शनिबार, भदौ ६, २०८३

काभ्रेको साँगा र श्रीखण्डपुरमा बिस्काः जात्रा

बिस्काः जात्रा भक्तपुरसहित नेपालका आठ स्थानमा आफ्नै किसिमले मनाउँदै आइएको बताइन्छ। साँगाको बिस्काः जात्रा ‘एक दिने राजा’ को किंवदन्ती कथामा आधारित भएको स्थानीयवासी बताउँछन्।
 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपास्थित साँगा र धुलिखेलको श्रीखण्डपुरमा बिस्काः जात्रा चलिरहेको छ। नव वर्षको सुरुआतसँगै सुरु हुने उक्त जात्रा हजारौँ वर्षदेखि स्थान विशेष मौलिकतामा मनाउँदै आइएको छ। बिहीबारदेखि सुरु भएको जात्रा पाँच दिनसम्म चल्ने स्थानीयवासी बताउँछन्।

बिस्काः जात्रा भक्तपुरसहित नेपालका आठ स्थानमा आफ्नै किसिमले मनाउँदै आइएको बताइन्छ। साँगाको बिस्काः जात्रा ‘एक दिने राजा’ को किंवदन्ती कथामा आधारित भएको स्थानीयवासी बताउँछन्। किंवदन्तीअनुसार परापूर्वकालमा रानीसँग बसेको राजा भोलिपल्ट मृत्यु हुने हुँदा ती रानीका लागि हरेक दिन नयाँ राजाको खोजी गर्नुपर्ने अवस्था सिर्जित भएको थियो।

त्यस क्रम धेरै दिन चलिरहेपछि सहरमा युवा केटा खोज्नुपर्ने अवस्था आएपछि एक दिन राजा बन्न लागेका एक वीर पुरुष युवाले रानीसँग बस्ने राजाको मृत्युको कारण पत्ता लगाउन नसुति जाग्राम बसेका रहेछन्। राति रानीको नाकबाट सानो ९बि० सर्प निस्केर त्यो सर्प ठूलो भएर राजालाई डसेर मार्ने गरेको कारण पत्ता लगाए। ती युवा राजाले त्यो सर्पलाई तरबारले टुक्रा टुक्रा पारेर मारेपछि सधैँको राजा छान्ने काम र राजाको मृत्युको परिस्थितिबाट मुक्त भएर सो व्यक्ति नै सधैँको राजा भएको हुँदा सोही खुसियालीमा राजा र प्रजा मिलेर बिस्काः जात्रा मनाउने चलन चल्दै आएको बताइन्छ।

स्थानीय जात्रासम्बन्धी जानकार जयदेश श्रेष्ठका अनुसार स्थानीयवासीद्वारा बाजागाजा बजाएर आवश्यक रथ सिङ्गार्दै साँगामा आफ्नै किसिमको मौलिक जात्रा मनाइने गरिएको हो। विशेषतः साँगामा बिस्काः जात्राका लागि विक्रम सम्वत्को अन्तिम दिन लिङ्गोे उभ्याइने गरिन्छ। नयाँ वर्षको सुरुआतको दिन वैशाख १ गते बिहान इताचामा गणेशको मन्दिरमा श्वेत गणेशलाई प्रतिस्थापन गरिन्छ। बिहान साँगाका स्थानीयवासीले पूजा गर्ने गर्दछन्। आफ्नो शरीरभरि दियो बालेर कठोर अवस्थामा व्रत बस्ने पनि हुन्छन्।

जात्रा अवधिभर विभिन्न भजन मण्डलीले भजन गाउने गर्दछन्। सोही गणेशलाई बेलुकीपख खुल्चाखुसीमा खटमा राखिन्छ र त्यहाँ व्रत बस्ने विशेषतः महिला श्रद्धालुहरूले पहिलो पटक खटको गणेशलाई लाइन बसेर पूजा गर्ने गर्दछन्। गहिरो ठाउँ सानो खोलो खुल्चाखुसीको बीचमा वरिपरिबाट मानिसले श्रद्धाबाट चटामरी अन्य खाद्य सामग्री रथमा चढाउने चलन चल्दै आएको छ। केही वर्षदेखि बिस्कुट, चाउचाउ अन्य खाद्यान्न सामान चढाउने गर्दै आइएको छ।

धेरैले बिस्कुट चढाउने गर्नाले धेरैले बिस्का जात्रालाई ‘बिस्कुट जात्रा’ पनि भन्न थालेको भनाइ छ। सोही रथ बजार घुमाउँदै पूजाआजा गरेर गणेश विश्रामस्थलमा सत्तलमा राखिन्छ। जात्राको तेस्रो दिन अर्थात २ गते बिहान सबेरै कुमारी र गणेशको रथ तयारी अवस्थामा बजारको मध्यभाग भीमसेन स्थानमा राखिन्छ। सोही रथलाई लाइनले माथि बजार पाखण्डाली परिक्रमा गर्ने क्रममा दबुहरूमा सिन्दूर जात्रा गर्ने गरिन्छ। तीन दबुमा सिन्दूर जात्रा सकेर पहिलेकै ठाउँमा ल्याएर राखिन्छ।

गणेशको रथलाई छेउमा राखेर गणेशको मूर्तिलाई मुख छोपेर राख्ने चलन छ। यसरी भैरव र कुमारीको रथ भीमसेनको मन्दिरलाई घुमाउँदै जुधाउने गरिन्छ। रथलाई बोकेर जुधाउने रथ जात्रा स्थानीयवासीले निकै रमाइलो मान्ने गर्दछन्। साँगाको बिस्काः जात्रामा स्थानीय बाजा गाजाको छुट्टै पहिचान बोकेको छ। साँगामा उक्त जात्रामा विशेषतः जुगी बाजा, नाव खिं बाजा र घिमे बाजा बजाइन्छ।

यस्तै जात्राको अर्को दिन द्यो सगुन दिने भनेर तीनै वटा रथ बजार घुमाउने चलन छ। जात्राको अन्तिम दिन वैशाख ४ गते लिङ्गो ढालेर वैदिक कर्मअनुसार रथबाट देवताका मूर्तिहरू देव घरमा भित्र्याएर जात्रा समापन हुनेछ।  

प्रकाशित: Apr 14, 2023| 21:38 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्