बेनी- मुलुक संघीय संरचनामा गएर विकास निर्माणका योजना गाउँगाउँमा भित्रिँदासमेत बसाइँसराइ बढ्दो क्रममा देखिएको छ। स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लाको ग्रामीण भेगमा भौतिक पूर्वाधारको विकासले गति लिन थालेका छन्।
सडक, पदमार्ग, सिँचाइ, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकीलगायतका पूर्वाधार निर्माण हुने क्रम बढ्दो छ। एक नगरपालिकासहित पाँच गाउँपालिका रहेको म्याग्दीमा पाँच गाउँपालिकाको केन्द्र नयाँ बजार विस्तारको चरणमा पुगिसकेका छन्।
जिल्लामा भौतिक पूर्वाधारको विकास हुने क्रम बढिरहेको सन्दर्भमा जिल्लाबाट अन्यत्र बसाइँसराइ गर्ने क्रम बढ्दो छ। जिल्लाभित्रका पाँच गाउँपालिकाबाट सदरमुकामसमेत रहेको बेनी बजारमा थोरै मात्रामा बसाइँसराइ गर्ने गरेका छन् भने समग्र जिल्लाबाट पोखरा, काठमाडौं, बुटवल, चितवनलगायत क्षेत्रमा बसाइँसराइ गर्ने गरेको पाइएको छ।
जिल्ला सदरमुकाम बेनी बजार रहेको बेनी नगरपालिकामा आन्तरिक रूपमा जिल्लाका अन्य स्थानीय तहबाट बसाइँसराइ गरी आउनेभन्दा यहाँबाट जिल्ला बाहिर बसाइँसराइ गर्नेको संख्या बढी देखिएको छ।
आव २०७८/७९ मा बेनी नगरपालिकामा तीन सय ११ सदस्य बसाइँसराइ गरी आएका थिए भने यस नगरपालिकाबाट चार सय ४२ सदस्य बसाइँसराइ गरी अन्यत्र गएको पाइएको छ। नगरपालिकाको पञ्जीकरण शाखाका अनुसार चालु आवको चैत तेस्रो सातासम्ममा बेनी नगरपालिकामा एक सय ३२ सदस्य बसाइँसराइ गरी आएका छन् भने यहाँबाट दुई सय ४२ सदस्य बाहिरिएका छन्।
जिल्लाका पाँचवटै गाउँपालिकामा बसाइँसराइको दर उच्च छ। वैदेशिक रोजगारीका कारण युवा विदेश पलायन हुने क्रमसँगै गाउँका स्थानीय सुविधा खोज्दै बजारतर्फ बसाइँसराइ गर्ने प्रचलन छ। रघुगंगा गाउँपालिका–८ चौरखानीका स्थानीय शिक्षक चन्द्रमान छन्त्यालले बसाइँसराइले गाउँ रित्तिदै गएको बताए। ‘पहिले यो ठाउँ दुर्गम थियो तर पनि गाउँ भरिभराउ थियो। अहिले विकासका पूर्वाधार र सुविधा गाउँघरमा थपिँदै गएका छन्, तर गाउँ रित्तिँदै गएको छ’, उनले भने।
सुविधा र सुखको खोजीमा गाउँबाट सहर पस्ने क्रमले सामाजिक, आर्थिक र पारिवारिक बेमेल सिर्जना गरेको छ। मुख्यगरी मानिस आर्थिक रूपमा सक्षम बन्दै गएपछि गाउँ छाडेर सहर बसाइँसराइ गर्ने अधिक रहेको विभिन्न अध्ययनले देखाएको छ।
गाउँमा स्वास्थ्य र शिक्षाको गुणस्तर नहुँदा बजारतर्फ बसाइँसराइ गर्ने दर बढिरहेको छ। रघुगंगामा चालु आवको हालसम्म आठ परिवारका १२ सदस्य बसाइँसराइ गरी आएका छन् भने ३५ परिवारका एक सय १४ सदस्य यस पालिकाबाट अन्यत्र बसाइँसराइ गरेर गएका छन्।
यस पालिकामा गत आर्थिक वर्षमा ३८ सदस्य बसाइँसराइ गरी आउँदा एक सय ८३ सदस्य पालिकाबाट अन्यत्र बसाइँसराइ गरी गएको गाउँपालिकाका पञ्जीकरण शाखाका वसुता पुनले जानकारी दिइन्। पालिकामा बसाइँसराइ गरी आएको संख्या आन्तरिक बसाइँसराइ रहेको जनाइएको छ।
अन्नपूर्ण गाउँपालिकामा चालु आवको हालसम्म २४ सदस्यले आन्तरिक बसाइँसराइ गर्दा एक सय ४७ सदस्यले पालिकाबाट अन्यत्र बसाइँसराइ गरेको देखिएको छ। मंगला गाउँपालिकामा यस आवको हालसम्म १३ परिवारका ४३ सदस्यले बसाइँसराइ गरेर आउँदा ४५ परिवारका एक सय ६० सदस्य अन्यत्र गएको देखिएको छ।
पञ्जीकरण शाखाका लेकनाथ सापकोटाका अनुसार गत वर्ष मंगलाबाट १९ परिवारका ८३ सदस्य पालिकाभित्र बसाइँसराइ गरेर आउँदा ८२ परिवारका तीन सय पाँच जना अन्यत्र गएका छन्।
मालिका गाउँपालिकामा यस वर्षको हालसम्म १२ परिवारका ३१ सदस्य बसाइँसराइ गरेर आउँदा ३२ परिवारका एक सय २४ सदस्य अन्यत्र बसाइँसराइ गएका छन्।
जिल्लाको सबैभन्दा दुर्गम स्थानीय तहका रूपमा परिचित धवलागिरि गाउँपालिकामा आन्तरिक रूपमा न्यून संख्यामा बसाइँसराइ हुने भए पनि यहाँबाट बाहिर जानेको संख्या ठूलो छ। यस पालिकामा चालु आवको हालसम्म छ परिवारले पालिकाभित्र नै आन्तरिक रूपमा बसाइँसराइ गर्दा यहाँबाट अन्यत्र ६७ घर परिवारले बसाइँसराइ गरिसकेका छन्।
सडक सञ्जालको सहज पहुँच नपुग्नु, गुणस्तरीय स्वास्थ्य र शिक्षाको अभाव, रोजगारको व्यवस्थापन हुनु, सिँचाइ अभावले परम्परागत खेतीमा उत्पादकत्व घट्नु, खानेपानीलगायत आधारभूत आवश्यकताको परिपूर्ति नहुँदा ग्रामीण भेगबाट सर्वसाधारण गाउँ छाडेर सहरतर्फ बसाइँसराइ गर्ने प्रचलन बढेको छ।
धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले संघीयताले सेवा र सुविधा विकेन्द्रीकरण गरे पनि स्थानीयस्तरमै रोजगारको अवसर र आधारभूत आवश्यकताको परिपूर्ति गर्ने आधार तयार नहुँदा बसाइँसराइको दर बढेको बताए। ‘स्थानीयस्तरमा रहेका सम्भावनाको खोजी र सोहीअनुरूपका रोजगारी सिर्जना गर्ने योजना अघि बढाउनुपर्ने देखिएको छ। स्थानीयस्तरमै रोजगार पाउने अवस्था नबने मानिस गाउँ छाडेर गएका छन्। त्यसका लागि सडकलगायत सहज सुविधा बनाउनतर्फ पनि ध्यान दिनुपर्ने छ’, रिजालले भने।
सुविधा र सुखको खोजीमा गाउँबाट सहर पस्ने क्रमले सामाजिक, आर्थिक र पारिवारिक बेमेल सिर्जना गरेको छ। मुख्यगरी मानिस आर्थिक रूपमा सक्षम बन्दै गएपछि गाउँ छाडेर सहर बसाइँसराइ गर्ने अधिक रहेको विभिन्न अध्ययनले देखाएको छ। अहिले बसाइँसराइ मात्रै नभएर अस्थायी रूपमा गाउँ छाडेर शहरमा बसोबास गर्नेको सङ्ख्या पनि अधिक रहेको छ। गाउँ युवा र बालबालिकाविहीन हुने अवस्थामा पुग्न थालेका छन् भने घर खाली र खेतबारी बाँझो रहने समस्या बढ्दो छ।
- रासस