काठमाडौं- भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइएको छ।
यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएका छन्। युवाहरूले नै संस्कृति बचाउनुपर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाएको श्रेष्ठले बताएका छन्।
गत वर्ष नवौं पटक जिब्रो छेडाएका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् सुजन। कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए।
जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघि देखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ। जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ।