बिहीबार, चैत ७, २०८१

पदमार्ग बनेपछि ढोलठानको स्वरुप फेरियो

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

म्याग्दी- कुनैबेला पर्वत राज्यको राजधानी मानिएको ढोलठानस्थित पुरातात्विक महत्वको राजदरबारसम्म पुग्ने पदमार्ग निर्माण भएपछि अवलोकन गर्न पर्यटकको आवागमन बढ्न थालेको छ।

health

तत्कालीन पर्वते राजा घनश्याम मल्ल र उनका छोरा मलेबम मल्लको गर्मीयामको राजधानी भएको ढोलठान दरबारसम्म पुग्न पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज भएको हो।

म्याग्दीको बेनी नगरपालिका-९ तोरीपानीको शिरमा अवस्थित उक्त दरबारसम्म वडाकार्यालयको लगानीमा सडक स्तरोन्नतिका साथै पदमार्ग र प्रतिक्षालय निर्माण गरिएको छ।

समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको दरबार संरक्षण गरी ऐतिहासिक र पर्यटकीयस्थलको रुपमा विकास गर्न वडा कार्यालयले पूर्वाधार निर्माणमा जोड दिएको वडा नं-९ का वडाध्यक्ष चक्रबहादुर केसीले बताए।

केसीका अनुसार चमच्चा डिलदेखि ढोलठासम्म करिब छ सय मिटर पदमार्ग निर्माण गरिएकाले स्थानीयवासीलाई समेत आवातजावत गर्न सहज भएको छ।

गत आर्थिक वर्षमा वडा कार्यालयले सडक स्तरोन्नतिका लागि नौ लाख, पदमार्ग निर्माण लागि चार लाख र प्रतिक्षालय बनाउन दुई लाख गरी १५ लाख उपलब्ध गराएकाले पूर्वाधार निर्माण गरिएको वडा अध्यक्ष केसीले जानकारी दिए।

‘कहिले राजा ढोलठाना, कहिले राजा बेनीमा’ यो लोककथन अझै पनि उत्तिकै प्रचलित छ। बाइसी र चौबिसी राज्यकालमा चौबिसी राज्यअन्तर्गतको ‘मलेबम प्रदेश’का नामले चिनिएको १६ हजार पर्वत राज्यको ग्रिष्मकालीन राजधानी ढोलठान ऐतिहासिक, सामरिक र पर्यटकीय दृिष्टले पनि उत्तिकै महत्वपूर्ण रहेको पुलाचौरस्थित जनकल्याण माविका शिक्षक शिव बानियाँले बताए।

२०७७ को मदन पुरस्कार प्राप्त गर्न सफल साहित्यकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘महारानी’ उपन्यास तत्कालीन राजधानी ढोलठान र बेनीलाई नै आधार बनाएर लेखिएको हो।

उक्त उपन्यास प्रकाशित भएपछि यस ठाउँको बारेमा जानकारी लिने र चासो राख्ने बढेको वडाध्यक्ष केसीले बताए। यहाँ तत्कालीन राजाहरुले पूजा गर्ने पुरातात्विक सम्पदासहितको पुरानो मन्दिर र विभिन्न हातहतियारसमेत छन्।

यहाँबाट धवलागिरि, अन्नपूर्ण, निलगिरीसहित दर्जनौँ हिमाल तथा म्याग्दी, पर्वत र बागलुङका दर्जनौँ गाउँ देख्न  सकिने स्थानीय राजन चोखालले जानकारी दिए।

समथर भाग, शिरशिर चल्ने चिसो हावा, तत्कालीन रानी बसेर ऐना हेर्दै कपाल कोर्ने  स्थान (थुम्को), र एतिहासिक मन्दिरको भग्नावशेषसमेत रहेकाले अवलोकनका लागि यहाँ आउने पर्यटक रमाउने गरेका छन्।

पर्यटकले उक्त दरबार अवलोकनसँगै स्थानीय प्राङ्गारिक खाना, विभिन्न जातजातिको कला-सँस्कृति रैथाने जीवनशैलीसमेत अवलोकन गर्न पाउने पत्रकार प्रताप बानियाँले बताए। म्याग्दीको सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत ४५ मिनेट र पैदल करिब तीन घण्टामा यहाँ पुग्न सकिन्छ।

प्रकाशित: Mar 29, 2023| 00:02 बुधबार, चैत १५, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्