दाइ नमस्कार, फलानो विषयमा बोलिदिनुपर्यो। एक जना पत्रकारले बिहानै मलाई फोन गरेर भने। मेरो विज्ञता र अनुभवभन्दा बाहिरको विषयमा बोलिदिन उनको आग्रह थियो। मेरो विषय नपरेकाले उनीसँग मैले भनें, ‘मलाई सबै कुरा थाहा छैन। यस विषयमा अध्ययन गरेको छैन। माफ गरिदिनुहोला।’ मेरो जवाफबाट सन्तुष्ट हुन नसकेका ती पत्रकार त्यत्तिकैमा रोकिएनन्।
एउटा बाइट दिन जिद्दी गर्न थाले। बाइट पनि फेरि उनलाई आफू अनुकूल चाहिएको रहेछ।
हामी रिसर्चमा काम गर्नेहरूलाई यस्तो विषयमा जानकारी हुने कुरै भएन। हामी आफूलाई कन्टेस्ट गर्ने साइटेसन’ गर्दै गर्दैनौं। सप्लिमेन्ट गर्ने साइटेसनचाहिँ गर्छौं। उनले खोजेको बाइटमा मसँग बोल्ने खासै कुरा थिएनन्। तर उनैले मलाई केही कुराको उदाहरण एवं सन्दर्भ कुनै यात्रा, समारोहमा जाँदा र अनौपचारिक कुराकानीमा आधारित भएर बाइट माग गरे। मैले इन्कार गरेपछि उनी फोन राख्न बाध्य भए।
आजभोलि पत्रकार र मोबाइल फोन उस्तै–उस्तै भइसकेको छ। मोबाइलको घन्टी कति बेला बज्छ, थाहा हुन्न। मोबाइल अफ गरिएको छैन र बजाइदिनेले बजाइदियो भने आर्यघाटमा भए पनि, पूजामा भए पनि वा नितान्त व्यक्तिगत काममा भए पनि यो बज्छ र उठाउनुपर्ने बाध्यता हुन्छ। पत्रकार पनि आजभोलि त्यस्तै भइसके। के जवाफ दिने, कसो गर्ने, समय हुन्छ कि हुँदैन र सम्बन्धित विषयको ज्ञान छ/छैन भन्ने कुराको हेक्का नराखी सीधै प्रश्न गर्छन्। जवाफ दिनैपर्छ।
जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन कवि भन्ने उखानलाई परिवर्तन गरेर ‘जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् पत्रकार’ भन्नुपर्ने भइसकेको छ।
अनलाइन मिडियाको जमाना छ। पढ्न मन लागेको कुरा मोबाइलबाटै पढ्न सकिन्छ। आजभोलि पत्रिकाको खासै वास्ता हुन छाडेको छ। पत्रिकाका लागि पैसा तिरेको हुन्छ। बिहानै पत्रिका घरमा आउँछ। पत्रिका बाँड्नेले गेटबाट पत्रिका फालेर हिँड्छन्। उनलाई त्यति पनि ज्ञान हुँदैन कि बर्खाको समय छ, भिज्छ भन्ने। प्लास्टिकमा बेरेर फाल्ने, सुरक्षित फाल्ने वा सुरक्षित ठाउँ बनाइदिनू भन्ने ज्ञान उनमा पनि हुँदैन। अर्कोतर्फ पत्रिका दुब्लाउँदै गएका छन्। कोभिड–१९ ले विज्ञापन घट्दै गएको र पुनर्उत्थान हुन नसकेको भन्ने सुन्छु।
सामान्य मानिसले टीकाटिप्पणी गर्न सक्छ वा सक्दैन भन्ने विषय आजका लागि महत्त्वपूर्ण हो। सबैभन्दा ठूलो ज्ञान कमन सेन्सबाट आउँछ। केही सही, र के गलत भन्ने कुरा सबै हामीले छुट्याउन सक्छौं। तर हामी अहिले विशिष्टीकृत हुँदै गएका छौं। वर्तमान समय र समाज यति जटिल भइसक्यो कि यसलाई बुझ्न हामी निश्चित र विशिष्टीकृत ज्ञानको खोजीमा छौं।
यसैका लागि नेपालमा बिट पत्रकारिताको अभ्यास देखिन्छ। एउटा बिटलाई पनि विभिन्न क्षेत्रमा बाँडेर त्यसको अन्तरकुन्तरबारे पत्रकारले लेखेकै छन्। पत्रपत्रिका, म्यागजिन वा अनलाइन पोर्टलमा निश्चित बिट समाएर पत्रकारिता गरिरहेकै देखिन्छ। जस्तै, आर्थिकभित्रका कुरा गर्ने हो भने बैंकिङ, अर्थतन्त्र, कर्पोरेट वित्तीय वा विकास बिटमा रहेर विशिष्टीकृत रूपमा रिपोर्टिङ नभएको होइन।
मेरा साथी राजेन्द्र दाहालले पनि विगत दशकभन्दा अघिदेखि शिक्षक नामक मासिक पत्रिका चलाउँदै आएका छन्। उक्त पत्रिकामा शिक्षा क्षेत्रका सामग्री मात्रै प्रस्तुत गरिन्छ।
आर्थिक पत्रकारिता मात्रै होइन, हरेक क्षेत्रको पत्रकारिताभित्र नैतिकतालाई सही रूपमा परिभाषित गर्न आवश्यक छ। यस विधामा नैतिक द्विविधाको उचित व्याख्या गरिनुपर्छ।
सुरु–सुरुमा आर्थिक पत्रकार भन्ने चलन थिएन। आर्थिक पत्रकारलाई हामी विकासे पत्रकार भनेर बुझ्थ्यौं। विकासबारे पढ्न पनि गोरखापत्र पल्टाउनुपर्थ्यो। नेपालमा एउटा चारपाते नामक पत्रकारहरूको क्लब आयो। जसमा जर्मनहरू माछापालन मात्रै सिकाउँथे। पिसकोर भोलेन्टियर स्थापना भयो। जसले विकासे पत्रकारिता सिकायो। अब प्रश्न उठ्छ, विकासे पत्रकारिता र आर्थिक पत्रकारिता एउटै हो कि होइन? विकासे पत्रकारितामा पैसा, स्रोत–साधन, योजना तथा नीतिलगायतका सबै कुरा हुने गर्दछन्। त्यसैले नेपालमा आर्थिक पत्रकारिताको सुरुवात विकासे पत्रकारिताबाटै भएको हो। विकासे पत्रकारिता भनेर आर्थिक पत्रकारितालाई हेय दृष्टिबाट पटक्कै हेर्न चाहेको होइन। नेपालमा विकासे पत्रकारिताको जग बस्दै गर्दा भारतदत्त कोइराला आएको म सम्झिन्छु। नेपालमा विकासको कल्पना र सपना निकै ठूलो छ। यसैबाट विकास पत्रकारिता र अहिलेको आर्थिक पत्रकारिता विकास भएको देखिन्छ। सन् १९९० मा आर्थिक उदारीकरणको नीति अवलम्बन गरिएपछि नेपालमा निजी क्षेत्रको विकास हुन थाल्यो। त्यसपछि आर्थिक पत्रकारिता छुट्टै विधाको रूपमा विकास हुँदै आएको छ। पछिल्लो समय आर्थिक पत्रकारिता र वित्तीय पत्रकारिता एउटै हो/होइन भनेर पनि प्रश्न उठ्न थालेको छ। त्यसैले आर्थिक पत्रकारिताभित्रको पनि क्षेत्र, व्यावसायिकता र फ्रेमलाई परिभाषित गर्न आवश्यक देखिन्छ किनभने यसबाट उत्पन्न हुने नैतिक प्रश्न हल गर्न सहज हुन्छ।
आर्थिक पत्रकारिता मात्रै होइन, हरेक क्षेत्रको पत्रकारिताभित्र नैतिकतालाई सही रूपमा परिभाषित गर्न आवश्यक छ। यस विधामा नैतिक द्विविधाको उचित व्याख्या हुन आवश्यक छ।
नेपालको राजनीति, सुशासन र सार्वजनिक नीतिमा सबैभन्दा धेरै हानि पुग्नुको कारण पनि नैतिकताको कमजोर कसी र स्वार्थको द्वन्द्व नै हो।
इच्छाराज तमाङलाई यस प्रसंगमा जोड्दा फरक नपर्ला। उनी कुनै अमुक पार्टीमा आबद्ध थिए। व्यापार, व्यवसाय चलाउने भनेर सोही समूहभित्र राखेर उनकै लागि सार्वजनिक नीति निर्माण गरिन्थ्यो।
यसैगरी अहिले उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। उनले शिक्षा क्षेत्रमा लगानी गरेका छन्। अब शिक्षा क्षेत्रमा कुनै नीति परिवर्तन भयो भने उनले त्यसलाई प्रभावित गर्ने कोसिस गर्लान् वा नगर्लान्? उनी शिक्षासम्बन्धी नीति बनाउन जान्छन्। तर के ख्याल गरिँदैन भने उनी त्यही क्षेत्रबाट आएका हुन्। यस्तो अवस्थामा स्वार्थ बाझिन्छ कि बाझिँदैन? त्यसैले पत्रकारले पनि आफ्नो क्षेत्राधिकारको स्पष्ट व्याख्या गर्नुपर्छ। पत्रकारले रिपोर्टिङ गर्दा देश, जनताको हितमा सूचना प्रवाहित गर्नुलगायत केही राष्ट्रिय स्वार्थ हुन्छन् तर व्यक्तिगत स्वार्थको तह कति हो, त्यसको व्याख्या स्पष्ट गर्न आवश्यक छ। किनकि, पत्रकारिता सार्वजनिक क्षेत्रमा काम गर्ने, जवाफदेहिता, जिम्मेवार र मर्यादित पेसा हो।
राजेन्द्र दाहाल मेरा लागि पत्रकारिताको पहिलो ‘रेफरेन्स’ हुन् किनकि उनीसँग मेरो २०३४ देखिको सम्बन्ध छ। उनीसँग दिनमा एकचोटि फोनमै भए पनि कुराकानी हुन्छ। पत्रिका, अनलाइन, म्यागजिनमा फ्रन्ट पेज कहिल्यै पनि मालिकको हुँदैन भनेर मलाई उनले बुझाउने गर्छन्। किनभने, कुनै समय कान्तिपुरमाथि आक्रमण भयो। त्यसपछि उसले यस्तो भयो र उस्तो भयो भनेर आफ्नैबारे मात्रै छाप्ने गर्थ्यो। एकताका नयाँ पत्रिकाले पनि त्यसै गर्यो। १० रुपैयाँ हालेर पत्रिका किनेपछि पाठकले उसका मालिकको कुरा पढ्ने होइन नि।
कसैको स्वामित्व तथा लगानीमा सञ्चार माध्यम सञ्चालन आवश्यक हुन्छ। उसलाई त्यसबापत नाफा पनि हुनुपर्छ। यसको केही असुली जरुरी छ। तर आजभोलि के भइरहेको छ भने सम्पादक विस्तारै हराउँदै गएका छन् र ‘म्यानेजिङ इडिटर’ आएका छन्। तिनको काम रकम जोहो गर्ने, पत्रकारलाई डिल असाइन गर्ने, विज्ञापनदातासँग कुराकानी गर्नेसम्म भएको छ। यो सञ्चारगृहको गलत संस्थागत योजनाको उपज हो।
यसले गर्दा पत्रकारको स्वतन्त्रता हराइरहेको छ। उसलाई व्यवस्थापकीय भूमिकामा रहेको सम्पादकले जे विषयवस्तुको असाइन गर्छ, त्यही विषयमा रिपोर्टिङ गर्छ। जस्तै, सम्पादकले आज चन्द्रागिरिको रिपोर्टिङ गर भन्छ, भोलिपल्ट हटाइदिन्छ। यस्तो अवस्थामा पत्रकारले के नै गर्न सक्छ?
एकजना सम्पादकले कुनै बेला मुग्लिङ सडक खण्डबारे भयंकर लेखे। तर ४ दिनपछि पत्रिका बन्द भयो। पाठकले त हेरिरहेकै हुन्छन्। देशान्तरमा मरीचमानको तारिफ आयो। त्यसपछि ती पत्रकार भागेर भारत पुगे। पछि मैले चक्र बास्तोलालाई सोधें, ती पत्रकारका बारेमा। बास्तोलाले भनेका थिए, ‘तिमीले बुझेकै छौ नि। हि इज हि। उसले गरेका काममा हामी कुनै प्रश्न गर्दैनौं। हामी छाडिदिन्छौं।’
पत्रकारहरू एउटै क्षेत्रमा २०/२५ वर्ष काम गर्छन्। त्यो क्षेत्रमा उनीहरु विज्ञजस्तै हुन्छन् र एक/दुई वटा पुस्तक पनि लेख्छन्। अन्तिममा पत्रकारिता क्षेत्रमा उनीहरु अब्बल सावित भएर जान्छन्। त्यो वस्तुगत हुँदैन तर विभाजनकारी हुन्छ। नेपालको जनजाति आन्दोलन हेर्नुभयो भने धेरै पश्चिमा मानवशास्त्रीले सहयोग गरे। मेरी क्यामरुन नामक एक जना महिला दलितको हकहितका लागि काम गर्छिन्। उनले एक जना दलितसँगै विवाह गरेकी छन्। सुरुमा त उनको उद्देश्य अनुसन्धान गर्ने थियो। कहिलेकाहीँ विषय प्रवेश र त्यसप्रतिको लगावले मानिसलाई कुमालकोटिजस्तो बनाइदिन्छ। उदाहरणका लागि, कुनै आर्थिक पत्रकार रिपोर्टिङ गर्दागर्दै व्यवसायी बन्न सक्छ किनकि त्यस क्षेत्रप्रति उसको इच्छा तथा चाहना सुरु हुन थाल्छन्।
पत्रकारले लेखेको सूचना तथा त्यसको विश्लेषण सर्वसाधारणसम्म पुग्छ र त्यसले सार्वजनिक वस्तुको रूप ग्रहण गर्छ। विनोद चौधरी धनाढ्य व्यवसायी हुन्। सीजी ग्रुपको आर्थिक अवस्थाको विश्लेषण छाप्न पत्रकारलाई दबाब, प्रभाव भयो भने त्यो पत्रकारिता हुन सक्दैन। त्यो सामग्री सार्वजनिक वस्तु बन्नै सक्दैन। साधारणतया कर्पोरेट हाउसबाट आउने सूचना सरकार प्रभावित गर्न आउने गर्छन्। त्यो जनताको हितमा हुँदैन। मैले यस्तो पनि सुनेको छु–कुनै खास–खास इन्भेस्टमेन्टमा जनताका अगाडि व्यवसायी राम्रो देखिने प्रयास गर्छन्।
नेपालमा सञ्चालित लिटो कार्यक्रममा चौधरी ग्रुपको ठूलो हात छ किनभने पशुपति बिस्कुटले लिटो तयार पार्न सक्थ्यो। मैदा उद्योगले त्यसमा काम गर्न सक्छ किनकि त्यसमा कन्भर्जन सजिलो हुन्छ। तर सरकारको लिटो तथा दिवा भोज कार्यक्रम र सर्वोत्तम लिटो कार्यक्रम युनिसेफको अनुदानमा सञ्चालन भयो।
त्यसैले व्यापारिक घरानाको स्वार्थमा तयार भएका समाचार सार्वजनिक वस्तु हुन सक्दैनन्। त्यसले जनतालाई कुनै पनि हित गर्न सक्दैन।
कुनै पनि कम्पनीले हायर गरेर उसका प्रचार सामग्री बनाइदिने व्यक्ति पत्रकार हुनै सक्दैन। ऊ प्रोपोगान्डिज्, प्रकाशक वा लबिस्ट हुन सक्छ। कुनै पनि पत्रकारको व्यावसायिकताभित्र जहिले पनि दोहोरो मापदण्ड हुन सक्छ। सूचनाका लागि उसले कुनै व्यक्तिलाई निरन्तर भेट्छ। आइरहन्छ, गइरहन्छ। सम्बन्ध गाढा बन्छ। उसले त्यही बेला यस्तो काम गरिदिनू न भन्न सक्छ। उसलाई चुकाउने प्रयास हुन्छ। चुक्नु/नचुक्नु पत्रकारको कुरा हो। किनकि, पत्रकारले ल्याएको सूचना सर्वसाधारण, व्यापारी र कर्मचारीसम्मले पढ्छन्।
कुनै समय मेरो भेट एक जना अर्बपतिसँग भयो। उनले मलाई इकोनोमिस्ट भन्ने पत्रिका पढ्न सुझाए। एक सातासम्म तिमीलाई खुराक पुग्छ र विषयवस्तु पनि राम्रो छ भनेपछि मलाई उनले नै उक्त पत्रिकासमेत दिए। नभन्दै राम्रो पनि रहेछ। अहिले म इकोनोमिस्ट पत्रिकाको १७५ वर्षको इतिहास पढ्दै छु। यसैमा लेखिएको आर्थिक उदारीकरणका बारेमा पढिरहेको छु। ब्रिटिस सरकारको परिवर्तनबारे पनि व्याख्या गरिएको रहेछ। इकोनोमिस्टकै एक जना इडिटरले लेखेका रहेछन्। इकोनोमिस्टको एउटा विशेषता के भने आजभोलि अलि–अलि आउन थाल्यो तर साइटेसनमा कसैको पनि नाम हुँदैन। सन् १९८४ अगस्त महिना थियो। त्यो बेला म दिल्लीमा बस्थें। म भारतका सिनियर इडिटर भवानीसेन गुप्तासँग बस्थें। इकोनोमिस्ट पत्रिकामा साइटेसन आयो भनेर दंग परेर मलाई सुनाउँदै थिए। कोलम्बिया विश्वविद्यालयमा आबद्धता, हाइमन इन्स्टिच्युट अफ सोभियत युनियनका डाइरेक्टर, सेन्ट्रल पोलिसी रिसर्चमा बसेका र अफगानिस्तानमा सोभियत युनियन आउँदा इन्दिरा गान्धीको नीति बनाउने व्यक्ति भवानीसेन गुप्ता इकोनोमिस्टले कोड गर्यो भनेर एकाबिहानै गर्व गरेका थिए।
यस्तै, इकोनोमिस्टमा ‘बेगोट’ भन्ने एउटा कोलम छ। तर अहिलेसम्म त्यो कोलम कसले चलाउँछ, कसैलाई थाहा छैन। मैले पाएको जानकारीअनुसार उक्त कोलममा १५० बढी व्यक्ति परिवर्तन भइसके। तर स्टाइल त्यही छ। अदृश्य भएर पनि पत्रकार शक्तिशाली त हुने रहेछ नि। यसले धेरै कुरा सत्यतथ्य नजिक पुग्ने र धेरै कुरा समाधान गर्न सक्ने रहेछ। इकोनोमिस्टमा बाइलाइन एकदमै कम हुन्छ। उनीहरू सामूहिक रूपमा धेरै काम गर्छन्। तर आर्थिक प्रक्षेपण गर्ने र विश्लेषण गर्ने सवालमा अग्रणी पत्रिका हो।
यस्तो अभ्यासले पत्रकारको व्यक्तिगत द्विविधा र सामूहिक द्विविधा समाधान गर्न सहयोग गर्छ।
बिट रिपोर्टिङ गर्दागर्दै एक जना पत्रकार बिजेपीको सदस्य जस्तै नै भइसकेका छन्। उनको नाम हो– युवराज घिमिरे। उनी राजा र हिन्दु धर्मको संरक्षक बनेर बसेका छन्। छाड्दै छाड्दैनन्। उद्देश्य त सकियो नि। पढ्न मन लाग्दैन। इन्डियन एक्सप्रेसमा उनले एकदमै राम्रो रिपोर्टिङ गर्थे। विगतका उनका समाचार हेर्यो भने युवराज घिमिरे एकदमै राम्रा लेखक हुन्। युपी र बिहारको राजनीतिबारे उनले निकै राम्रो लेखेका छन्। जब राजा वीरेन्द्र हरिद्वारमा भएको विश्व हिन्दू परिषदको बैठकबाट हिन्दु सम्राट घोषित भए, त्यसपछि घिमिरेको लेखनमा परिवर्तन आएको देखिन्छ। उनी अहिले जे पनि १२ बुँदेमा देख्छन्। मान्छे त अगाडि बढ्छ नि। १२ बुँदे भएको यत्तिका वर्ष भइसक्यो। बिट रिपोर्टिङ कुमालकोटिजस्तो हुने रहेछ। तपाईंभित्रको पत्रकारिता सबै खाइदिन्छ। राजनीतिक दल, मन्त्रालय, कर्पोरेट हाउसले खाइदिन्छन्। उनीहरूले पत्रकारलाई नै सूचना लुकाउने माध्यम बनाइदिन्छन्। यसले देश र जनतालाई हानि गर्छ।
पत्रकारबीच मत मतान्तर हुन सक्छ। त्यसलाई खुलेर बहस गर्न आवश्यक छ। पत्रकारलाई सूचना चाहिन्छ भने पाठकलाई त्यसको विश्लेषण चाहिन्छ। पत्रकारले आफ्नो सूचनाको विश्वसनीयता उसैले स्थापित गर्नुपर्ने हुन्छ।
राजनीतिक बिट वा आर्थिक बिटमा बसेर समाचार लेख्ने काम निकै जटिल र संवेदनशील छ। यसको मर्मलाई सही रूपमा पत्रकारले अगाडि ल्याउन सक्नुपर्छ। आर्थिक बिटमा कलम चलाउने पत्रकारले भाषालाई सरल बनाउन आवश्यक देखिन्छ। अनेक टेक्निकल भाषा तथा जार्गनहरू प्रयोग भएका हुन्छन्। त्यसलाई पत्रकारले पनि जस्ताको तस्तै आफ्नो रिपोर्टिङमा प्रस्तुत गर्ने चलन नेपालमा बढी छ। भाषाको अस्पष्टताले पाठक आर्थिक समाचार पढ्न खासै रुचाउँदैनन्। हामीले विदेशबाट शब्द ट्रासलेसन गरेर ल्याएका छौं। विद्यालय तथा विश्वविद्यालयमा पनि त्यही पढाइ हुन्छ। त्यसलाई सरलीकृत गर्ने र सबैलाई बुझ्ने भाषा निर्माण अहिलेसम्म पनि हुन सकेको छैन।
आजभोलि जस्तो पायो त्यस्तै स्पोन्सर्स लिने र कार्यक्रम चलाउने प्रचलन बढ्दै गएको छ। म त भन्छु, जथाभावी स्पोन्सर्स नलिनुस्। किनकि, उनीहरूको कर्पोरेट इन्ट्रेस्ट जोडिन्छ र सुसूचित गर्न चाहेका कुरा गर्न सकिँदैन।
आजभोलि लेनदेन चल्ने गरेको सुनिन्छ। अब निर्वाचन आउन लाग्यो। कुन नेता र पार्टीको कति कभरेज गर्ने। ठूलो पेजमा छाप्ने कि सानो पेजमा छाप्ने भन्ने कुरा भइहाल्छन्। कहिलेकाहीँ सम्बन्धको पनि लेनदेन हुन सक्छ। त्यसैले यो लेनदेनले पनि ठूलो द्विविधा उत्पन्न गराउन सक्छ। त्यसैले पब्लिक सम्बन्ध र आफ्नो पेसागत मर्यादालाई ख्याल गर्न आवश्यक देखिन्छ। लेखेर मात्रै हुँदैन, कार्यान्वयन गर्ने व्यवहार र तत्परता पनि चाहियो। लेख्नलाई त यत्रो संविधान र कानुनै लेखिए तर कार्यान्वयन हुन सकिरहेको छैन।
लोकतन्त्रको ‘इको–सिस्टम’ छ। पत्रकार त्यसको हिस्सा हो। नागरिकलाई राज्यको संरचनासँग जोड्ने, त्यहाँ हुने गतिविधि सर्वसाधारणसँग आउने, छलफलको परिधिलाई व्यापक बनाउने, जवाफदेहिताको विकास गर्नेलगायत लोकतन्त्रको इकोसिस्टमलाई बलियो बनाउन पत्रकारिता मजबुत हुनुपर्छ।
तर विगत १०/१५ वर्षको अवधिमा हाम्रो लोकतन्त्रमा स्थायित्व कायम हुन सकेको छैन। विभिन्न दिशातर्फ यसले हलचल गरिरहेको छ।
हाम्रो राजनीति राजनीतिज्ञका कारण निकै महँगो हुँदै गएको छ। यसैगरी नेपालको अर्थतन्त्र पनि अर्थशास्त्रीकै कारण महँगो हुँदै गएको छ। अर्कोतर्फ मोदीले हार्डवर्ड चाहिँदैन, हार्डवर्क भनिदिए। त्यसैले भारतको हालत खराब भइरहेको छ। सामाजिक सञ्जालदेखि पत्रपत्रिकासम्मले एकै जना मान्छेलाई बोलाइरहेको छ। हाम्रै भाइ हुन्, डा. स्वर्णिम वाग्ले। इकोसिस्टम नभएको मुलुकमा उनी आएर परिवर्तन गर्न सक्लान् त भन्ने लाग्छ। जुन कुरा राजनीतिक तथा राज्यको संस्थागतबाट आएका विकृति छन्, त्यसको रिफ्लेक्सन पत्रकारितामा देखिएको छ। त्यसबाट पत्रकारिता अलग छ भन्न सक्ने अवस्था छैन।
यी सबै कुरा मैले अनुभवको आधारमा भनिरहेको हुँ। २४ वर्षको उमेरमा मैले ७० वर्षका गिरिजाप्रसाद कोइरालासँग काम गर्ने अवसर पाएँ। एक पटक कान्तिपुरले एउटा सानो बक्समा नेपालमा बंगलादेशकी हालकी प्रधानमन्त्री शेख हसिना नेपाल आएको समाचार लेखेको रहेछ। मैले त्यो कुरा समाचारमा देखेपछि गिरिजाबाबुलाई उक्त कुरा सुनाएँ। उनी एउटा कुनै एनजीओ कार्यक्रममा होटल हिमालयमा आएर बसेको कुरा सुनाएँ। गिरिजाबाबुले तुरुन्त उनलाई भेटका लागि बोलाउन आग्रह गर्नुभयो। म पनि आलोकाँचो भएको, कूटनीतिक मर्यादा केही थाहा नपाएकाले प्रत्यक्ष रूपमा उनलाई भेट्न हिमालय होटल गएर गिरिजाबाबुले भेट्न बोलाएको कुरा सुनाएँ। त्यसपछि उनी सिंहदरबार ट्याक्सी चढेर आइछन्। त्यो बेला ट्याक्सीलाई सिंहदरबार प्रवेश निषेध थियो। गेटबाट फोन आयो। बंगलादेशको नेता भन्नुहुन्छ, एक जना महिला प्रधानमन्त्रीलाई भेट्न चाहनुहुन्छ भनेपछि म झसंग भएँ। गिरिजाबाबुलाई गएर हतारपतार शेख हसिना ट्याक्सीमा पो आइछन् भनेर सुनाएँ। त्यसपछि गिरिजाबाबुले लौ बर्बाद भयो भनेर आपत्ति जनाउनुभयो। तुरुन्त गएर लिएर आऊ भनेर मलाई पठाउनुभयो। गिरिजाबाबुसँग भेटघाटपछि परराष्ट्र मन्त्रालयलाई भनेर एउटा गाडी र अतिरिक्त खर्च शीर्षकअन्तर्गत होटलको व्यवस्था मिलाउन भन्नुभयो। त्यहीअनुसारको व्यवस्था पनि भयो।
एउटा सानो समाचारको प्रभाव कतिसम्म पर्थ्यो भन्ने यही कुराबाट पनि प्रमाणित हुन्छ। गिरिजाबाबु अखबार र समाचारप्रति निकै चासो राख्नुहुन्थ्यो। उहाँ बिहानै ४ बजे उठेर समाचार सुन्ने र पढ्ने काम गर्नुहुन्थ्यो। विशेषगरी कान्तिपुरको सम्पादकीयमा रुचि राख्नुहुन्थ्यो। कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह पनि समाचार पढ्न रुचि राख्ने र पत्रकारलाई समेत चिन्नुहुन्थ्यो। अब त्यो जमना रहेन। सञ्चार माध्यम धेरै भए। पत्रकार पनि धेरै छन्। तर यसको प्रभावकारिता हराउँदै गएको छ। व्यावसायिकतामाथि प्रश्न उठ्न थालेका छन्। लोकतन्त्र बलियो बनाउन पत्रकारिता पनि बलियो हुन आवश्यक छ। लुते र लुले पत्रकारिताले लोकतन्त्रको रक्षा गर्न सक्दैन।
(आर्थिक पत्रकार समाज (सेजन) मा शर्माबाट व्यक्त भनाइको सम्पादित अंश)