बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।
 |  शुक्रबार, साउन २७, २०७९

खिला कार्की

खिला कार्की

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- पञ्चायतकालभर डा प्रकाशचन्द्र लोहनीको जिल्लाका रुपमा चिनिएको नुवाकोट २०४६ पछिका चुनावमा अर्जुननरसिंह केसी र डा रामशरण महतको पल्लाभारी हुन थाल्यो। यद्यपि २०४८ पछिका दुई वटा चुनावमा दुवै नेताले जित निकाल्न सकेनन्। 

triton college

२०४८ सालमा नै डा महत राप्रपा नेता डा प्रकाशचन्द्र लोहनीसँग पराजित भएका थिए। अर्जुननरसिंह केसी २०६४ सालमा माओवादीकी विमला सुवेदीसँग पराजित भए। माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो संविधानसभा चुनावमा रामशरण महतले भने जित निकालेका थिए। 

२०७४ सालमा दुवै नेता पराजित भएका थिए। केसी एमालेका नारायण खतिवडा र महत माओवादीका हितबहादुर तामाङसँग पराजित भए। बहुदल आएपछि पनि नुवाकोटमा डा लोहनीको वर्चश्व कायमै थियो। २०४८ सालको चुनावमा नै रामशरण महतलाई पराजित गर्दै डा लोहनी प्रतिनिधिसभा सदस्य भएका थिए। २०५६ सालमा नुवाकोट तीन वटा क्षेत्रमा विभाजित भएपछि एमालेका राजेन्द्र लोहनीलाई एक भोटले पराजित गर्दै डा लोहनी विजयी भएका थिए। पछि अदालतले पुनःगणनाको आदेश दिएपछि राजेन्द्र लोहनी विजयी भए। राजेन्द्र अहिले नेकपा एसमा छन्।  

जता गठबन्धनको त्यतै पल्लाभारी
२०७४ सालमा वाम गठबन्धन भयो। नुवाकोटका दुवै क्षेत्रमा वाम गठबन्धनका उमेदवारले चुनाव जिते। यो पटक सरकारमा रहेका पाँच दलका बीचमा गठबन्धन हुँदा पाँच दलीय गठबन्धनको पल्लाभारी हुन सक्ने देखिन्छ।

२०७४ सालमा नुवाकोट-१ मा वाम गठबन्धनका उमेदवार माओवादी नेता हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याएर जित निकालेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेस नेता डा रामशरण महतले २७ हजार ९२० मत पाएर पराजीत भए। त्यस्तै नुवाकोट-२ मा पनि गठबन्धनका तर्फबाट उमेदवार बनेको एमाले नेता नारायण खतिवडाले ३६ हजार ८९२ मत पाएर प्रतिनिधिसभा सदस्य बनेका थिए। खतिवडाले कांग्रेस नेता अर्जुननरसिंह केसीले २६ हजार ३३५ मात्र मत पाए। 

corrent noodles
Metro Mart
२०७४ सालमा वाम गठबन्धन भयो। नुवाकोटका दुवै क्षेत्रमा वाम गठबन्धनका उमेदवारले चुनाव जिते। यो पटक सरकारमा रहेका पाँच दलका बीचमा गठबन्धन हुँदा पाँच दलीय गठबन्धनको पल्लाभारी हुन सक्ने देखिन्छ।

अहिले स्थानीय तहको चुनावमा वडा अध्यक्षले पाएको मतलाई हेर्ने हो भने पाँचदलीय गठबन्धनका उम्मेदवार विजयी हुने देखिन्छ। स्थानीय चुनावमा नुवाकोट-१ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २८ हजार ९६२, माओवादीका उम्मेदवारले २३ हजार २००, एमालेका उम्मेदवारले १८ हजार २६७, राप्रपाका उम्मेदवारले ४ हजार ७८, नेकपा एसका उम्मेदवारले २ हजार २४५ मत पाएका छन्। यसलाई आधार मान्दा गठबन्धनका पक्षमा ५४ हजार ४०७ मत देखिन्छ। यो एमालेकोभन्दा ३६ हजार १४० ले बढी हो। एमाले र राप्रपाका बीचमा तालमेल हुँदा पनि पाँचदलीय गठबन्धनकै मत बढी हुन्छ। 

त्यस्तै, नुवाकोट-२ मा पनि गठबन्धनकै मत बढी देखिन्छ। यो क्षेत्रमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २९ हजार ८६१, एमालेका उम्मेदवारले २६ हजार ३७७, माओवादीका उम्मेदवारले १६ हजार ६७, राप्रपाका उम्मेदवारले २ हजार २११ र नेकपा एसका उम्मेदवारले ९६१ मत पाएका छन्। यो क्षेत्रमा गठबन्धनका दलका उम्मेदवारहरुले ३२ हजार ४८९ मत पाएका छन् भने एमालेका उम्मेदवारको मत २६ हजार ३७७ छ। यो क्षेत्रमा एमालेको भन्दा गठबन्धनमा रहेका दलको ६ हजार ११२ भोट बढी छ। 

गठबन्धनमा सिट बाँडफाँटको सकस 
कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत यो पटक नुवाकोट-१ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक घोषणा गरेका छन्। तर सो क्षेत्रमा ०७४ को आमनिर्वाचनमा वाम गठबन्धनबाट माओवादीका हितबहादुर तामाङ निर्वाचित भएका थिए। तामाङले नेपाली कांग्रेसका नेता एंव प्रकाशरणका दाजु डा रामशरणलाई पराजित गरेका हुन्। तामाङले ३६ हजार ४ सय ७३ भोट ल्याउँदा महतले २७ हजार ९ सय २० मत पाएका थिए। 

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।

२०६४ र २०७० को निर्वाचनमा डा रामशरणसँगै पराजित भएका तामाङले वाम गठबन्धनको बलमा जित निकालेका थिए। तर स्थानीय चुनावमा भने यो क्षेत्रमा कांग्रेस पहिलो र माओवादी दोस्रो भएको छ। स्थानीय चुनावमा कांग्रेसको २८ हजार ९ सय ६२, माओवादीको २३ हजार २ सय, एमालेको १८ हजार २ सय ६७, राप्रपाको ४ हजार ७८ र नकोप एसको २ हजार २ सय ४५ भोट देखिन्छ। यसअघि काठमाडौं-५ बाट उमेदवार बनेका कांग्रेस प्रवक्ता महतले नुवाकोट १ दाबी गरेपछि सिट टुंगो लगाउन गठबन्धनलाई सकस पर्ने देखिन्छ। 

दाजु रामशरणले उम्मेदवारी नदिने आकलन गर्दै प्रकाशशरणले दाजुको क्षेत्रमा गई प्रत्यक्ष उम्मेदवार बन्ने इच्छा देखाएका हुन्। यो क्षेत्रमा माओवादी दोस्रो स्थानमा रहेकाले प्रकाशशरणलाई सहज भने छैन। कांग्रेस प्रवक्ता र सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिएका प्रकाशशरणले आफ्नै गृहजिल्लामा प्रत्यक्ष उमेदवार बन्ने इच्छा देखाएका कारण कांग्रेसको यो निर्वाचन क्षेत्रमा दाबी बलियो देखिन्छ। अर्कोतर्फ नुवाकोट कांग्रेसको राजनीतिमा केसी परिवार र महत परिवारको हावी हुने भएकाले पनि आफूलाई उम्मेदवार बनाउन कांग्रेस सभापति देउवाले अडान लिइदिने अपेक्षा प्रकाशशरणलाई छ। 

महत र केसी परिवारको द्वन्द्व
नुवाकोटको राजनीतिमा महत र केसी परिवारको बीचमा एउटै पार्टी भएपनि हार्दिकताको भने खडेरी छ। कुनै समय नुवाकोटमा विद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता समितिमा समेत केसी र महत पक्षको आ-आफ्नै प्यानल बनाउने गरेका थिए। २०७४ सालको चुनावपछि डा रामशरण महत र अर्जुननरसिंह केसीबीच केही हार्दिकता बढेपनि लामो समय टिक्न भने सकेन। 

रमेश महतलाई देउवा समूहका डा प्रकाशरण महतको पनि सहयोग थियो। 

पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको जिल्ला अधिवेशनमा फेरि केसी र महत परिवारको द्वन्द्व देखियो। कांग्रेसहरू देशभर सभापाति शेरबहादुर देउवा पक्ष देउवा इतर पक्ष भएर जिल्ला अधिवशेनमा होमिएका थिए। तर नुवाकोटमा भने देउवा इतर समूहमा रहेका रामशरण महतका भतिजा रमेश महत र अर्जुननरसिंह केसीका भाई डा केदारनरसिंह केसीबीचमा प्रतिस्पर्धा भएको थियो। रमेश महतलाई देउवा समूहमा रहेका तत्कालीन सहमहामन्त्री डा प्रकाशरण महतको पनि सहयोग थियो।  

मंसिरको चुनावमा पनि केसी र महत परिवारबीच विश्वासको संकट मैदानसम्मै आइपुग्ने नुवाकोटका कांग्रेसीको आकलन छ। प्रकाशशरणले काठमाडौंमा नुवाकोटका पत्रकारसँग आफू नुवाकोटबाटै प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका थिए। पछि प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा सम्बोधन गर्न पुगेका कांग्रेस नेता अर्जुनरसिंह केसीले कांग्रेसका केन्द्रीय पदाधिकारीहरुको कुनै खास जिल्ला क्षेत्रमा मात्र देशभर लोकप्रिय भएको भन्दै प्रकाशशरणप्रति व्यंग्य कसेका थिए। 

प्रकाश र अर्जुन उम्मेदवार नबन्ने चर्चा पनि
नुवाकोट-१ बाट डा प्रकाशशरण महत, नुवाकोट-२ मा अर्जुननरसिंह केसी र बहादुरसिंह लामाले आकांक्षा राखेका छन्। माओवादीका तर्फबाट भने क्षेत्र नम्बर १ मा हितबहादुर तामाङ र दुई नम्बरमा अहिले प्रदेशसभा सदस्य रहेका हीरानाथ खतिवडालाई आकांक्षी छन्। तर कांग्रेसबाट अर्जुननरसिंह केसी र डा रामशरण महत दुवै रिटार्यड हुने चर्चा पनि नुवाकोट कांग्रेसमा छ। यस्तो अवस्थामा डा प्रकाशशरण पनि नुवाकोटबाट प्रत्यक्ष उम्मेदवार नबनेर केसीका भाइ जगदिशनरसिंह केसी र रामप्रकाशका भतिजा रमेश महतलाई उम्मेदवार बन्न सक्ने सम्भावना रहेको नुवाकोट कांग्रेसका नेताहरू बताउँछन्। 

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ। यदि प्रकाश र अर्जुन दुवैले संघीय सांसदमा प्रतिस्पर्धा नगरेको अवस्थामा भने प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्रमा जगदीश्वरनरसिंह र रमेशलाई उम्मेदवार बनाउने सम्भावना पनि छ। 

एमालेबाट यी हुन उमेदवार 
एमालेले नुवाकोट-१ मा बद्री मैनालीलाई उम्मेदवार बनाउने सम्भावना छ। उनी एमाले जिल्ला अध्यक्षसमेत रहेका उनी प्रदेशसभा सदस्य पनि छन्। नुवाकोट-२ मा भने वर्तमान सांसद नारायण खतिवडा र केशव पाण्डेमध्ये एकलाई चुनावी मैदानमा उतार्ने तयारीमा एमाले छ। पाण्डे अहिले प्रदेशसभा सदस्य हुन्।

प्रकाशित: Aug 12, 2022| 16:09 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्