराँस नफुलेको हुनसक्ने बताउँछिन्। उनले भनिन्, 'पानीलाई सोसेर गुराँस फुल्ने भएकाले फुल्नु अघि पानी नपर्दा गुराँस फुल्न सकेन।' उनका अुसार सुक्खा हुनेबित्तिकै सुक्ष्म जीवाणु र ढुसीले माटो मलिलो र रसिलो बनाउने प्रक्रिया बन्द हुने भएकाले कोपिला लागे पनि गुराँसको फूल फक्रिन नसकेको हुनुपर्छ।  

पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ। यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन्। यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन्। यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजातिसमेत रहेका छन्।

हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ। फागुनदेखि जेठसम्म गुराँस फुल्छ। गुराँसलाई विम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन्। यतिबेला सामाजिक सञ्जालमा गुराँस छेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा स्युरिएका तस्बिर बढी लोकप्रिय हुन्छन्। पाथीभरा जानेहरु देउतालाई गुराँस चढाउँछन्। 

पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ।

नेपालमा छ हजार मिटरको उचाइमा गुराँस पाइन्छ। वन तथा वातावरण मन्त्रालयको वन तथा भू–संरक्षण विभागले प्रकाशित गरेको गुराँस संरक्षण कार्ययोजना २०७५–२०८०' मा मेची–महाकालीसम्म ४३ जिल्लामा धेरै प्रजातिका गुराँस पाइने उल्लेख छ। छ लाख ९१ हजार पाँच सय ९६ हेक्टर अर्थात् कूल वनको १० प्रतिशत क्षेत्रमा गुराँस पाइन्छ। प्रदेशमा टिएमजे (तिनजुरे, मिल्के र जलजले), ताप्लेजुङको पाथीभरा क्षेत्र, पाँचथरका छिन्तापु–सुकेपोखरी र च्याङ्थापु, इलाम, सोलुखुम्बु, खोटाङ, धनकुटाका गाउँ गुराँसका लागि चर्चित छन्। बाग्मती प्रदेशका दामन–सिमभञ्ज्याङ र रसुवामा गुराँस पाइन्छ। गण्डकी प्रदेशका कास्की, घोडेपानी, लमजुङ, म्याग्दी गुराँसका लागि निकै चर्चित छन्।

कर्णाली प्रदेशको रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला र दैलेखमा गुराँस पाइन्छ। सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेल्धुरा, बैतडी लगायत क्षेत्र गुराँसका चर्चित छन्। नेपालका ४३ वटै जिल्लामा गुराँस पाइने विभागले जानएको छ। गुराँस संरक्षण कार्ययोजनामा एसिया, उत्तर अमेरिका, युरोप र अस्ट्रेलिया महादेशमा गुराँस पाइन्छ। गुराँस पाइने कुल क्षेत्रफलको ९० प्रतिशत नेपाल, चीन, भारत, भूटान, म्यानमार, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया र फिलिपिन्सले ओगटेका छन्। हिमाली तथा पहाडी क्षेत्रमा कतै गुराँसकै जङ्गल, कतै मिश्रित जङ्गल पाइन्छन्। 

‘कञ्चनजङ्घा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू नामक’ पुस्तकका अनुसन्धानकर्ता तथा लेखक डा यादव उप्रेतीका अनुसार गुराँसको प्रचुरता पूर्वी हिमालय र मलाया दीप समूहमा अत्यधिक देख्न सकिन्छ। उप्रेती चीनको युनान प्रान्तमा दुई सय ५०, भारतको अरुणाचलमा ७५, सिक्खिममा ३६, भूटानमा ४६ र नेपालमा ३३ प्रजातिको गुराँस पाइने बताउँछन्। 

नेपालमा छ हजार मिटरको उचाइमा गुराँस पाइन्छ। वन तथा वातावरण मन्त्रालयको वन तथा भू–संरक्षण विभागले प्रकाशित गरेको गुराँस संरक्षण कार्ययोजना २०७५–२०८०' मा मेची–महाकालीसम्म ४३ जिल्लामा धेरै प्रजातिका गुराँस पाइने उल्लेख छ।

गुराँसप्रतिको आकर्षण एकातिर छ भने यसको जैविक तथा पर्या–पर्यटकीय महत्व पनि उत्तिकै छ। गुराँसले वनको शोभा बढाउने र पर्यटक आकर्षित गरेको जैविक विविधतामा लामो समयदेखि काम गर्दै आएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राई बताउँछन्। 'गुराँसलाई पर्यटनसँग जोड्नुपर्छ', राईले भने, 'विकास निर्माण तथा विभिन्न अतिक्रमणका कारण गुराँस वन क्षेत्र घट्दै गएको छ। यसलाई जोगाउन गुराँससम्बन्धी थप अध्ययन र अनुसन्धान आवश्यक छ।' 

नेपालमा पहिलोपटक गुराँस लगायतको नुमना र बीउ सङ्कलन स्कटल्यान्डका वनस्पति विज्ञ फ्रान्सिस बुखानन हामिल्टले गरेका थिए। सन् १८०२ देखि १८०३ सम्म नेपालमै बसेर गुराँसको नुमना सङ्कलन गरेका थिए। त्यस्तै, गुराँस अध्ययनकै सिलसिलामा वनस्पतिविज्ञ जेडी हुकरले सन् १८४८ नोपलका पूर्वी पहाडी क्षेत्रको भ्रमण गरेका थिए। पछिल्लो समयमा गुराँस मासिने क्रम बढ्दै गएकामा स्थानीय तथा संरक्षण अभियानका अगुवा चिन्तित छन्। सडक निर्माण, विद्युत् प्रसारण लाइन विस्तारका कारण गुराँसका रूख मासिने क्रम बढेको छ। त्यसो त दाउरालगायत प्रयोजनका लागि गुराँस वन फँडानी भएको छ। 

विकास निर्माणका क्रममा गुराँसका रूख जोगाउनुपर्ने आवाज उठाउन थालिएको छ। कोसी करिडोरअन्तर्गत विद्युत् प्रसारण लाइनमा टिएमजे क्षेत्रमा सात हजार छ सय २९ गुराँसका रूख हटाउनुपर्ने बताइएको छ। 'नेपालमा गुराँस क्षेत्रबारे थप अध्ययन, अनुसन्धान हुन आवश्यक छ। गुराँसलाई पर्या–पर्यटनसँग जोड्न धेरै काम गर्न बाँकी छ', उप्रेतीले भने।

गुराँसप्रतिको आकर्षण एकातिर छ भने यसको जैविक तथा पर्या–पर्यटकीय महत्व पनि उत्तिकै छ।

यतिबेला पाँचथर सुखेपोखरीका महिला गुराँस टिपेर जोहो गर्छन्। उनीहरूले गुराँसबाट पेय पदार्थ बनाउँदै आएका छन्। गुराँस जोहो गर्ने अस्मिता वान्तवाले भनिन्, 'भुइँमा झरेका गुराँस बटुलेर पेय पदार्थ बनाउँछौँ।' केही वर्षयता गुराँसबाट पेय पदार्थ बनाउँदै आएको वान्तवाको भनाइ छ। उनले भनिन्, 'गुराँसबाट बन्ने पेपदार्थको माग धेरै छ, तर मागअनुसारको उत्पादन गर्न सकिएको छैन।' 

गुराँस फुल्ने क्षेत्रका मानिस हरेक वर्ष देउतालाई गुराँस चढाउँछन्, औषधिका रूपमा गुराँसको जोहो गर्छन्। घाँटीमा खानेकुरा अड्किँदा गुराँस खुवाउनुपर्ने जनविश्वास रहिआएको छ। अचार, सर्बत र रक्सी बनाउन पनि गुराँस उपयोगी हुन्छ। गुराँसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ। अचार, सर्बत र रक्सी बनाउन पनि यो झनै उपयोगी हुन्छ।

नेपाल भूभागभित्र सयपत्री, मखमलीजस्ता सयौँथरि फूल छन्। गुराँसभित्रै अनेकौँ प्रजाति छन् तर लालिगुराँसलाई नै किन राष्ट्रिय फूल बनाइयो ? गुराँसलाई राष्ट्रिय फुलको मान्यता दिनका लागि वनस्पति विभागका तत्कालीन वरिष्ठ वनस्पतिविद् प्रयागराज पाण्डे नेतृत्वको टोलीले दरवारलाई सुझाव दिएको थियो। मुलुकको पूर्वदेखि सुदूरपश्चिमका विभिन्न ४३ जिल्लाकामध्ये तथा उच्च पहाडी भेगमा गुराँस पाइन्छ। 

गुराँस फुल्ने क्षेत्रका मानिस हरेक वर्ष देउतालाई गुराँस चढाउँछन्, औषधिका रूपमा गुराँसको जोहो गर्छन्। घाँटीमा खानेकुरा अड्किँदा गुराँस खुवाउनुपर्ने जनविश्वास रहिआएको छ।

मेचीदेखि महाकालीसम्म लालिगुराँस पाइने भएकाले यस वनस्पतिलाई राष्ट्रिय पहिचानका लागि सिफारिस गरिएको थियो। विसं २०१९ पुस १ गते जारी संविधानले राष्ट्रिय जनावर, पन्छी, फूल, झण्डा, रङसहित अन्य राष्ट्रिय पहिचान सूचीकृत गरेपछि लालीगुराँसको परिचय फराकिलो बन्न पुगेको वनस्पतिविद् डा तीर्थबहादुर श्रेष्ठको भनाइ रहेको छ। 

नेपालको कूल वन क्षेत्रको करिब १० प्रतिशत भेग गुराँसका प्रजाति पाइने मिश्रित जङ्गलले रहेको र यस्तो जङ्गलले करिब छ लाख ९२ हजार हेक्टर क्षेत्रफल ओगटेको वन तथा वातावरण मन्त्रालयको अभिलेख छ।

ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुमको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे)मा सबैभन्दा धेरै २८ प्रजातिका गुराँस पाइने भएकाले सो भेगले गुराँसको राजधानीको उपमा पाएको छ। सरकारले वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५३ अनुसार टिएमजे गुराँस संरक्षण क्षेत्र घोषणा गर्यो। नेपालको वन नीति २०७१, वन क्षेत्रको रणनीति, २०७२ र राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजनाअनुसार पाँच वर्षे गुराँस संरक्षण कार्ययोजना (२०७५–२०८०) तयार भएको छ। त्यसअघि नेपाल जैविक रणनीति कार्यान्वयन योजना (२०६३–२०६७) ले टिएमजेलाई मुलुकका प्राथमिकता क्षेत्रमध्येको एक क्षेत्रका रुपमा पहिचान गरेको थियो।
- दिलकुमार लिम्बू/रासस
 

प्रकाशित: Apr 30, 2023| 13:39 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्