मंगलबार, चैत १४, २०७९

चार दशकपछि बेपत्ता भाइसित सम्पर्कमा आउँदाको खुसी...

२०३८ मा परिवारबाट टाढिएका परमानन्द डडेल्धुराको आलितालका हरिसिंह मडैमार्फत महेन्द्रनगरमा रहेका दाजु रामदत्तको सम्पर्कमा आएका हुन्।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

महेन्द्रनगर– परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आउँदा जोकसैलाई अपत्यार लाग्न सक्छ। तर यो यथार्थमा सावित भइदिँदा कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा खुसीको सीमा छैन।

National life insurance

पुख्र्यौली घर बैतडीको दोगडा केदार गाउँपालिकाको रिम भएका परमानन्द कलौनी बेपत्ता भएको चार दशकपछि दाजु रामदत्त कलौनीको सम्पर्कमा आएका छन्। २०३८ पछि परिवारबाट टाढिएका परमानन्द डडेल्धुराको आलितालका हरिसिंह मडैमार्फत महेन्द्रनगरमा रहेका दाजु रामदत्तको सम्पर्कमा आएका हुन्। 

‘घरबाट २०३८ मा निस्कँदा त्यो बेला डडेल्धुरामा सडक बनाउने काममा मजदुरी गथ्र्यो भन्ने सुनिएको थियो’, चार दाजुभाइमध्येका जेठा रामदत्तले भने, ‘माइलो परमानन्द जोगबुढा हुँदै डोटीका स्थानीय युवासित भारत पसेको कुराकानीका क्रममा खुल्यो।’

बैतडीबाट २०५० को सेरोफेरोमा महेन्द्रनगर बसाइँ सरेका रामदत्तले भाइ भेटिनेमा आशै मारिसकेका थिए। तर बिहीबार साँझ आलितालका मडैमार्फत बैंग्लोरमै घरजम गरेर बसेका भाइसित टेलिफोन सम्पर्क भएको बताए।

‘आलितालका कांग्रेस नेता जनक कलौनी र हरि मडै साथी रहेछन्’, उनले भने, ‘मडैजीलाई बैंग्लोरमा डेढ दशकदेखि मेरै भाइले जागिर लगाएको रहेछ।’ बैंग्लोरमा कार्यरत सेक्युरिटी कम्पनीमा परमानन्द ‘प्रेम शर्मा’ का नामले परिचित रहेछन्। ‘परमानन्द र हरिबीच पुख्र्यौली घरबारे कुराकानीका क्रममा मेरो भाइको पत्ता लाग्यो’, खुसीले गद्गद् भएका रामदत्तले भने, ‘यसबीचमा भारतका धेरै ठाउँ तथा काठमाडौंसम्म खोजें, पत्तो लागेन।’

worldlink

भाइसित बिहीबार र शुक्रबार बिहान टेलिफोन कुराकानीपछि बैंग्लोरबाट फोटोसमेत पठाइदिएको उनी बताउँछन्। ‘बैंग्लोरमा नयाँ घर बनाइरहेकाले घरको काम सकिएपछि महेन्द्रनगर आउने र पहाड जाने दाजु/भाइको सल्लाह भयो’, रामदत्तले भने, बुबाआमाको हालखबर सोध्थ्यो। मैले निधन भइसकेको सुनाएँ।’

मडैसित बैतडीको रिम घर भन्ने परिचय दिएपछि परमानन्दको घरपरिवारसित सम्पर्क हुन पुगेको हो। ‘भाइको घरजम भएर छोरीबाट नातिनी पनि भइसकेछ’, रामदत्तले भने, ‘ज्योतिषकहाँ हेराउन जाँदा पनि जिउँदै छ भन्थे।’

प्रकाशित: Mar 18, 2023| 04:15. 00 शनिबार, चैत ४, २०७९