शनिबार, भदौ ६, २०८३

सिराहामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

सिराहा- सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। गोलबजार नपा १ लडाडामा लागेको मेलामा शुक्रवार राति नाच हेर्न गएको बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो।

साथीहरूसँग नाच हेर्न गएको वेला गोलबजार नपा १ कै गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको हुनसक्ने वडा नम्बर ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए।

घटना लगतै पुगेका प्रहरी सहितले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर डुपेन्द्र प्रसाद बुढाथोकीले जानकारी दिए। अहिले हात्ती पूर्वतर्फ गएको भन्ने जानकारी गाएको इन्स्पेक्टर बुढाथोकी जानकारी  दिए। 

हात्तीले पटक–पटक यस क्षेत्रमा मान्छेमाथि हमला गरेकाले यसलाई नियन्त्रण गर्न वन र राष्ट्रिय निकुञ्जसँग समन्वय गर्ने कार्य भइरहेको उनले बताए। 

शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लहान लगिएको छ।

यस अघि पनि गत फागुन २३ गते गोलबजार नपा ३ जमदह पुरानोडिहका २२ वर्षीय देव प्रसाद सदाको हात्ती आक्रमणबाट मृत्यु भएको थियो। 

होलिका दिन भएकाले साथीहरूसँग गाउँ नजिकैको जङ्गलमा घुम्न गएको बेला हात्ती आक्रमणबाट घाइते भएका सदाको उपचारको क्रममा मृत्यु भएको थियो। 

प्रकाशित: Apr 15, 2023| 10:35 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्