काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको माहोलले मुलुकलाई छपक्कै छोपेको छ। दलहरूको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ। मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र नै आगामी निर्वाचनपछि प्रमुख शक्तिका रूपमा संसद्मा स्थापित हुने धेरैको अनुमान छ। प्रमुख तीन दल कांग्रेस, माओवादी केन्द्र र एमालेका अध्यक्षपछिको कार्यकारी हैसियतमा शक्तिशाली मानिने महासचिव/महामन्त्रीहरूको चुनावी प्रतिस्पर्धा पनि यस पटक प्रतिनिधिसभामा रोचक देखिने भएको छ।
तीन वटै दलका महामन्त्री/महासचिवहरू प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन्। कांग्रेस महामन्त्री गगन थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य बन्ने दौडमा छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा लागि मैदानमा छन्।
त्यस्तै, एमाले महासचिव शंकर पोखरेल दाङ–२ बाट चुनावी मैदानमा छन् भने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। आगामी चुनावमा यी तीन दलमध्ये कांग्रेस र माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन्। एमाले राप्रपा र जसपालगायतका साना दलसँग गठबन्धन गरेर चुनावी मैदानमा छ।
गगनका चिरपरिचित प्रतिद्वन्द्वी भट्टराई
कांग्रेस महामन्त्री गगन थापासँग दोस्रो पटक चुनावी मैदानमा चिरपरिचित प्रतिद्वन्द्वी राजन भट्टराई मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन्। कांग्रेस महामन्त्री थापा र एमाले विदेश विभाग प्रमुख भट्टराईको काठमाडौं–४ मा दोस्रो भेट हो। गगन काठमाडौं–४ बाटै फेरि ह्याट्रिक गर्ने गरी चुनावी मैदानमा छन्। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका बेला परराष्ट्र सल्लाहकार भएर काम गरेका भट्टराई ओलीका विश्वसापात्रमध्येमा पर्छन्। भट्टराई यस पटक जसरी पनि काठमाडौं–४ बाट जनअनुमोदित भएर संसद् प्रवेश गर्ने दाउमा छन्। काठमाडौं–४ को चुनावी भिडन्तलाई चासोका साथ हेरिएको छ।
गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत विश्लेषण गर्दा काठमाडौं– ४ मा एमालेको १६ हजार ५०७, कांग्रेसको १५ हजार ७६३, नेकपा एसको २ हजार ४१४, राप्रपा २ हजार २९३, नेकपा माओवादीको ८४४ र जसपाको ३१७ मत छ। अहिले काठमाडौं–४ मा क्रियाशील दलमध्ये कांग्रेस, माओवादी र नेकपा एसबीचमा एउटा गठबन्धन छ भने एमाले, राप्रपा र जसपाबीचमा अर्को गठबन्धन भएको छ। यस्तो अवस्थामा कांग्रेस नेतृत्वको गठबन्धनको मत १९ हजार २१ देखिन्छ। त्यस्तै, एमाले नेतृत्वमा रहेको गठबन्धनको मत १९ हजार ११७ मत छ। दुई गठबन्धनमध्ये एमाले नेतृत्वको गठबन्धनको ९६ मत बढी देखिन्छ।
वडाध्यक्षको मतलाई मात्र आधार मान्ने हो भने काठमाडौं–४ को निर्वाचनमा दुई गठबन्धनका बीचमा रोचक भिडन्त हुने देखिन्छ। तर स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई मात्र आधार मानेर प्रतिनिधिसभा र प्रदेशसभाको मत विश्लेषण गर्न नहुने राजनीति विश्लेषक बताउँछन्। आमचुनावमा मतदाताले उम्मेदवारको प्रभावसमेत हेर्ने भएकाले लोकप्रिय मत जसले बढी ल्याउँछ, उसैले जित निकाल्ने विश्लेषकहरूको बुझाइ छ।
शंकर र विश्वलाई प्रतिस्पर्धी फेरिँदा सहज
एमाले महासचिव शंकर पोखरेल २०७४ मा प्रदेशसभाका लागि उम्मेदवार बनेका थिए । वाम गठबन्धन भएका कारण दाङ–२ माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई छाडेर पोखरेल प्रदेशसभामा उम्मेदवार बनेका थिए। तर यस पटक कांग्रेस–माओवादीबीचमा गठबन्धन भएका कारण यो पटक शंकर प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। तर शंकरसँग प्रतिस्पर्धाको तयारीमा रहेका माओवादी उपाध्यक्ष पूर्वसभामुख महराले चुनावी मैदानबाट वाकओभर लिएपछि शंकरलाई राहत महसुस भएको राजनीतिक वृत्तमा चर्चा छ।
यस पटक पोखरेलसँग माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले चुनावी प्रतिस्पर्धा गर्न लागेकी छन्। महरा चुनाव नलड्ने भन्दै सुरुमा समानुपातिक सूचीमा बसेका थिए। महरा प्रत्यक्षमा पछि हटेपछि माओवादीले सत्ता गठबन्धनमा आफ्नो भागमा परेको यो क्षेत्रबाट पूर्वमन्त्रीसमेत रहेकी नेतृ रेखा शर्मालाई उम्मेदवार बनाएको हो।
दाङ–२ मा गत स्थानीय तह चुनावको परिणाम विश्लेषण गर्दा एमालेको ३३ हजार ५९३, कांग्रेसको २३ हजार ३०१, माओवादीको १० हजार ४७८, राप्रपाको ३ हजार २६४ र नेकपा एसको २ हजार ९४२ मत छ। यो क्षेत्रमा कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका कांग्रेस, माओवादी र नेकपा एसको मत जोड्दा ३६ हजार ७२१ मत हुन्छ। यस्तै, एमाले नेतृत्वको गठबन्धनमा रहेका एमाले र राप्रपाको मत ३६ हजार ८५७ देखिन्छ। यो क्षेत्रमा पनि एमाले नेतृत्वको गठबन्धनको १३६ मत बढी छ।
यस्तै, कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ मा चुनाव लड्दैछन्। २०७४ को चुनावमा उनलाई माओवादी केन्द्रका राम कार्कीले पराजित गरेका थिए। यस पटक कार्कीले उक्त क्षेत्र छाडिदिएपछि विश्वप्रकाश सत्ता गठबन्धनका तर्फबाट झापा–१ मा उम्मेदवार बनेका छन्। त्यहाँ उनका प्रतिस्पर्धी एमालेका अग्नि खरेल छन्। खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए। त्यस अगाडि पनि उनी कानुनमन्त्री भइसकेका व्यक्ति हुन्। उक्त क्षेत्रको एमाले क्षेत्रीय कमिटीले रविन कोइरालालाई उम्मेदवार सिफारिस गरेको थियो।
खरेलले झापा–२ मा चुनाव लड्न चाहेका थिए। तर ओलीले झापा–२ मा देवराज घिमिरेलाई टिकट दिएर अग्निलाई झापा–१ मा लगेका हुन्। यसले टिकट दाबी गरिरहेका रविन कोइराला असन्तुष्ट बन्दा विश्वलाई लाभ मिल्न सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन्। एमालेभित्रको चुलिएको असन्तुष्टिका बीचमा विश्वप्रकाश यस पटक अघिल्ला सांसद राम कार्कीसमेतको सहयोगमा उम्मेदवार बनेका छन्। सोही कारण पनि विश्वप्रकाश र अग्निको चुनावी भिडन्त रोचकै देखिने भएको छ।
झापा–१ मा स्थानीय तह निर्वाचनको वडागत मत विश्लेषण गर्दा एमालेको ३१ हजार २३२, कांग्रेसको २४ हजार ५९, राप्रपाको ५ हजार ९२२, माओवादीको ३ हजार ९०५, नेकपा एसको १ हजार २५२ र लोसपाको १६२ मत छ। यो क्षेत्रमा कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी, नेकपा एस र लोसपाको मत जोड्दा २९ हजार ३७८ छ। एमाले नेतृत्वको गठबन्धनमा रहेका एमाले र राप्रपाको मत ३७ हजार १५४ मत देखिन्छ। यहाँ एमाले नेतृत्वको गठबन्धनको मत ७ हजार ७७६ बढी छ।
देव गुरुङसँग पीएसको अप्रत्यासित भेट
२०७४ मा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य (हाल महासचिव) देव गुरुङ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रदेशसभा उम्मेदवार बनेका थिए। वाम गठबन्धनका तर्फबाट दुवैले जित निकालेका थिए। यो पटक माओवादी महासचिव गुरुङसँग एमालेका उपमहासचिव पृथ्वीसुब्बाले प्रतिस्पर्धा गर्नेछन्। पृथ्वीसुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री भइसकेका छन्। माओवादी महासचिव गुरुङ पनि पूर्वकानुनमन्त्री हुन्। एमाले उपमहासचिव गुरुङले यस पटक पनि प्रदेशसभामै उठ्न चाहेका थिए।
तर एमालेभित्र गण्डकी प्रदेशमा गुरुङ र कास्कीका खगराज अधिकारीबीचमा बढेको अन्तरविरोध हटाउन एमालेले गुरुङलाई प्रतिनिधिसभातर्फ र अधिकारीलाई चुनावपछि एमालेको प्रदेश सरकार बन्ने अवस्था निर्माण भए मुख्यमन्त्री बनाउने गरी प्रदेशसभामा उम्मेदवार बनाएको हो। त्यसो हुँदा माओवादीका महासचिव देव गुरुङसँग एमाले उपमहासचिव रहेका पृथ्वीसुब्बा गुरुङको चुनावी प्रतिस्पर्धा हुन लागेको हो। दुवै गुरुङ आ–आफनो पार्टीभित्र प्रभावशाली रहेको र निर्वाचन क्षेत्र पनि उत्तिकै प्रभावी रहेकाले लमजुङको प्रतिनिधिसभा निर्वाचन यस पटक रोचक हुने देखिएको छ।
लमजुङमा गत स्थानीय तह चुनावको वडागत मतका आधारमा हेर्दा एमालेको ४० हजार १९७, कांग्रेसको ३५ हजार २७६, माओवादीको ६ हजार १२७, राप्रपाको १ हजार १८४ र जसपाको १९० मत छ। लमजुङमा कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका कांग्रेस र माओवादीको मत जोड्दा ४१ हजार ४०३ छ। त्यस्तै, एमाले नेतृत्वको गठबन्धनमा रहेका एमाले, राप्रपा र जसपाको मत जोड्दा ४१ हजार ५७१ छ। यहाँ एमाले नेतृत्वको गठबन्धनको मत १६८ बढी छ।