काठमाडौं- काठमाडौं महानगरपालिकाले सडकमा अव्यवस्थित तार हटाउन सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिने समय दिएको छ।
एक सूचना जारी गर्दै महानगरले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो।
महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघसंस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएर तथा लत्रिएर सडकमा छरिएका तार आफैँ हटाउन र आवश्यक तारलाई संकेत चिन्ह लगाउन निर्देशन दिएको छ।
महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैंले हटाउने चेतावनी दिएको छ। अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ।