मंगलबार, वैशाख २२, २०८३

आजदेखि सगरमाथा आरोहणको अनुमति सुरू

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं- यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजदेखि आरोहण अनुमति दिन सुरू गरिएको छ।

National life

पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो १५ जनाको आरोही समूहले आरोहण अनुमति लिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सगरमाथा आरोहणमा जाने पहिलो आरोही समूहको टिमलिडरलाई आरोहणको अनुमति दिएको पर्यटन विभागले जनाएको छ।

विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले वसन्तकालीन यामका लागि सगरमाथा आरोहण गर्न आज पहिलो आरोहण अनुमति जारी गरिएको बताए।

उनका अनुसार आरोहण अनुमति लिनेमध्ये १० पुरुष र ५ महिला छन्। उनीहरू अष्ट्रेलिया, चीन, जर्मनी, हङ्गेरी, सिङ्गापुर, दक्षिण अफ्रिका, थाइल्याण्ड, अमेरिकाका नागरिक हुन्।

सगरमाथाको १ सहित आजसम्म अन्य विभिन्न हिमाल आरोहणका लागि १० आरोही समूहले अनुमति लिएका विभागका निर्देशक खतिवडाले जानकारी दिए।

विभागका अनुसार वसन्तकालीन याममा विभिन्न हिमालका लागि धमाधम आरोहण अनुमति जारी भइरहेको छ। सगरमाथाबाहेक अन्य हिमाल आरोहणका लागि हालसम्म ५३ जनाले अनुमति लिएका छन्। आरोहीहरूले सुर्मा सरोवर, अन्नपूर्ण, पाङ्ग्री गोलदुम्बा, मनास्लु, थोराङपिक हिमाल आरोहण अनुमति लिएका छन्।

अनुमति लिनेमध्ये ३६ पुरुष र १७ महिला छन्। यो वर्षको वसन्तकालीन यामका लागि यही चैत ३ देखि आरोहण अनुमति दिन सुरू गरिएको थियो। वैशाखको तेस्रो सातादेखि सगरमाथा आरोहण सुरू हुन्छ।

प्रकाशित: Mar 24, 2023| 22:03 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्