काठमाडौं- शुक्रबार नयाँ वर्षको दिन। नयाँ वर्षकै अवसर पारेर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ बस्ने बालुवाटार गैरीधारास्थित घरमा पनि शुक्रबार साझ रमाइलो चलिरहेको थियो।
वर्षमान उपचारका सिलसिलामा देशबाहिर छन्। काठमाडौंमा रहेका आफन्तहरूलाई भेला पारेर उनका परिवारका सदस्यले रमाइलो गरिरहेका थिए। तर, सोही भेलामा प्रहरीले बोकेको हतियारबाट गोली चल्यो र वर्षमानकी आमा तिर्थमाली घाइते भइन्।
७४ वर्षीया तीर्थमालीलाई गोली लागेपछि उनी लडिन्। घटनालगत्तै उनलाई वीर अस्पतालको ट्रमा सेन्टर लगियो। अहिले उनको त्यहाँ उपचार भइरहेको छ। चिकित्सकलाई उदृत गर्दै प्रहरीले तिर्थमाली खतरामुक्त रहेको जनाएको छ।
नाताले नाती पर्ने प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोलबाट निस्केको गोलीले तीर्थमालीको देव्रे खुट्टा छेडेको प्रहरीको भनाइ छ। प्रहरीमा घटनाको जानकारी राति साँढे २ बजे मात्रै आएको र पुनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालय नक्सालमा राखेको छ।
प्रहरीले उक्त घटनालाई ‘एक्सिडेन्ट्ली' भएको जनाएको छ। न्यायाधीशको सुरक्षामा खटिएका ती प्रहरी सहायक हवल्दार वर्षमानकी आमाले बोलाउँदा कार्यक्रममा सहभागी भएका थिए।
नयाँ वर्षको कार्यक्रम सकेर राति अबेर करिव १० बजेतिर घर फर्किने बेला त्यहाँ उपस्थितहरूले यति राति घर कसरी जान्छौं भनेर सोध्दा उनले आफूसँग भएको हतियार (पेस्तोल) निकालेको र सोही क्रममा अचानक गोली चलेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ।
पेस्तोलधारी पुनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।