बंगालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जनाको शव फेला परेको छ।
कक्स बजार सदर पुलिस कार्यालयका इन्चार्ज रफिकुल इस्लामले पत्रकारहरूलाई बताएअनुसार माछा मार्ने डुंगाको शीत भण्डारभित्र शव फेला परेका थिए। सबैको हातखुट्टा बाँधिएको प्रहरीले जनाएको छ।
स्थानीय डुंगा चालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुंगा तैरिरहेको देखेपछि त्यसलाई किनारामा तानेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेका थिए। उनीहरूले अर्ध–सडेगलेका शवहरू फेला पारेका तर शवको पहिचान हुन सकेको छैन।
लुटेराहरूको गिरोहले कम्तीमा १० देखि १२ दिनअघि मछुवाहरूलाई आक्रमण गरेर मारेको हुन सक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन्।
- रासस