आइतबार, भदौ २३, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • निर्माणाधीन समिट अपार्टमेन्टले स्थानीयको उठिबास, घरको डेढ तला नै जमिन मुनि भासियो

nespernesper

निर्माणाधीन समिट अपार्टमेन्टले स्थानीयको उठिबास, घरको डेढ तला नै जमिन मुनि भासियो

अन्डरग्राउन्डका लागि माटो खन्दा निकै ठूलो खाडल बनिसकेको थियो। त्यसको गहिराइले वरपरका घरमा क्षति पुर्‍याउन थालेको थियो।
 |  शनिबार, चैत २५, २०७९

यज्ञराज जोशी

यज्ञराज जोशी

शनिबार, चैत २५, २०७९

ललितपुर- ललितपुरको कुपन्डोल हाइटमा चौधरी ग्रुप (सीजी) ले निर्माण गरिरहेको छ समिट अपार्टमेन्टसहिको नयाँ होटल। १७ तले भवनको अन्डरग्राउन्डका लागि माटो खन्ने काम भइरहेको छ। अन्डरग्राउन्डका लागि माटो खन्दा निकै ठूलो खाडल बनिसकेको थियो। त्यसको गहिराइले वरपरका घरमा क्षति पुर्‍याउन थालेको थियो। स्थानीयले उक्त कामले आफ्नो घरमा क्षति पुर्‍याइरहेको बताउँदै निर्माण पक्षको ध्यानाकर्षण पनि गराएका थिए। तर, निर्माण पक्षले ध्यान नदिँदा उक्त क्षेत्रमा शुक्रबार राति ठूलो भौतिक क्षति भयो।

triton college

निर्माणस्थलको नजिकै सुवास पाण्डेको घर छ। उनी रातिको मस्त निन्द्रामा थिए। सुतेको बेला २०७२ सालको भूकम्पको झल्को दिनेगरी घर हल्लियो। पाण्डे आत्तिएर उठे। बाहिर निस्केर हेर्दा छेउको रिग विष्टको ५ तले घरको साढे एक तला जमिन मुनि भासिसकेको थियो। आत्तिएका उनी भाग्ने क्रममा घाइतेसमेत भए।

'हामी राति २ बजे मिठो निन्द्रामा थियौं। समिट अमार्टमेन्ट निर्माण पक्षलाई उनीहरूले खनिरहेको खाडलले पुर्‍याइरहेको क्षतिका बारेमा हामीले पहिले पनि जानकारी गराएका थियौं। उहाँहरूले वास्ता गर्नुभएन। जसको परिणाम अहिले ठूलो भौतिक क्षति भयो। यत्रो क्षति हुँदा पनि निर्माण पक्षका कोही अहिलेसम्म यहाँ आएका छैनन्', उनले भने।

अपार्टमेन्ट निर्माणका क्रममा पाँच दिनदेखि घर चर्किन थालेको जानकारी  गराए पनि निर्माण कम्पनीले बलजफ्ती गर्दा बस्तीका एक दर्जन घर जोखिममा परेका छन्।

पाँच दिनदेखि नै आफूहरूको घर चर्किन थालेको स्थानीय रन्जनध्वज विष्टले बताए। उनले बस्तीका एक दर्जन घर जोखिममा रहेको जानकारी दिए। 'यो चौधरी ग्रुपलगायतले निर्माण गरिरहेको पूर्वाधार हो। हामीले उनीहरूलाई तपाईंहरूको कन्स्ट्रक्सनका कारण हाम्रो घरमा क्षति पुगिरहेको छ भनेर जानकारी गराएका थियौं। उनीहरूले बेवास्ता गरेकै कारण यो अप्रिय घटना घट्यो', विष्टले भने।

house3-ink1680933798.jpg

Metro Mart
vianet

स्थानीय सम्राटजंग पाण्डेले पनि आफूहरूले जोखिम सिर्जना भएको जानकारी दिँदै निर्माण पक्षलाई काम नगर्न आग्रह गर्दा पनि बल प्रयोग गरिएको गुनासो गरे। उनले जमिन भासिनेक्रम बढेर ग्रिनविच होटलसम्म पुगेको बताए। निर्माण पक्ष घटना भएको लामो समयसम्म पनि नआउनु र बेवास्ता गर्नुले आफूहरूलाई निकै दु:खी तुल्याएको उनको भनाइ छ।

स्थानीयले अपार्टमेन्ट निर्माणका कारण आफ्ना घर चर्किन थालेपछि त्यसको विरोध गरेका थिए। त्यससछि शुक्रबार राति १० बजेसम्म काम रोकिएको थियो। तर, निर्माण पक्षले प्रहरी बोलाएर बल प्रयोग गरी निर्माण कार्यलाई अगाडि बढाएको स्थानीयको गुनासो छ।

अपार्टमेन्ट निर्माणका लागि आम जनताको घर र जमिनको परवाह नगरिनु निकै दुखद् भएको पाण्डे बताउँछन्। कम्पनीको ज्यादतीविरुद्ध कानुनी उपचार खोजिने उनको भनाइ छ। 'हाम्रो बस्तीमा निर्माण हुन थालेको पूर्वाधारप्रति अपनत्व भावना जागृत हुने गरी काम गर्नुपर्ने हो। तर, कम्पनीले शक्ति र पैसाको बलमा जनतालाई दु:ख दिने र विचल्ली पार्ने काम गरेको छ,' उनले भने। डेढ तला जमिन मुनि भासिएको निर्माणाधीन घरमा मानिस बसेको भए ठूलो मानवीय क्षति हुने उनको भनाइ छ। 

338917905_6160313240717728_9117369031340170077_n1680934245.jpg

भासिएको घर बनाउने मिस्त्री पररीप्रसाद यादव तीन दिनदेखि नै घर भासिन थालेको बताउँछन्। 'घर भासिएको देखेपछि घरधनी रिग दाइलाई जानकारी दिएँ। उहाँले कन्स्ट्रक्सनका मानिसलाई भने पनि सुनुवाइ भएन। बन्दै गरेको घर अपार्टमेन्टका कारण भासिएपछि निकै मन दुखेको छ,' उनले भने।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले घटनास्थल पुगेर अनुगमन गरेको बताए। 'एउटा घरको डेढ तला जमिनमुनि नै भासिएको छ। अहिले उक्त क्षेत्रमा प्रहरी परिचालन गरेका छौं। सत्यतथ्य छानबिन हुन्छ। नागरिकको सम्पत्ति संरक्षण गर्ने दायित्व सरकारको हो। हामी जनताको सम्पत्तिको संरक्षणमा प्रतिवद्ध छौं,' उनले भने।

घटनापछि नेपाल प्रहरी र एपीएफको टोली उक्त क्षेत्रमा पुगेको उनले बताए। घटनामा मानवीय क्षति भने नभएको आचार्यको भनाइ छ। प्राविधिक टोलीले अमार्टमेन्ट निर्माणका क्रममा भएको लापरबाही र इन्जिनियरिङ पक्षबारे अनुगमन गरिरहेको उनले जानकारी दिए।

समिट अपार्टमेन्ट चौधरी ग्रुप र रविभक्त श्रेष्ठको संयुक्त लगानीमा निर्माण भइरहेको हो। 

339438543_1181991382507613_8835110686725640286_n1680934259.jpg

338120605_1181917485832490_2350848874634222732_n1680934259.jpg

339484256_562550429307728_3975347906700654167_n1680934260.jpg

प्रकाशित: Apr 08, 2023| 11:44 शनिबार, चैत २५, २०७९
प्रतिक्रिया दिनुहोस्