सर्लाही- सर्लाही प्रहरीले जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गर्न सफल भएको छ। हरिवन नगरपालिका–१ अत्रौलीका ४४ बर्षीय रामपुकार महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
दुई दशक अघि एक महिलालाई जबर्जस्ती करणी गरेको अदालतबाट ठहर भइसकेका महतोलाई ५ वर्षको सजाय तोकिएको छ। तर महतो लामो समयदेखि फरार रहेका थिए। गोप्य सूचनाका आधारमा महतोलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
जिल्ला प्रहरीको तथ्यांक अनुसार यस आर्थिक वर्षमा अनुसन्धानको क्रममा २ सय १३ प्रतिवादी पक्राउ परेका छन्। यस्तै, अदालतबाट फैसला भइ फरार रहेका ३ सय १ जना गरी जम्मा ५ सय १४ जना प्रतिवादी पक्राउ गरिएको छ।