काठमाडौं- नवलपरासी सुस्तापूर्वका हृदेश कुर्मी खेती किसानी गर्थे। एक दिन साथीले भने, ‘तँ यत्तिको बलियो छस्, जाँगरिलो छस्। विदेश जा बरु। राम्रो कमाउँछस्।’
राम्रो कमाइ हुने भनेपछि उनी विदेश जान लालायित भए, तर कुर्मीसँग पैसा थिएन। साथीले गाउँका बानियाँ साहुले ऋण दिने उपाय पनि सुझाए। एक बिघा ११ कठ्ठा जग्गा दृष्टिबन्धक राखेर उनले जगदीश बानियाँसँग एक लाख (जसमा पनि १० हजार दस्तुर भनेर साहु आफैंले राखे) ऋण लिए। सुदूर सपना पूरा गर्न कतार उडे। जग्गाको मूल्यांकनका लागि भनेर साहुले नै २ लाखको कागज बनाए। तर ऋण एकै लाख तिर्नुपर्ने मौखिक सम्झौता भयो।