काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार निराशावादी कुरा गरेका छन्। नयाँ वर्ष र नयाँ दशककै पहिलो दिन उनी निराशावादी सुनिए।
माओवादी मुख्यालय पेरिसडाँडामा उनी निकै निराश रुपमा प्रस्तुत भए। पार्टी कार्यालयमा कार्यकर्तासँग संवाद गर्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार त्यहाँ पुगेका थिए प्रचण्ड। कार्यकर्ताको गुनासो सुन्ने कार्यक्रम भनिए पनि दाहालले सुरुमै आफ्ना गुनासाको पोको फुकाए। प्रधानमन्त्रीले आफ्ना नेता-कार्यकर्ता भाडामा चल्नेजस्तै भएको गुनासो गरे। उनी मिडियामाथि पनि खनिए। मिडियाले गर्दा पनि देशमा प्रतिगमनको खतरा बढेको उनको तर्क थियो।
प्रचण्डको भाषणको सम्पादित अंश-
योपटकको नेतृत्व प्राप्त हुनुलाई मैले चुनौतीपूर्ण अवसर भन्ने गरेको छु। जे सकिन्छ त्यही, जति सकिन्छ त्यति सहयोग मात्रै गर्ने प्रतिवद्धता भयो भने धेरै कुरा हुन्छ। पार्टी र सरकारलाई सफल बनाउन गर्नुपर्ने काम इमान्दारितापूर्वक गर्दिने हो भने धेरै राम्रो हुन्छ। तर, हामीलाई बडो नमिठो भनौं या के छ भने हाम्रो पार्टी अहिले त्यति संस्थागत भएर चलिराखेको छैन। भएका निर्णय पनि संस्थागत रुपले कार्यान्वयन त्यत्ति हुँदैनन्। भइराख्या छैन।
सबैले विचारको, राजनीतिको यो परिवर्तनको बाहक हुनुको नाताले हाम्रो जिम्मेवारी ठूलो छ। किनभने विभिन्न खाले चलखेल र यो परिवर्तन उल्ट्याउने कसरतहरु अगाडि बढेका छन्। र, यसलाई रक्षा गर्न सक्ने विचारको हिसाबले पनि र राजनीतिक एजेण्डाको हिसाबले रक्षा गर्न सक्ने स्पिरिटको हिसाबले, कल्चरको हिसाबले रक्षा गर्न सक्ने र गर्नुपर्ने हाम्रै पार्टीले हो। किनकि यो परिवर्तनको प्रमुख वाहक हुनुको नाताले यसमाथि हुने सबै खालको हमलाको प्रतिवाद गर्ने जिम्मेवारी हाम्रो पार्टी र योसँग सम्बन्धित संघसंस्थाहरुको नै मुख्य रुपमा हुन आउँछ।
तर, त्यही किसिमको बोध हामीले गराउन सकिएको छैन। हामी अलग अलग व्यक्तिजस्ता भएका छौं। एउटा श्रमिक वर्गको अथवा सर्वहारा वर्गको फौजजस्ता हामी छैनौं। हामी अलग–अलग आआफ्नो इन्ट्रेस्टको निम्ति बढी सक्रिय। आफ्नो पद र प्रतिष्ठाप्रति अलि बढी चिन्तत। समूहको र यो परिवर्तनको रक्षा गर्ने दायित्वप्रति अलि बढी अरुचीको प्रवृत्ति देखिन्छ जताकतै। हाम्रो लागि ठूलो समस्या त्यही भएको छ।
हामीले पार्टीमा लाग्ने भनेको स्वेच्छाको कुरा हो। यो कसैको दबाब र प्रलोभनको कारणले हामी पार्टी र आन्दोलनमा लागेको होइन। हामीले क्रान्तिकारी विचार अंगीकार गरेको, क्रान्ति गर्ने भनेर आन्दोलनमा होमिएको स्वेच्छाले, स्वयंसेवकका रुपमा होमिएको हो। दबाब र प्रेसरमा त यो हुने कुरा पनि होइन। हामी हिजो यति ठूल्ठूला युद्ध र आन्दोलन सञ्चालन गरेको भोलिन्टियर भएरै गरेको हो। तर, अहिले हामी भोलिन्टियर जस्ता छैनौं। हामी कता–कता भाडामा चल्नेजस्ता। यो भए हुन्छ, त्यो नभए हुँदैन भन्याजस्तो प्रवृत्ति अलि बढी देखिन्छ।
त्यसकारण अहिले यो पटकचाहिँ किन चुनौतीपूर्ण अवसरजस्तो छ त भन्दा मैले कहिलेकाहीँ भन्ने गर्छु, पहिला हामी युद्ध आन्दोलनमा हुँदा, सडकमा हुँदा हजारौं कार्यकर्ता, लाखौं जनता आन्दोलनमा अग्र मोर्चामा बस्ने र लिडरसिपले विचार, राजनीति योजना कार्यक्रम बनाउने कुरामा मेहनत गर्ने, यस्तो हुन्थ्यो।
अहिलेचाहिँ त्यसको उल्टो भएजस्तो अनुभूति हुन्छ मलाई। नेतृत्व सडकमा पनि, मोर्चामा पनि, सिधै भिड्ने अग्रपंक्तिमा पनि नेतृत्व बस्नुपरेको जस्तो। अरु हेरेर बस्याजस्तो। अरु सबै हेरौं न त कस्तो हुँदोरहेछ भन्याजस्तो अनुभूति बेलाबेलामा हुन्छ। अरु सबैलाई हामीले त्यसमा केन्द्रित गर्न नसकिएको जस्तो। सप्पै केन्द्रित भएर हाम्रो आफ्नै काम हो, हामी सबैले गर्नुपर्ने हो भन्ने स्पिरिटमा चाहिँ हामी केन्द्रित हुन नसकेको जस्तो, केन्द्रित गर्न नसकिएको जस्तो अनुभूत हुन्छ।
यो अहिलेमात्रै होइन, केही वर्षदेखि विस्तारै–विस्तारै त्यस्तो हुँदै आएको छ। हामीले यसलाई बदल्नुपर्ने छ। हामीले बदल्न सकेनौं भने प्रतिगमनलाई रोक्न सकिँदैन। अरुले रोकेर प्रतिगमन रोकिँदैन। यहाँ मैले अरु धेरै भन्नु छैन। अरु त प्रतिगमन भए खुशी हुने नै धेरै छन्। पार्टीगत रुपमा हेर्नुभो, नेतृत्वको विचार, स्पिरिट हेर्नुभो भने यो परिवर्तनप्रति न माया छ, न मोह छ। न जिम्मेवारीवोध छ। यसलाई बरु के गरी उल्ट्याउन सकिन्छ भन्नेमा नै बढी अभ्यास छ। मलाई लाग्छ, तपाई हामी सबैले यसलाई धेर थोर बुझेका पनि छौं।
अहिले हामीले देशमा विद्यमान राजनीतिक, आर्थिक समस्या समाधान गर्नका निम्ति हामीले जुन मेहनत गरेका छौं, अहिले सरकारको नेतृत्व लिएपछि पनि कामहरु धेरै गर्न प्रयासहरु भएका छन्। केही सफल भएका छन्, केही सफल हुँदैछन्। तर, त्यसको स्वामित्व लिइदिने होइन, त्यसलाई कसरी हुन्छ मिनिमाइज गर्ने प्रवृत्ति मिडियामा पनि हावी देखिन्छ। केही पनि भएको छैन, केही पनि हुँदैन भन्याजस्तो। फ्रष्टेसन नै बाँड्ने जनतालाई। भ्रमै छर्ने प्रवृत्ति अलि बढी हावी देखिन्छ।
अब हिजो इतिहासमा भएका सहमति, समझदारी, ऐतिहासिक ढंगले गरेका प्रतिवद्धताहरुका विरुद्ध पनि पार्टीहरु जान खोजेको देखिन्छ। विस्तृत शान्ति सम्झौता, सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीका बीचमा भएको सम्झौता हो र त्यही सम्झौताले संविधानसभा, संघीय गणतन्त्रमा नेपाललाई पुर्याएको हो। र, त्यही सम्झौतामा शान्ति प्रक्रियालाई टुंग्याउनका लागि टीआरसी, संक्रमणकालीन न्यायको विधिद्वारा जाने प्रतिबद्धता सबैले गरेको हो। राष्ट्रले पनि गरेको हो। र, त्यो सम्झौतालाई अन्तरिम संविधानमा संविधानको अंग पनि बनाइयो। संविधानसभाबाट घोषणा भएको संविधानमा पनि त्यसलाई आत्मसात् गरियो।
तर, अहिले विभिन्न तर्कवितर्क गरेर यसलाई के गरी असफल पार्न सकिन्छ र कसरी उल्ट्याउन सकिन्छ या यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असहज बनाएर विचलनमा लान सकिन्छ भन्ने कसरत ठूलै छ। अहिले त हामी सरकारको नेतृत्वमा छौं। मन्त्री पनि छौं, प्रधानमन्त्री छौं। त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ। तर, मैले सबै कमरेडहरुलाई बुझिने गरी भन्न चाहन्छु, स्थिति सहजचाहिँ छैन। हामीले बुद्धि नपुर्याउने हो, हामीले जिम्मेवारीवोध नगर्ने हो, हामीले संघर्ष नगर्ने हो भने धेरै अप्ठ्यारो स्थिति आउन सक्छ।
त्यसकारण अहिले पार्टी र सरकारको सम्बन्धलाई पनि नयाँ उचाइमा उठाउन जरुरी छ। सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउने र जनताको आशा, अपेक्षा अनुसार सञ्चालन गर्ने ऐतिहासिक चुनौती र जिम्मेवारी पनि हाम्रो काँधमा छ। त्यही जिम्मेवारी वोध सबैलाई होस् भन्ने ढंगले नै हामीले अलि योजनावद्ध गरौं भनेर सोचिएको हो। अब अहिले धेरै कुरा गरेर भन्दा विस्तारै यसलाई कार्यान्वयन गर्दै गएर देखिने हुन्छ। तर, हामीले चाहेर पनि धेरै यान्त्रिक हुन सम्भव पनि हुँदैन। सबै कुरा ठ्याक्कै सेड्युल अनुसार गर्न सकिँदैन। किनभने सरकारका काम हुन्छन्, भ्रमण हुन्छ। राष्ट्रिय हुन्छ, अन्तराष्ट्रिय हुन्छ। यो सबैले गर्दा सप्पै, सधैं नहुन सक्छ।
त्यसकारण यसलाई यान्त्रिक ढंगले बुझ्ने गल्ती पनि गर्न हुँदैन। वस्तुगत आवश्यकता अनुसार यसमा थपघट, चेञ्जफेन्ज पनि हुन सक्छ। तर, फेरि पनि पार्टीका साथीहरुले भेट्न पाएनौं भन्ने गुनासोलाई सम्वोधन गर्ने, जनताले पनि नेतृत्व भेट्ने भनेको त कठिन र जटिल भन्याजस्तो हुने कुरालाई पनि सहजीकरण गर्ने हो। यसको मूल उद्देश्य त्यहाँ छ। त्यसमा प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो कामको कारणले सबै सेड्युल फलो गर्न नसके पनि प्रमुख सल्लाहकारले, अरु साथीहरुले पनि प्रतिनिधित्व गर्न सकिन्छ। यो कुरा पनि बुझ्न जरुरी छ। कारणबस प्रधानमन्त्री, उपप्रधानमन्त्री उपस्थित हुन नसक्ने भए साथीहरुले प्रतिनिधित्व गर्ने हो। हामीले संसदमा पनि त्यस्तो गरिराखेका हुन्छौं। अरु मन्त्रीहरुले प्रतिनिधित्व गर्दिने बोल्दिने गर्नुपर्छ।
सबैले आ-आफ्नो ठाउँबाट सक्नेजति गरौं, लेखौं, बोलौं। कुनै तरिकाले भइराखेका प्रतिक्रान्तिकारी गतिविधिको प्रतिवाद गरौं, हामी सबैले। हामी बोलिराखेका छैनौं। धेरै कम बोल्या छौं हामी। बाहिरचाहिँ माओवादीहरु धेरै बोल्दैनन्, किन हो भन्ने छ बजारमा। यो स्थिति हुन भएन। सप्पैले बोल्न सकिन्छ नि। सबैले लेख्न सकिन्छ। दुईचारजना यस्तो कहिलेकाहीँ देखिन्छ, अरु चाहिँ कोही नबोल्ने, चुपचाप बस्याजस्तो देखिन्छ। यो हुन भएन। सबै बोल्नुपर्यो। सबैले प्रतिवाद गर्नुपर्यो।
स्वेच्छापूर्वक, मेरो पनि जिम्मेवारी हो, केही गडबडी हुन थाल्यो भने त्यसलाई छोडिँदैन भनेर हामी सबै बोल्न थाल्यौं, सबैले आफ्नो भूमिका पूरा गर्न थाल्यौं भने हाम्रो त तागत त ठूलो पो छ त। अहिले पनि हाम्रो आन्दोलन, हाम्रो पार्टीको तागत कम भएको होइन। अलि मुर्झाएको जस्तो भएपछि बिग्रिएको हो।
हुन त यो विषय, विचार राजनीति, योजना, कार्यक्रमसँग पनि सम्बन्धित छ। अब हामी छिटै पार्टीको केन्द्रीय समितिको बैठक बसेर पार्टी पुनर्निर्माणको निम्ति समग्र रुपमा सम्मेलनतिर लैजाँदैछौं। तलैदेखि फेरि सम्मलेन गर्ने। विचार, राजनीतिमा पनि र संगठनको बारेमा पनि नयाँ ढंगले काम गर्ने। अबचाहिँ नेताहरुबाट समर्थन लिएर, नेताहरुको सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणालीचाहिँ अब हामीले बदल्नैपर्ने देख्या छु मैले।
नेतातिर फर्किने, नेतृत्वलाई प्रेसर गर्ने। अब नेतृत्व पनि त्यस्तै भइयो हामी। प्रेसर भएपछि गर्दिने। आएर रोएपछि त झन् छिटो गर्दिने। प्रेसर गरेपछि पनि गर्ने जस्तो वातावरण बन्या छ। यसले पार्टी बनेन। पार्टी जनतातिर गएन। पार्टी कार्यकर्तातिर गएन। पार्टी तल गएन। पार्टी माथि फर्कियो। माथि फर्किँदाखेरि पार्टी जनताबाट कट्यो। कार्यकर्ताबाट कट्यो। क्रान्तिकारी स्पिरिटबाट कट्यो।
त्यसकारण योपटक गर्ने विचार के छ भने केन्द्रीय समितिको बैठकमा धेरै भन्दा पनि पार्टीलाई सम्मलेनतिर लैजाने। आम रुपमा तलदेखि माथिसम्म र विशेष अधिवेशन हामीले भनेकै छौं। जसले कार्यकर्ताको मन जित्छ, जसले जनताको मन जित्छ, त्यही नेता हुने प्रणालीतिर जाने अब।
अब नेताको मन जितेर नेता हुने सिस्टमको ठाउँमा जनता र कार्यकर्ताको मन जितेर नेता हुनेतिर लैजाने विचार छ। तपाईंहरु पनि सोच्नुहोला। यसो गर्यो भने मात्रै पार्टी बन्छ। नत्र पार्टी बनाउन अहिलेको परिस्थितिमा धेरै गाह्रो हुन्छ। पार्टी बनाउनुको त विकल्प छैन। सही विचार र स्पिरिटमा गयौं भने हाम्रो पार्टी बनाउन ढिलो पनि हुँदैन। किनभने सम्भावना भएको पार्टी यही हो।