बिहीबार, भदौ ४, २०८३

एनआरएनएको क्षेत्रीय सम्मेलन क्यानडामा हुँदै

मे महिनाको अन्तिममा गैर आवासीय नेपाली सङ्घ अमेरीकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ।
 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- मे महिनाको अन्तिममा गैर आवासीय नेपाली सङ्घ अमेरीकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ।

गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका र ग्लोबल गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् क्यानडाको संयुक्त आयोजनामा मे २७ र २८ मा क्षेत्रीय सम्मेलन हुन लागेको हो। सोमबार भर्चुअल पत्रकार सम्मेलनमार्फत अमेरिकाज क्षेत्रीय सम्मेलनको जानकारी दिइएको हो।

सम्मेलनका क्षेत्रीय संयोजक कृष्ण पोखरेलले सम्मेलनमा नेपालको आर्थिक विकास र सामाजिक समृद्धिमा गैर आवासीय नेपाली सङ्घको भूमिका भन्ने मूल विषयवस्तु अन्तर्गत गैर आवासीय नेपालीहरूको हित र सरोकारहरूसँग सम्बन्धित महत्त्वपूर्ण सवालहरूमा छलफल हुने जानकारी दिए। उनले भने, ‘समग्र नेपालको विकास र सामाजिक समृद्धिमा उनीहरूको योगदानलाई प्रवर्द्धन गर्न एनआरएनको भूमिकालाई थप सशक्त र प्रभावकारी बनाउने उद्देश्य राखेको छौँ।’

‘सम्मेलनमा नेपालको ऊर्जा सङ्कट समाधानका लागि ग्रिन हाइड्रोजन उत्पादन तथा खपत: लगानीका अवसर र सम्भावनाहरू, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैर आवासीय नेपालीहरूमा रहेको ज्ञान, सीप, पुजी तथा प्रविधिको हस्तान्तरण, गैर आवासीय नेपालीहरूको लागि दोहोरा नागरिकता कानुनको आवश्यकता र अविलम्ब कार्यान्वयनका लागि नेपाल सरकारको दायित्व, गैर आवासीय नेपाली सङ्घको सङ्गठनात्मक विकास र आगामी रणनीति तथा समतामूलक र सामाजिक न्यायपूर्ण समाजका लागि गैर आवासीय नेपालीहरूले खेल्नु पर्ने भूमिका सवालहरूमा छलफल र बहस केन्द्रित हुनेछ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा उल्लेख छ।

संयोजक पोखरेलले एनआरएनएबीच बृहत्तर एकताका लागि सम्मेलन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। त्यस्तै एनआरएनए क्यानडा अध्यक्ष अञ्जनी भट्टराईले नेपालको समृद्धिमा विदेशमा रहेका नेपालीको योगदानलाई प्रभावकारी बनाउने विषयमा सम्मेलनमा छलफल हुने बताए।

त्यस्तै अमेरिका अध्यक्ष डा सूर्य लम्सालले सम्मेलनलाई उपलब्धिमूलक बनाउने गरी तयारी भइरहेको जनाए। ‘सम्मेलन केवल सम्मेलनका लागि मात्रै नहोस् भन्नेमा हामी सचेत छौँ। उपलब्धिमूलक कसरी बनाउन सकिन्छ भन्नेमा हामी बढी केन्द्रित छौँ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल र विदेशमा रहेका नेपालीको हितका पक्षमा एनआरएनको भूमिकालाई प्रभावकारी बनाउनेबारे सम्मेलनमा छलफल हुनेछ।’

साथै सम्मेलनले विश्वभर स्थापित र कार्यरत गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदहरुलाई प्रभावकारीरुपमा कार्य गर्नका लागि मार्गदर्शन तथा कार्यदिशा प्रदान गर्ने विश्वास लिएको छ।

प्रकाशित: Apr 25, 2023| 10:38 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्