काठमाडौं- नयाँ वर्ष २०८० को उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना सन्देश दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्। नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, “सङ्कल्प गरौँ, सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौँ, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौँ।”
उनले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन्। सन्देशमा भनिएको छ, “बैंक ब्याजदर कम हुँदै गएको छ, व्यवसायीहरूको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ, राजश्व सङ्कलनमा वृद्धि भइरहेको छ, तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ।” उनले सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव व्यक्त गर्दै नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल गरेका छन्।
निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुआत भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएका सङ्कट र चुनौती क्रमशः कम हुँदै गएको बताएका छन्। उनले भनेका छन्, “मेरा केही ठोस सङ्कल्प छन्, वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन्, नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको छ।”
उनले राष्ट्रले आफूलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा समस्त नेपाली जनसमुदायसँग नयाँ वर्षका हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। “हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ सङ्कल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन”, शुभकामनामा सन्देशमा उल्लेख छ। उनले २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामनासमेत गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन्। नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका छन्।
उनले भनेका छन्, “सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्नेमा मेरो प्रतिबद्धता छ।”
राष्ट्रपति पौडेलले संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरे मात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई समाजवादतर्फ उन्मुख हुने विश्वाससमेत व्यक्त गरेका छन्। “तर, जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन, त्यसतर्फ हामी सबै सचेत हुनुपर्दछ। पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन, यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ”, शुभकामना सन्देशमा भनिएको छ।
नेपालका तल्लो तहका उत्पीडित र थिचिएका जनतासम्म अधिकार निक्षेपित गर्ने काम भएको बताउँदै त्यसको सान्दर्भिकताका साथै गहिराइ बुझ्ने, अनुभूति गर्ने र आत्मसात् गर्नेमा कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने उनको भनाइ छ। राष्ट्रपति पौडेलले भनेका छन् “चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पुर्याउन सक्नेछ र त्यसले क्रमशः मुलुकमा स्थापित लोकतान्त्रिक पद्धति फलित र सुवासित हुँदै जानेछ भन्ने मलाई लाग्दछ।”
आर्थिक रूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने उनको भनाइ छ। राष्ट्रपति पौडेलले मानव समाजमाझ बढिरहेको पदार्थवादी महत्वाकाङ्क्षा र प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविकीय विविधताको ह्रास साथै बढ्दो प्रदूषण आज चुनौतीका रूपमा हामी सामुन्ने देखापरेका भन्दै त्यस चुनौतीबाट हाम्रो मुलुक पनि अछुतो नरहेको उल्लेख गरेका छन्। “हाम्रो हिमाली भेग, उच्च पहाडका साथै चुरे र तराईका फाँटहरूसम्म पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव टड्कारो रूपमा पाइन्छन्, त्यस भौगोलिक क्षेत्रमा नै खानेपानीको मुहानका रूपमा रहेको हिमाली क्षेत्र अहिले सङ्कटपूर्ण अवस्थामा रहेको यथार्थ यहाँ दोहोर्याउन चाहन्छु”, सन्देशमा उल्लेख छ।
सभामुख देवराज घिमिरेले राजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरुरी रहेको बताएका छन्।
नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभियानलाई तीव्रता दिनैपर्ने बेला भएको उल्लेख गरेका छन्। नयाँ वर्ष प्रवेश गरिरहँदा आर्थिक क्षेत्रमा सकारात्मक सङ्केतहरू देखिन थालेको उनको भनाइ छ।
“राज्यका तीन अङ्गमध्ये कानून निर्माण गर्ने मुख्य थलो संसद् हो, प्रतिनिधिसभाले विधेयकहरूमाथिको छलफल सुरु गरेको छ, संसद्लाई अझै प्रभावकारी र गतिशील बनाउन सबै राजनीतिक दलसँग छलफल भइरहेको छ”, सन्देशमा भनिएको छ।